आजबाट मौसम सुधार हुने

पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त न्यून चापीय प्रणाली बुधवार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताए। 'आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन', उनले भने। बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । 


Advertisement

शुक्रवार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिवारबाट फेरि अर्काे नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । 


Advertisement

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ ।

कमेन्ट गर्नुहोस्