नेपालमा रेल सञ्चालनका लागि २ सय २६ कर्मचारी थपिने

नेपालमा चल्ने गरी भारतमा तयार हुँदै गरेको रेल

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । 

रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए ।


Advertisement

सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ ।

एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक छ । त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ । 


Advertisement

उनले भने, 'कम्पनीमा अहिले महानिर्देशक नभएकाले हामीले नै पदपूर्तिको प्रक्रिया अघि बढाएका छौं,' रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको विभागले जनाएको छ । 

भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो ।

सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए । दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने महानिर्देशक मिश्रले बताए । 

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरू भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको विभागले जनाएको छ । हाल जयनगरबाट कुर्थासम्मको रेलमार्ग निर्माण सकिएकामा आगामी दिनमा यसलाई विजुलपुरासम्म विस्तार गरिनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्