अहिलेको स्थितिमा प्रधानमन्त्रीले चाल्नुपर्ने कदम

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रधानमन्त्रीज्यू, सादर नमन !
एउटा जिम्मेवार नागरिकको नाताले सानो सुझाव दिँदैछु, स्वीकार गर्नुहोला । देशहित, राष्ट्रहित, पार्टीहित र अन्ततः तपाईंकै समेत हित देखेर सुझाव दिने जमर्को गरेको हुँ । आशा छ, अन्यथा रूपमा लिनुहुने छैन । 

तपाईं जबरजस्त राष्ट्रिय अडान भएका मानिस, राष्ट्रका लागि केही गर्छु भन्ने मानिस, गर्नुपर्छ भन्ने मानिस । नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि झुकेन तपाईंको अडान । उल्टै मुलुकले इतिहासमै पहिलोपटक भारत परिवेष्ठित अवस्थाबाट वास्तविक भूपरिवेष्ठित हुने अवसर प्राप्त गर्‍यो । त्यतिबेला सगरमाथाजत्तिकै चुलिएको थियो तपाईंको उचाइ । पार्टी एकीकरणपछि शिखर नै छोएको थियो, उचाइले । दुई तिहाइको कम्युनिष्ट सरकार गठन गरी विश्व इतिहास रच्ने पनि तपाईं नै हो । मुलुकमा विकास समृद्धिको नारा दिने पनि तपाईं नै हो । 


Advertisement

सानातिना हावाहुरी र बबण्डरले छुँदैन थियो तपाईंलाई, तपाईंको सोचलाई, विचारलाई र अडानलाई । तपाईंमा वाकचातुर्य मात्र होइन बौद्धिक चातुर्य पनि उत्तिकै रहेको सबैले अनुभव गरेकै हुन् । तपाईंको कार्यकालमा परराष्ट्र सम्बन्ध अब्बल रहेको विपक्षीहरूले पनि स्वीकारेका छन् । यदाकदा ठूलै नेताहरूका समेत बोली चिप्लने गर्छन्, गरेका छन् परराष्ट्र सम्बन्धमा, तर तपाईंको कूटनीतिक चातुर्यले त्यसलाई समेत सुधार्दै आउनुभएको नजिर छ, विगतमा । तथापि पछिल्लो अवस्थामा भने तपाईं आफै लर्बराउन थाल्नुभएको छ । 

तपाईंको बोली लर्बराउन थालेको छ, विचार स्खलित हुन थालेको छ, व्यवहारमा विचलन आउन थालेको छ । यो राम्रो संकेत होइन मुलुकका लागि, जनताका लागि, पार्टीका लागि र स्वयं तपाईंकै लागि पनि । हो, तपाईंको इच्छाशक्ति जब्बर छ । त्यसैले उमेरगत कमजोरीलाई छिपाउँदै ल्याएको सत्य हो, तर यथार्थ यही हो शारीरक रूपले निकै कमजोर भइसक्नुभएको छ । १२ वर्षअघि नै मिर्गौला प्रत्यारोपण गराउनु परेको मानिस । हाल डाइलासिसका भरमा चल्दैछन् ती अंगहरू । पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । त्यसैमाथि पछिल्लो अवस्थामा मानसिकरूपले समेत शिथिल देखिन थाल्नुभएको छ । 


Advertisement

जति नै इच्छाशक्ति भएपनि आखिर हो तपाईं पनि मानिस नै । तपाईंले जति गर्नुभयो, गर्नुभयो । मानवीय औसतभन्दा धेरै नै गर्नुभयो । एउटा मानिसले यहाँभन्दा कति गर्ने ? एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेर मुलुकी राजनीतिलाई यति माथि शिखरमा पुर्‍याउनु भयो । सबैभन्दा बढी उग्रवामपन्थी भड्कावलाई राजनीतिको मूलधारमा ल्याएर हिंसाको राजनीति अन्त्य गर्नुभयो । लाग्छ, अब तपाईंले अवकाश लिएर अभिभावकीय भूमिकामा रहने बेला भयो । यसै पनि तपाईंको उमेर वानप्रस्थी जीवनको उत्तराद्र्धतिर पुगेको छ । यो उमेर भनेको सक्रिय कर्मबाट विश्राम लिएर अभिभावकीय भूमिकामा रहने अवस्था हो । 

हुन त तपाईंका सल्लाहकारहरूबाट पनि आएको हुनुपर्छ यस्ता सुझाव । तिनका अघि यस्ता नमागिएको सुझावको के अर्थ भन्ने कुरा पनि आउला । तथापि नमागेकै भए पनि यसलाई समेत थप्न चाहेको हुँ । निसन्देह यो नमागिएको सुझाव नै हो, तर सुझाव भन्ने कुरा मागेर मात्र दिन मिल्छ भन्ने छैन । यदाकदा नमागिएको सुझावले पनि ठूलै काम गर्न सक्छ । नमागेको सुझाव भए पनि सर्वहितको पक्षमा छ भने लिँदा के फरक पर्छ र ! 

तपाईं मृग होइन बाघ हो । बाघ पनि जिउँदो बाघ । तपाईं जस्ता जिउँदो बाघलाई त्यस्तो अवस्था आउन दिनु पटक्कै सुहाउँदैन । जिउँदो बाघले शिकार छाडेको इतिहास कतै छैन । तपाईंलाई त्यसको समेत विश्व इतिहास रच्ने अवसर प्राप्त छ । त्यसैले पनि तपाईंका लागि अवकाश लिने हरतरहले उपयुक्त समय यही हो ।

तपाईंले जति गर्नुपर्ने गरिसक्नुभयो । जहाँ पुग्नुपर्ने त्यहाँ पुगी पनि सक्नुभयो । शिखरमा पुगेपछिको गन्तव्य भनेको छाड्नु नै हो । नचाहँदा नचाहँदै पनि छाड्नुपर्छ सबैले । छाड्न नचाहनेलाई छोडाउन लगाउँछन् अन्य कसैले । समय घर्केपछि छाड्नुभन्दा पहिले नै स्वेच्छाले छाड्दा नै राम्रो हुन्छ जस्तो लाग्छ । 

स्वेच्छाले बाहेक छाड्नुपर्ने कारण अन्य जे भएपनि अरूले गर्ने भनेको कुरा काट्ने नै हो । कुरा काट्ने मानिस संसारमा कहाँ कमी छन् र, अनेक लान्छना लगाउन सक्छन् । नानाभाँतीका अफवाह फैलाउन सक्छन् । पदलोलुपको संज्ञा दिन सक्छन् । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने त उखानै छ । तपाईं मृग होइन बाघ हो । बाघ पनि जिउँदो बाघ । तपाईं जस्ता जिउँदो बाघलाई त्यस्तो अवस्था आउन दिनु पटक्कै सुहाउँदैन । जिउँदो बाघले शिकार छाडेको इतिहास कतै छैन । तपाईंलाई त्यसको समेत विश्व इतिहास रच्ने अवसर प्राप्त छ । त्यसैले पनि तपाईंका लागि अवकाश लिने हरतरहले उपयुक्त समय यही हो । यस्तो अवसर जो पायो त्यसले पाउँदैन । प्राप्त अवसर गुमाउनु हुने छैन भने आशा गरेको छु ।  

प्रधानमन्त्रीज्यू, शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहन बढी कठिन हुन्छ । फेरि चाहेको चीज प्राप्त नहुँदाको पीडा जति हुन्छ, त्यो भन्दा कति हो कति बढी हुन्छ प्राप्त चिजलाई जबरजस्ती छाड्नुपर्दाको पीडा । पार्टी निर्णय नमान्दा विगतमा केकस्ता दुर्घटना भए, त्यसको केकस्तो मूल्य चुकाउनुपर्‍यो देश र जनताले भन्ने कुरा तपाईं थाहा छैन भन्न मिल्दैन । पक्कै थाहा छ । थाहा हुँदाहुँदै यस्तो कुरा गर्दै हुनुहुन्छ भने भन्नैपर्छ निसन्देह त्यो मानसिक कमजोरीको लक्षण हो । 

जमिनको टिप्न खोज्नु नराम्रो होइन तर जमिनको टिप्न खोज्दा पोल्टाको पोखिनु पनि राम्रो होइन । त्यसैले फेरि पनि भन्न चाहन्छु, अवकाशको हरतरहले उपयुक्त समय यही हो तपाईंको । समय आउँछ पर्खंदैन भन्छन् । कति गर्नुहुन्छ यहाँभन्दा बढी गर्ने लोभ । लोभको भाँडो कहिल्यै भरिन्न । भरिएपनि नतिजा हात लागि हुँदैन । जति गर्नुभयो, गर्नुभयो । अब सिंगजुरो केही आउँदैन । त्यसैले अवकाश लिएर वानप्रस्थी जीवनमा रहनु सर्वाधिक उत्तम हुन्छ, पार्टीका लागि, देशका लागि र अन्ततः तपाईं स्वयंकै लागि पनि । 

प्रधानमन्त्रीज्यू, एउटा हितैषीको नाताले दिएको सानो सुझाव हो, अन्यथा नमान्नुहोला । हित पनि गर्ने र सुन्दा राम्रो पनि लाग्ने कुरा दर्लभ हुन्छ भन्ने कुरा पक्कै थाहा पाउनुभएको छ भन्ने आशा गर्दै कलमलाई यहीँ विश्राम दिन चाहन्छु ।

उही शुभाकांक्षी,
कमल रिजाल ।
 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्