२६ जेठ २०८३, मंगलबार

वैशाखभित्र पूरा हुँदै भैरहवा–लुम्बिनी–तौलिहवा सडक

फागुन २५, २०७६
वैशाखभित्र पूरा हुँदै भैरहवा–लुम्बिनी–तौलिहवा सडक

राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने भएको छ।

०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए। ३२ महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो। उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ। 

गत पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भए पनि आगामी वैशाख १८ गतेसम्म म्याद थप गरिएको थियो। भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनीयर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ। उनले भने, ‘काम सन्तोषजनक नै छ तर गत वर्ष समयमै कच्चापदार्थ नपाउँदाको असर अहिलेसम्म परेको हो जसका कारण ढिलाइ भएको हो। अहिलेको गतिमै काम भएमा पनि वैशाखभित्रै काम सम्पन्न हुन्छ।’

निर्माण व्यवसायीका प्रतिनिधि चौधरीका अनुसार अहिलेसम्म तौलिहवा लुम्बिनी सडकतर्फ आठ किलोमिटरको बेस तयार भइसकेको, चार लेन सडकमा सर्भिस बेस तयार भइसकेको छ। भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म २लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो। एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै पूरा नहँुदा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती खेप्नु परेको छ। चौधरीका अनुसार पेचिङ्गका लागि कम्तीमा २० डिग्री तापक्रम हुनुपर्नेमा तापक्रम नमिल्दा पेचिङ्गमा ढिलाइ भएको हो। 

 कल्भर्ट, विद्युतीय जडान तथा खानेपानी पाइप व्यवस्थापनका कारण काममा केही ढिलाइ भए पनि दैनिकरूपमा १ सय ८२ जना जनशक्तिले काम गरिरहेको चौधरीले बताए। उक्त सडकखण्डमा रहेका २ हजार ६८ रूख सबै हटाइसकिएको छ। आयोजनाका अनुसार ६ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ। सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रूखको ठाउँमा पाँच हजार एक सय रूख रोप्ने जनाइएको छ। 

सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ। सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नाका साथै यस क्षेत्रको कृषि, पर्यटन तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। थपिएको समयमै काम सम्पन्न भएमा अहिले भैरहवा विमानस्थलबाट लुम्बिनी करिब आधा घण्टाको यात्रा गरी सवारीसाधनमा पुग्न समय लाग्ने गरेकामा १५ मिनेटमा पुग्ने देखिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्