निजामती सेवालाई हिजोभन्दा उम्दा कसरी बनाउने ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

प्रशासनविद् एवं पूर्व अमेरिकी राष्ट्रपति विड्रो विल्सनले भनेका थिए, ‘त्यस्तो व्यक्ति मात्र निजामती कर्मचारी बन्न सक्दछ, जो सार्वजनिक जिम्मेवारी बहन गर्न सापेक्षिक रुपमा उम्दा छ ।’

जो कुनै व्यक्ति जुन कुनै जिम्मेवारी बहन गर्न योग्य हुँदैन । रुचि, योग्यता, अनुभव र त्यसभन्दा पनि महत्त्वपूर्ण कामप्रतिको आन्तरिक लगावका कारण नै पेशागत विशिष्ठता प्राप्त हुने हो ।


Advertisement

निजामती सेवा यसबाट अपवाद रहँदैन । राज्यइच्छा निर्माणमा समेत महत्त्वपूर्ण स्थान राख्ने राज्यको संस्थागत संरचना, राज्य र सर्वसाधारणको सम्बन्ध सूत्र, राज्यका नीति एवं मूल्यको क्रियात्मक संयन्त्र भएकाले राज्यको प्रभावकारिता निजामती सेवाको व्यावसायिक क्षमतामा भर पर्दछ । आत्मअनुशासन र सदाचारमा भर पर्दछ । कामप्रतिको स्वयं प्रेरणा र क्रियाशीलतमा भर पर्दछ । त्यसैले भन्ने गरिन्छ कुनै पनि मुलुकको शासन व्यवस्था प्रशासनले अनुमति दिएभन्दा राम्रो हुन सक्दैन, कुनै पनि मुलकको प्रगति त्यहाँको प्रशासनले अनुमति दिएभन्दा बढी हुन सक्दैन । 

योग्यतमा उत्कष्ट ठहरिएका, अनुभवले खारिएका र प्रणालीले पत्याएका व्यक्तिहरू नै राष्ट्र सेवाका लागि निजामती सेवामा रहन्छन् । निजामती कर्मचारीमा राष्ट्रिय जिम्मेवारी ऐतिहासिक घटनाक्रमको परिणाम हो । सार्वजनिक प्रशासनलाई छुट्टै विषयविधा र वृत्ति अनुशासनका रुपमा लिन थालिएको २ शताब्दी पनि भएको छैन ।


Advertisement

यसबीच राज्य प्रणालीबाट माग भएको भूमिका र निजामती सेवाको आफ्नै आर्जित क्षमताका कारण राष्ट्र निर्माण गर्ने राजनीतिक कार्यकारीको निर्देशक सिद्धान्त कार्यान्वयन गर्ने विवेकशील संयन्त्रका रुपमा यसको महत्त्व बढ्दो छ । राज्यइच्छा संस्थागत गर्ने, जनअपेक्षा कार्यान्वयन गर्ने र प्रणाली परिस्कारका लागि नवप्रवर्तन गर्ने जिम्मेवारीका कारण नै निजामती प्रशासन व्यवस्थित समाजको निर्विकल्प साधन बन्यो । यसमा उसले उच्चताबोध गर्नु हुँदैन, न नामरहित प्रणाली बन्नुपरेकोमा आत्मश्लाघा नै राख्नुहुन्छ । के पनि भुल्नुहुन्न भने कामबाहेक निजामती कर्मचारीको न नाम छ, न पहिचान । कसैको माया वा आलोचना कामप्रतिको प्रक्रिया हो । त्यसैले उ कर्मचारी, कर्म उसको आचरण हो ।

नेपालमा निजामती सेवाको इतिहास झनै छोटो छ । थर घर, तालुकी, पजनी, हुकुम प्रमाङ्गी हुँदै योग्यता प्रणालीको चरणमा प्रवेश गरेपछि निजामती सेवाको स्वरुप विकास भएको मान्दा जम्माजम्मी ६ दशकको इतिहास छ । जनरल चन्दबहादुर थापा, कुलशेखर शर्मा, दामोदर गौतम जस्ता निडर, निष्ठावान र कुशल नेतृत्वले निजामती सेवा विकास यहाँसम्म आइपुगेको हो । कृष्णप्रसाद घिमिरे, थीरबहादुर रायमाझी, भुवनेश्वर खत्री, देवेन्द्रराज पाण्डे, द्वारिकानाथ ढुंगेलजस्ता अग्रजले प्रशासकीय परिपाटीमा थुप्रै उदाहरणीय इँटा थपेर निजामती सेवा यस रुपमा आइपुगेको छ । यदुनाथ खनाल, नरकान्त अधिकारी, गोरक्षबहादुर न्हुछे प्रधान, भुवनमान सिंह लगायतका कर्मवीरले काम नै प्रेरणा हो भन्ने सिद्ध गरेको इतिहास नेपालको निजामती सेवाको प्रेरणास्रोत हो । उहाँहरू जस्ता निजामती सेवकको निष्ठा, कर्म र सदाचारले निजामती सेवाको गरिमा स्थापित र महत्त्वबोध हुनसकेको हो, सेवाले संस्थागत स्वरुप लिएको हो ।
यसबीच निजामती सेवाले थुप्रै आरोह–अवरोह पार गरेको छ, घुम्टी र जंघारहरू तरेको छ । परिणामतः युग र परिवेशले मागेको जिम्मेवारी लिने सामथ्र्य र साहस भित्र्याउँदै आएको छ । राज्य व्यवस्थाको परिवर्तन, सामाजिक मूल्यवृत्तिको चाहना, शासन–प्रशासनमा आएका अवधारणा विश्व परिवेश एवं नागरिक भावनाको विस्तृतीकरणसँग अनुकूलित हुँदै निजामती सेवाले जीवन्त गतिशीलता आफूभित्र भित्र्याएको छ । 

प्रोफेसर जेराल्ड काइडेनले भनेझैं अहिले इतिहासमा कहिल्यै महसूस नगरिएको उच्च गुणस्तर, नेतृत्व क्षमता र सदाचार सहितको प्रभावकारी सरकारको माग भइरहेको छ । आन्तरिक माग मात्र होइन, बाह्य प्रणालीको दबाब पनि छ । सेवाभित्रको सनातनी सोच, शैली, संस्कार र सामथ्र्य यी माग तथा दबाब पूरा गर्न निकै अपर्याप्त छन् । हिजो निजामती प्रशासन इमान्दार मात्र भए पुग्थ्यो, अब इमान्दारिता र उपलब्धि एकसाथ चाहिएको छ । महसूस गर्न सक्ने उपलब्धिका लागि सेवाग्राही अधीर छन् । हिजो ‘प्रशासन’ मात्र भए पुग्थ्यो, अब संयोजन, उत्पादन, सहउत्पादन, सामाजिक न्यायमा उसको क्रियाशीलता आवश्यक भएको छ । हिजो राजनीतिक प्रणालीको विश्वास जिते पुग्थ्यो, अब सामाजिक संकेत तत्काल टिप्नसक्ने बहुसीपयुक्त निजामती सेवा चाहिएको छ । ‘अथोरिटी पावर’लाई ‘एक्सपर्ट पावर’ले विस्थापन गर्नुपरेको छ । विश्वासले जित्नु छ, सेवा र समर्पणले जित्नु छ । 

राजनीतिक प्रणालीले संकेत गरेभन्दा एक कदमअघि बढेर कामप्रति आक्रामक बन्ने तत्परता भित्र्याउनु छ । राष्ट्रपति केनेडी वैज्ञानिकहरूलाई भन्थे रे, ‘के गर्नुपर्छ म जान्दिनँ, ‘मुन रेस’ अमेरिकाले जित्नुपर्छ, चन्द्रमामा पहिलो मानव पाइला अमेरिकीले टेकेको हुनुपर्छ ।’ हाम्रो मुन रेस हाम्रै समृद्धिको यात्रा हो र यो युगीन अपेक्षा पूरा गर्न सामथ्र्य, साहस र प्रत्युत्पन्नमति चाहिएको छ । राज्य प्रणालीको आत्मा भनेकै निजामती प्रशासनको सामथ्र्य, साहस र निरन्तरको समपर्ण हो । 

नेपालको निजामती सेवाका एक आदर्श पात्र पूर्व मुख्यसचिव दामोदर गौतमले प्रशासनिक नवप्रवर्तनका सम्बन्धमा सचिव गोष्ठीमा भने थिए, ‘प्रशासनिक सास्तीबाट सेवाग्राहीलाई उन्मुक्ति दिनु प्रशासनिक परिवत्र्तन (नवप्रवर्तन) हो ।’ नागरिक सेवा वितरणमा रहेका झन्झट र ढिलासुस्तीबाट प्रशासनका सेवाग्राही, पनि सन्तुष्ट छैनन्, निर्देशक मगजका रुपमा रहेको राजनीतिक कार्यकारी पनि सन्तुष्ट छैन । भनिँदैछ ‘प्रशासन माखेसाङ्गलो’मा जकडिएको छ । अनीस चोपराको सुझाव अनुसार बाराक ओबामाले गर्न खोजेको राज्यको पुनःआविस्कार हाम्रा सन्दर्भमा मिल्दैनन् । हाम्रा सेवाग्राहीका समस्या र आकांक्षाको आयतन पनि सानो छ । सेवा प्रदाताले आफूलाई सेवाग्राहीसामू प्रस्तुत गर्दा परिवर्तनका अग्रणीका रुपमा प्रस्तुत गरे पुग्छ । सेवा वितरणका अग्रपंक्तिमा रहने व्यक्तिले असल सोच, असल बुझाइ र असल कार्य गरे पुग्छ ।

हाम्रा सन्दर्भमा प्रशासनिक नवप्रवर्तन सेवकीय भावनाको जाहेरी हो, सेवाग्राहीलाई ईश्वर ठाने पुग्छ । मन, वचन र कर्मले सेवा गरे पुग्छ, जुन उसको दायित्व हो । यस्तै स–साना परिवर्तनले निजामती सेवाको गरिमा र विश्वासको पुनःस्थापना अहिलेको माग हो । यसैबाट निजामती सेवाको महत्त्व र अर्थबत्ता सिद्ध हुन्छ । जीवन्त प्रणाली हुनुको अर्थ यसो गर्नु निजामती कर्मचारीको व्यावसायिक कर्म र नैतिक धर्म दुवै हो । 

नेपाल अहिले युगान्तकारी परिवर्तनको मोडमा छ । शान्ति स्थापना र संविधान निर्माणपछि समृद्धिको अभियानमा मुलुक अघि बढेको छ । समृद्धिको यात्रा निश्चित नभए कुनै पनि युवाले आफ्नो भविष्यको सुनिश्चितता आफ्नो गाउँठाउँमा देख्दैन । विगतका दशकमा पटक–पटक गुमेको अवसरका कारण समाजमा वितृष्णा, कुण्ठा र नकारात्मक भावना पनि विकास भएको छ । ८० पछि जन्मिएको मिलेनियल जेनेरेसन विकास र वृत्तिमा धैर्य गर्न सकिरहेको छैन । स्थानीय स्रोत, सम्भावना उपयोगिता सिर्जनामा उपयोग भएको नदेखेसम्म, शीघ्र नतिजा नदेखिएसम्म उसको धैर्यता रहने पनि देखिँदैन । निजामती प्रशासन समृद्धिको केन्द्रीय पात्र हो । यस पात्रले समृद्धिमा खरो उत्रिन केही आधारभूत पक्षमा नै सुधारको खाँचो देखिएको छ । कर्मचारीतन्त्र आत्मकेन्द्रीत बन्दैछ । सेवकीय भावनाबाट विषयान्तर हुने पथमा छ । सुविधामा रमाउने कामममा लजाउने प्रवृत्ति पनि छ । गर्नभन्दा गरेको जस्तो देखाउने (लुकिङ गुड इज मोर द्यान डुइङ गुड) स्वभाव पनि हुर्किंदै छ । सेवास्थलमा विनयशीलता देखिएको छैन । विचार, आग्रह र राजनीतिप्रति प्रतिवद्ध र कामप्रति तटस्थ देखिँदैछ । कर्मचारीभित्र अतिवृत्तिवादी प्रवृत्ति पनि देखिएको छ । काम नै प्रेरणा हो (वर्क इज वर्सिप) भन्ने भावना निकै साँघुरिएको छ । कर्मचारीको मनोबल गिराउने काम पनि भएको छ । आस्थाको विभाजनले समूह भावना जस्तो निजामती सेवाको प्रमुख मूल्यमा ह्रास आएको छ । सीमित अवसरमा अस्वस्थ प्रतिस्पर्धा पनि छ । कर्मचारीले आर्जन गरेको ज्ञान, सीप र क्षमता संस्थागत तहमा नभइ वैयक्तिक प्रयोजनमा उपयोग छ ।

प्रणालीभित्रका इमान्दार प्रतिभाहरू कि डिमोरलाइज छन् वा पलायन हुन खोज्दैछन् । कमयोग्य र अनुचरलाई जिम्मेवारी सुम्पिने प्रवृत्तिले अब्बल उपलब्धि देखिएको छैन । अहिले देखिएका समस्या र भएका आलोचना यिनै विषयका परिणाम हुन् । आउँदा दिनका लागि हिजोभन्दा उम्दा प्रणाली हस्तान्तरण गर्न नसके भावी पुस्ताले धिक्कार्ने मात्र होइन, निजामती सेवाको जीवन्ततामा पनि प्रश्न देखिने छ । 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्