गीताको ज्ञान कि बाइबलको परिधान ?

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

फागुन २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवीनतम् एकीकरणमा श्रीमद्‌भागवत गीता छोएर तीनै जना अध्यक्षले बाचा गरे, अब पार्टी फुटाउने काम गर्ने छैन भनेर । धर्म भाकेर कबुल गरेको हुनाले अबको राप्रपा एक ढिक्का भईरहने आश्वासन एकीकृत पार्टीका कार्यकर्ताले पाए होलान् । तर पार्टीको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले गीताको प्रसङ्गलाई फराकिलो परिवेशमा हेर्ने आग्रह गरेका छन्---यो प्रतिज्ञा ‘हिन्दूराष्ट्र’प्रतिको प्रतिबद्धता समेत हो । आगामी साता र महिनाहरूमा यस्तो दाबीको सार्थकताको परीक्षण हुने नै छ ।

तामा-तुलसी छुवाएर धर्म भाक्ने, भाक्न लगाउने हाम्रो समाजको प्रचलन नै हो,अचेल पनि कतै-कतै कायम छ । तामा-तुलसी छोएर ईश्वरलाई सम्झिंदै बोल्ने मानिसले झूटो कुरा गर्दैन भन्ने मान्यतामा हुर्के-बढेकाहरूले आ-आफ्नो प्रतिज्ञा वा शपथको हेक्का हरघडी गरेकै हुन्छन् । तर ईश्वरको नाममा शपथ लिन समेत हिच्किचाउने नेतागण शासनको बागडोर सम्हाल्ने ठाउँमा पुगेका यस बखत इमान-जमानका कुराले कति अर्थ राख्लान्, यसै भन्न सकिँदैन ।


Advertisement

तुलसीको प्रसङ्ग आउँदा एकैछिन पाठकहरूको ध्यान अमेरिकातिर केन्द्रित गराउँछु । अमेरिकी प्रतिनिधिसभामा तुलसी गब्बार्ड नाम भएकी (हवाई राज्यकी) महिलाले गीताको पुस्तक छोएर सदस्यताको शपथ लिएकी थिइन् । हिन्दू महिलाको पहिलो विजय जनाउने शैलीमा प्रस्तुत भइन् । बाइबल, कुरान र टोराह छोएर शपथ लिने व्यवस्थापिकाको प्रचलनमा गीता ग्रन्थ थपिएको थियो ।

आठ वर्षअघि त्यसरी चर्चित तुलसी यसपालि फेरि चर्चामा आइन् ---डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको लागि उम्मेदवार हुने रहरको साथ लिएर । जिम्मेवारी ठूलो वा सानो जे लिए तापनि विश्वभर छरिएर रहे-बसेका हिन्दूहरुको सद्‌भाव बटुल्न तुलसी नित्य क्रियाशील देखिन्छिन् ।         


Advertisement

वेदको महत्व

विश्व समुदायमा हिन्दूको झट्ट चिनारी गराउन गीताले मद्दत गर्छ तापनि वैदिक सनातन परम्परामा सर्वाधिक परिचित ग्रन्थ चाहिं यो होइन । परिचित ग्रन्थ त वेद हो जसको इतिहास पाँच हजार वर्षभन्दा बढीको छ । यस मान्यतालाई पाश्चात्यजगत्‌ले पनि स्वीकार गरेको छ । पूर्वीय दर्शनका अध्येता मानिने जर्मनीका विद्वान् म्याक्स मुलरले ऋग्वेदको महत्व दर्शाउँदै उहिल्यै संस्कृतमा भनेका हुन् :--

यावत् स्थास्यन्ति गिरय: सरितश्चमहीतले । तावदृग्वेद महिम्ना लोकेषु प्रचरिष्यति ।।

अर्थात् जबसम्म पृथ्वीमा पर्वत र नदी छन् तबसम्म ऋग्वेदको महिमा संसारमा प्रसारित भईरहने छ । (‘चार वेदको सार’बाट) 

धार्मिक ग्रन्थ हुन् भने फेरबदल गर्न सकिंदैन भन्नेमा सत्ताधारी दलका शीर्षस्थ नेतागण सहमत रहेछन् । यो राम्रो पाटो हो । तर यी नेतागणको विचारमा धर्मग्रन्थ भनेको बाइबल (र बाइबल मात्र) हो । स्पष्टै छ, तिनलाई वेद उपनिषद् गीता जस्ता ग्रन्थ सुझेन ।

वेद होस् वा गीता वा अन्य कुनै धर्मग्रन्थ, तिनमा लेखिएका कुरा अकाट्य मानिन्छन् । अर्को शब्दमा, ‘वेदवाक्य’ फेर्न मिल्दैन, गीताका हरफ संशोधनको प्रस्ताव हास्यास्पद हुन जान्छ । त्यसैगरी, इसाईहरूले ख्रीष्टीय धर्मग्रन्थ बाइबलमा हेरफेर गर्ने कुराको कल्पना गर्न सक्दैनन् । मुसलमानको पवित्र ग्रन्थ कुरआन पनि यस्तै कोटिको पुस्तक हो । जग-जाहेर तथ्य छ, धर्मग्रन्थमा परिसकेका सिद्धान्त र मान्यताको व्याख्या, विश्लेषण हुन सक्छ तर तिनमा परेका बेहोरा र शब्द परिवर्तन गर्न पाइँदैन, मिल्दैन ।

बाइबलको आकर्षण

केही साता पहिलेको कुरो हो, अमेरिकी सहायता एम्‌सीसीको ‘कम्प्याक्ट’ बारे टीकाराम यात्रीको टेलिभिजन कार्यक्रममा ‘बहु-आयामिक छलफल’ चल्दैथियो । दुईजना सहभागीमध्ये एकजना वरिष्ठ अधिवक्ता युवराज संग्रौलाबाट एम्‌सीसीका विवादास्पद बुँदाहरूको चर्चा भईरहेको थियो भने एम्‌सीसी तर्फबाट बोल्ने कार्यकारी निर्देशक खड्गबहादुर बिष्टको ध्यान चर्चित विषयमा जनस्तरमा उठेका सन्देह, तर्कहरूलाई सम्बोधन गर्ने काममा केन्द्रित भएको देख्न सकिन्थ्यो, सुन्न सकिन्थ्यो । संसदीय अनुमोदनको संघारमा पुगेर रोकिएको यस सहायता सम्झौताका केही प्रावधान परिवर्तन गरिए मात्र अनुमोदन हुन सक्दो हो भन्ने संग्रौलाको कथन थियो । यता बिष्टको भनाइ के थियो भने नेपाल र अमेरिका दुबै पक्षबाट हस्ताक्षर भै ‘सम्झौता’ को रूप धारण गरिसकेको लिखतलाई कार्यान्वयनको चरणमा आएर हेरफेर, संशोधन गर्न मिल्दैन । सम्झौतालाई ‘म बाइबलको रूपमा लिन्छु’ भन्ने निजको अडान रहिरह्यो ।

हो, नेपाली दर्शकलाई सम्झाउँदा बिष्टले ‘यो मेरो लागि वेदवाक्य हो’ भनेको भए बुझ्न सजिलो पर्थ्यो । निजसँग ‘यो सम्झौता त मेरो निम्ति त गीता सरह हो’ भन्ने विकल्प पनि थियो । तर हिन्दू बहुसंख्यक भएको देशमा उदाहरण बाइबल जोडेरै आयो । अर्थात् नसुहाउने काम भयो । झुक्किएको हो भने भिन्दै कुरो । तर झुक्किने कसरी ? किनभने अमेरिकी सहायता पाउने देश नेपाल, बहस भएको मञ्च नेपालकै एक टेलिभिजन र भाषा नेपाली । अनि मुख्य दर्शकहरू नेपालकै नेपालीहरू । (प्रसारण प्रवासमा पनि पुग्ने कुरो त छँदैछ)  

नेपालको शासन-व्यवस्था बाइबलबारे मात्र ज्ञान भएकाहरूको हातमा रहनु एउटा कारण हो । तसर्थ शक्तिकेन्द्रले आँखा चिम्लिदिएको सुवर्ण अवसरको उपयोग मिसनरीहरूबाट भैरहेको छ ।

तर बाइबल मोह खड्ग बिष्टमा सीमित रहेन । विषय एम्‌सीसीको सन्दर्भमा पार्टीद्वारा गठित अध्ययन कार्यदलका संयोजक झलनाथ खनाल हुँदै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसम्म पुग्यो । १० फागुनको सचिवालय बैठकमा भएका यसबारेका कतिपय कुरा भोलिपल्टका छापामा समेत आएका छन् । प्रारम्भमा प्रधानमन्त्री ओलीले सम्झौतालाई जसरी भए पनि छिटै संसदीय अनुमोदन दिलाइदिने वचन दिएको हो, परन्तु कार्यदलको प्रतिवेदन आएपछि सरकारी दृष्टिकोण फेरिएको सङ्केत आयो । त्यसै क्रममा, अमेरिकी सांसद् टोलीले प्रधानमन्त्रीलाई भेटेको र उहाँले एम्‌सीसी परियोजना परिमार्जन गरेर मात्र कार्यान्वयनमा लैजान सकिन्छ भनेको जानकारी प्रचण्डबाट सार्वजनिक भएको देखिन्छ । ‘...एम्‌सीसी भनेको केही पनि चेन्ज नै गर्न नहुने,जस्ताको तस्तै पास गर्नुपर्ने कुनै बाइबल त होइन...’ प्रचण्डले प्रमं ओलीलाई यहींनेर उद्धृत गरेको पाइन्छ । ‘उनीहरूले पनि त्यसलाई बाइबल हो त भन्ने कुरा आएन...’ आदि, इत्यादि ।

माथिका अभिव्यक्ति पढ्दा धार्मिक ग्रन्थ हुन् भने फेरबदल गर्न सकिंदैन भन्नेमा सत्ताधारी दलका शीर्षस्थ नेतागण सहमत रहेछन् । यो राम्रो पाटो हो । तर यी नेतागणको विचारमा धर्मग्रन्थ भनेको बाइबल (र बाइबल मात्र) हो । स्पष्टै छ, तिनलाई वेद उपनिषद् गीता जस्ता ग्रन्थ सुझेन । धर्मकर्म नमान्ने कम्युनिष्ट पार्टीका अगुवाहरूलाई सम्भवत: यसको आवश्यकता महसूस भएन । यति कुरा बुझ्न सकिन्छ । तर बाइबलको उल्लेख गर्न त तिनले निकै सतर्कता देखाए । तिनमा बाइबलबारे भने पर्याप्त जानकारी रहेछ । तिनलाई जानकारी वा ज्ञान नभएको त  खालि हिन्दू ,बौद्ध र इस्लाम धर्मग्रन्थबारेमा मात्र रहेछ, नेपालकै वाङ्‌मयप्रति मात्र उपेक्षाभाव राखेको देखियो । विडम्बना यसैमा छ ।

असामान्य अवस्था

बाइबलबारे एउटा प्रचलित भनाइ छ, पश्चिमी संसारतिरबाटै आएको । र, त्यो हो : बाइबल एक्लै आउँदैन, साथमा बन्दूकको माथिल्लो भागमा जडिएको हतियार ‘किरिच’ पनि  आउँछ । (With the Bible comes the bayonet) धर्मान्तरणका बग्रेल्ती कथा र घटनाका सचिव वर्णन पढेकाहरूले बुझेका छन्, हतियारहरूको दुरुपयोग भएको इतिहास छिचोलेका छन् । आर्थिक प्रलोभनमा पारेर धर्म-परिवर्तन गराउने अभियानहरूले संख्याको आधारमा आफ्ना सफलताका कथाहरू पश्चिमीजगत्‌का समाचार माध्यममा प्रक्षेपण गरिरहेका छन् । नेपाल मिसनरीहरूको लागि यतिखेर मलिलो थलो बनेको छ । ती पूर्व-पश्चिम सबैतिर पुगेका छन् र गरीवी र अशिक्षालाई धर्मान्तरणको प्रभावकारी औजार बनाएका छन् । भर्खरै एकजना सञ्चारकर्मी मित्रबाट शिवरात्रीताका पशुपतिक्षेत्रमा खिचेको एक भिडियो (२ मिनेट २० सेकेण्ड) प्राप्त भएको छ । हेर्दैछु : बिस्कुट र बाइबल वितरणमा व्यस्त एक अनेपाली नेपालीमा सगर्व घोषणा गरिरहेछन्---प्रभु येशुमा विश्वास गर्नुहोस् ।    

सामान्य स्थितिमा यो अनर्थ हो: स्थान पशुपतिक्षेत्र,अवसर महाशिवरात्री, प्रचार र प्रार्थना भने येशु ख्रीष्टको । र, धर्मान्तरण संविधानले वर्जित गरेको क्रियाकलाप हो । परन्तु अहिलेको अवस्था भनेको असामान्य नै हो---एकभन्दा बढी कारणले । नेपालको शासन-व्यवस्था बाइबलबारे मात्र ज्ञान भएकाहरूको हातमा रहनु एउटा कारण हो । तसर्थ शक्तिकेन्द्रले आँखा चिम्लिदिएको सुवर्ण अवसरको उपयोग मिसनरीहरूबाट भैरहेको छ । यसमा ‘होली वाइन’ को पनि धेरथोर योगदान होला ।

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्