रित्तै छन् फेवातालका 'बोट', मजदुरको चुलोसम्मै कोरोनाको चोट !

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

स्थान : फेवाताल किनार, बाराहीघाट  
मिति : २०७६ चैत २ गते, आइतवार
समय : दिउँसो १२ः४५

डुंगा चालक प्रेमबहादुर भुजेल (वर्ष ६०) यतिखेर फुर्सदिला छन् । सधैंझैं आइतवार पनि उनी सखारै उठे र फेवाताल किनारमा आए ।


Advertisement

बिहान ६ बजेदेखि दिउँसो पौने १ बजेसम्म यसरी कुर्दा पनि उनको ट्रिप (पालो) आएको छैन । 

पोखराको फेवातालमा प्याडल (डुंगा चलाउने दाबिलो) को मद्दतले डुंगा खियाउनु उनको दैनन्दिन क्रियाकलाप हो तर केही महिनायता बिहानदेखि साँझसम्म बस्दा समेत यसरी एक ट्रिप पाउन पनि मुस्किल छ ।


Advertisement

फेवातालमा डुंगा चलाउनेमध्ये सबैभन्दा पाका उमेरका सम्भवतः उनी नै हुन् । उमेरले झण्डै ६० वर्ष टेकिसक्दा पनि बिहानसाँझ रोजीरोटीका निम्ति डुंगा चलाउनुको विकल्प छैन । अचेल काम नपाउँदा उनको जीवनको गाडी धरापमा छ । चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव उनको चुलोमा समेत पर्न गयो ।

‘काम पाइएको छैन हजुर । हामीजस्तो गरीबलाई यो शहरमा बाँच्नै मुस्किल हुन थालिसक्यो,’ लोकान्तरसँगको कुराकानीमा प्रेमबहादुरले दुःख पोखे ।

खासमा उनी पूर्व नेपाल सिन्धुलीका हुन् । बाल्यकाल र युवा उमेर पूर्वमै बिताए पनि जीवनको बुढ्यौली उमेरमा काम खोज्दै उनी पर्यटकीय नगरी पोखरा आए । 

नेपालको पूर्वी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिका–४ (साविक थाङसाङ–९) का प्रेमबहादुरको जन्म २०१७ भदौ १५ मा भएको हो । बुवा कुलबहादुर र आमा नरिमायाका ७ छोरा र २ छोरीमध्ये उनी साहिला हुन् । उनका जेठा दाजुको स्वर्गेबास भइसकेको छ । उनका अनुसार अरु दाजुभाइहरू विभिन्न पेशा व्यवसायमा छन् । 

परिवारबाट छुट्टिएपछि उनले केही समय फिक्कलमै घर बनाउने काममा मजदुरी गरे । पत्नीले पनि सघाइन् । प्रेम दम्पतीका २ छोरा र ३ छोरी छन् । दुवै छोरा काठमाडौंमै मजदुरी गर्छन् । छोरीको बिहेपछि आ–आफ्नो घर गए तर प्रेमलाई यो उमेरसम्म पनि दुःखले छाडेको छैन, हड्डी खियाएका छन्, पसिना बगाएका छन्, श्रम बेचेका छन् – मात्र २ छाकका लागि ।

****

नेपालकै महंगो शहर पोखरा–६ जरेबरमा लिएको कोठाभाडामा प्रेम दम्पती बास बस्छन् । प्रेम पत्नी उत्तिसाह्रो बाहिरी काम गर्न सक्दिनन्, घरगृहस्थीमै छिन् । कोठाभाडा मात्रै ६ हजार २०० रुपैयाँ तिर्नुपर्छ । खाद्यान्नसहित दुःख–बिमार हुँदासम्म डुंगा खियाएर जम्मा गरेको सानोतिनो पैसा खर्चिनुपर्छ । दुःखले चलेको प्रेमबहादुरको जीवनमा अहिले कोरोनाको प्रभावले छाक टार्न उनले भनेझैं मुस्किल हुनु स्वभाविकै हो ।

सिन्धुलीकै धनबहादुर विक र चंखबहादुर विक एकफेर गाउँ फर्किंदा प्रेमलाई पनि पोखरामा डुंगा चलाउने काम पाइन्छ भन्दै ५ वर्षअघि पोखरा ल्याएका हुन् । शुरू–शुरूमा त मानिसको बढ्दो भीडले काम ठीकठीकै थियो । कमाइ राम्रै थियो । १ दिनमै उनले १ हजार ५०० रुपैयाँसम्म कमाइ गर्थे । अहिले मुस्किलले १–२ ट्रिप पाइहाले मात्र २०० रुपैयाँ जोहो हुन्छ ।

कोरोना प्रभावका कारण आन्तरिक एवं बाह्य पर्यटकको आगमन नहुँदा अन्य क्षेत्रझैं पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसमा डुंगा व्यवसाय पनि अछुतो रहने कुरै भएन । डुंगा नचल्दा प्रेमबहादुरको छाक टर्दैन । कहिलेकाहीँ त दाबिलो नै नछोइ रित्तै घर फर्किंदा भोकै हुने डर छ । 

फेवा डुंगा व्यवसायी समितिअन्तर्गत चल्ने डुंगाधनीले विभिन्न दूरी र समय मापन गरी डुंगा चालकलाई सोहीअनुरुप ज्याला तोकेका छन् । बाराहीघाट किनारबाट मन्दिरसम्म डुंगा चलाएको १०० रुपैयाँ पाइन्छ । कसैले १ घण्टासम्म डुंगा भाडामा जानुपर्‍यो भनेमा डुंगा चलाएबापत १५० रुपैयाँ ज्याला आउँछ तर डुंगा चढ्ने मानिस नै अकस्मात घट्दै गएपछि प्रेमबहादुरजस्तै करीब ५०० जना डुंगा चालकको भविष्य खतरामा छ । 

फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा बुद्धिबहादुर नेपालीको अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको थियो । बुद्धिबहादुर निरन्तर अध्यक्ष छन् । उनका अनुसार फेवाताल किनारका विभिन्न ८ वटा घाटमा ८०० वटा डुंगा सञ्चालित छन् । सबैभन्दा बढी बाराहीघाटबाट ३५६ डुंगा सञ्चालित छन् ।

फेवातालमा बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन् । सबै डुंगाको लागि आलोपालो प्रणाली लागू गरिएको छ । डुंगा चढ्ने मानिसको संख्या न्यून हुँदा अहिले एक–डेढ सातामा मात्र एउटा डुंगाको पालो आउँछ । 

समिति सहकोषाध्यक्ष तारा विश्वकर्मा कोरोनाको कारण मानिस नहुँदा व्यवसाय चौपटमा परेको गुनासो गर्छिन् । उनका अनुसार फेवातालको बीच भागमा रहेको ताराबाराही मन्दिर दर्शन गर्न नयाँ वर्ष र दशैं पूर्णिमाको दिन सबैभन्दा बढी मानिसको भीड हुन्छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्