चीनदेखि अमेरिकासम्म कोरोनाविरुद्ध लडाइँ : एसिया सफल, पश्चिम विफल !

कोरानाभाइरस अहिले संसारभरि फैलिएको छ । यसविरुद्धको लडाइँमा एसियाली मुलुकहरू चीन, दक्षिण कोरिया, जापान, सिंगापुर र भारत सफल भइरहेका छन् भने युरोप र अमेरिका चाहिँ विफल देखिएका छन् । 

पश्चिमी मुलुकमा विद्यमान गहिरो सामाजिक भिन्नता तथा कमजोर नेतृत्व यसका दुई प्रमुख कारण हुन् ।


Advertisement

कोरोना अहिले विश्वका १९९ मुलुक तथा अधीनस्थ भूमिहरूमा फैलिसकेको छ । सबभन्दा बढी संक्रमण देखिएका र मृत्यु संख्या धेरै भएका मुलुकहरू पश्चिमका लोकतान्त्रिक मुलुक हुन् । 

दुईवटा अपवादको पनि चर्चा गरौं । चीनमा भाइरस उत्पत्ति भयो र त्यहाँ एकदलीय निरंकुश शासन व्यवस्था छ । अनि इरानको कुरा गर्दा त्यहाँ धर्मतन्त्र र लोकतन्त्रको मिश्रण छ र अमेरिकाले त्यहाँ कडा आर्थिक प्रतिबन्ध थोपरेको छ । यी दुई मुलुकबाहेक कोरोनाबाट सर्वाधिक पीडित भएकाहरू चाहिँ पश्चिमी लोकतन्त्र नै हुन् । उनीहरूको तुलनामा एसियाली लोकतन्त्रहरू निकै कम संक्रमित देखिन्छन् र उनीहरूले व्यापक मानवीय क्षति तथा स्वास्थ्य प्रणाली धराशायी हुने स्थिति युरोप र अमेरिकाको जस्तो गरी भोग्नु नपर्ला । 


Advertisement

एसियाका लोकतान्त्रिक मुलुक किन बढी सुरक्षित छन् भन्ने विषयमा तीनवटा अन्तर्निहित कारकहरू विद्यमान छन् । पहिलो, ती मुलुकमा गतिशील तथा आत्मविश्वासपूर्ण नेतृत्व छ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन, जापानका प्रधानमन्त्री शिन्जो आबे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली छवि छ र उनीहरू आफ्ना जनतामाझ अत्यन्तै लोकप्रिय छन् । शक्तिशाली राजनीतिकर्मीहरूले सत्ताको बागडोर सम्हाल्दा जनताले सरकारको निर्देशन र आदेश अनुपालन गर्छन्, विशेषगरी अस्तित्वकै संकटको बेलामा । 

सामाजिक अनुपालनका साथै सरकारले गरेको कडीकडाउ एसियाली लोकतन्त्रहरूमा निकै मजबूत छ । एसियाली नेताहरूले नैतिक अनुनय तथा कडा तेवर दुवैको मिश्रण गरेकाले तत्तत् देशहरूमा जनताले कुरा मानेका हुन् । (अवज्ञा गर्ने अटेरीहरू पनि छन् तर तिनको संख्या सानो छ ।) उदाहरणका लागि, मोदीले भारतीयहरूलाई ‘हात जोडेर’ घरैमा बस्न अनुरोध गरे अनि ‘जिम्मेवार नागरिक’ को कर्तव्यका बारेमा उपदेश दिए भने अधिकारीहरूले घरबाट अनावश्यक रूपमा बाहिर निस्कनेलाई कारावास सजाय दिइने चेतावनी दिए । (अनावश्यक रूपमा घरबाट निस्कनेलाई प्रहरीले ठटाएर घर पठायो ।)

एसियाली नेताहरूले आफ्ना जनतालाई घरैमा बस्न विश्वस्त तुल्याउँदा पश्चिमी नेताहरूलाई चाहिँ हम्मेहम्मे परिरहेको छ । पश्चिमी युरोपमा देखिएको तीव्र सामाजिक ध्रुवीकरण र अमेरिकामा ‘उदारवादी’ विरुद्ध ‘लोकरञ्जनवादी’ खेमाबीचको विवादका कारण ठूलो जनसंख्याले नेताहरूको कटु वादविवाद सुन्नुपरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, इटलीका प्रधानमन्त्री जोसेप्पे कोन्ते, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले विभाजित मनहरूलाई जोड्न सकेका छैनन् । 

सरकारप्रति नागरिकहरूमा हुनुपर्ने विश्वासको स्तर पश्चिमी मुलुकहरूमा अत्यन्तै कम छ । त्यसैले गर्दा सरकारहरूले गहन संकटका बेलामा पनि जनतालाई परिचालन गर्न सकिरहेका छैनन् । यस्तो विषाक्त वातावरणमा आफूहरूको राजनीतिक जीवन नै धरापमा परेको विश्वास धेरैजसो पश्चिमी नेताहरूले लिएका छन् त्यसैले उनीहरूले कोरोनाभाइरस समुदायमा नसरोस् भन्नका लागि चाल्नुपर्ने रोकथाममूलक कदममा ढिलाइ गरेका छन् । उनीहरूलाई आफ्नो समर्थन सूचकांक गुम्ने र पुनः निर्वाचित नहुने डरले सताइरहेको छ । (त्यसैले त ट्रम्प बन्दाबन्दीलाई लम्ब्याउन नहुने र केही दिनमै बजारहरू खोल्नुपर्ने भनिरहेका छन् जबकि अमेरिकामा कोरोना संक्रमणको स्थिति भयावह छ ।)

कोरोनाभाइरसविरुद्धको युद्धमा एसियाली लोकतन्त्रहरू सफल हुनुमा दोस्रो कारक तत्त्व भनेको यहाँको संस्कृति हो । एसियाली समाजहरू समूहवादी हुन्छन् अनि साझा समस्या समाधानका लागि नागरिकहरू व्यक्तिगत स्वतन्त्रतालाई बलिदान दिने र दुःखकष्ट पनि सहने क्षमता राख्छन् । व्यक्तिको तुलनामा समाजलाई सर्वोपरि ठान्ने सोच दक्षिण कोरिया, जापान, भारत र इन्डोनेसियामा बेग्लाबेग्लै किसिमका होलान् । तर तिनलाई समग्रतामा हेर्ने अनि पश्चिमी युरोप र उत्तरी अमेरिकासँग तुलना गर्ने हो भने एसियालीहरूले व्यक्ति र समाज वा समाज र राज्यबीच चिरकालीन द्वन्द्व छ भन्ने अवधारणा बनाएका देखिँदैनन् । 

पश्चिमी लोकतन्त्रहरूको राजनीतिक संस्कार व्यक्तिवाद, मानवअधिकार र राज्यलाई स्वतन्त्रताको शत्रुका रूपमा लिनुमा अडेको छ । तर एसियालीहरूले निजताको उल्लंघन वा सरकारको कठोर व्यवहारको चिन्ता गर्दैनन् ।

इटलीले कोरोनाभाइरसको संक्रमण रोक्न नसक्नुको प्रमुख कारण भनेको त्यहाँको समाजमा गहिरो गरी जमेको ‘फुर्बो’ को अभ्यास हो । त्यो भनेको छलकपट र धूर्तता हो । नागरिकहरू राज्यले दमन गरिरहेको छ कि भन्ठान्छन् अनि सरकारले लगाएको नियन्त्रणको अवज्ञा गर्ने तरिका खोजिबस्छन् । प्रधानमन्त्री कोन्तेले ‘हामीहरू बाठो बन्न खोज्नुहुँदैन’ भनी गरेको अनुनयलाई कसैले टेरपुच्छर लगाएन अनि पछि त निकै ढिलो भइसकेको थियो । 

सरकारले सामाजिक दूरीका नियमहरू घोषणा गरे पनि बेलायतका पबहरू, इटलीका क्याफेहरू, स्पेनका बारहरू, फ्रान्सका प्याटिसेरीहरू अनि अमेरिकाका समुद्री किनारहरूमा भीडभाड जम्मा हुनुमा महत्त्वपूर्ण पाठहरू लुकेका छन् । कोरोनाभाइरस संक्रमणको शृंखला भत्काउनका लागि सबै कुरा बन्द गर्नू भनी नियम लगाइएको भए पनि त्यसलाई व्यापक अवज्ञा गरियो अनि सरकारले ज्यादती गरेर नागरिकहरूको स्वतन्त्रतालाई जोखिममा पारेको भनी व्यर्थको वादविवाद गरियो । यसले पश्चिमी लोकतन्त्रहरूमा संक्रमण रोकथाममा अवरोध आएका छन् । उता दक्षिण कोरियामा जासूसी संस्थाहरूले मानिसका मोबाइल फोन र क्रेडिट कार्डको कारोबारमा अतिक्रमण गर्दा, नागरिकहरूको सानोभन्दा सानो गतिविधिमा निगरानी गर्दा र कन्ट्याक्ट ट्रेसिङका लागि आक्रामक उपाय अपनाउँदा मानिसले खासै विरोध गरेनन् र भाइरसको संक्रमण रोक्न सहज भयो । 

तेस्रो, एसियाली लोकतन्त्रहरूले पश्चिमी समकक्षीहरूको तुलनामा व्यापारिक स्वार्थ समूहलाई हावी हुन दिएनन् । ट्रम्प, जोनसन, कोन्ते र मर्कल जस्ता राजनीतिकर्मीले लगानीकर्ताहरू चिढिएलान् अनि बजारको मानसिकतामा चोट पर्ला भन्ने डरले कडा बन्दाबन्दी लगाउन शुरूआती चरणमा अनिच्छा देखाए । 

अमेरिकामा १७ सय १ जनाको मृत्यु भइसक्दा पनि ट्रम्प देशभरिका कारोबार बन्द गर्ने अवधि छोट्याउनुपर्ने अनि स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्न निजी क्षेत्रमाथि राज्यले हस्तक्षेप गर्न नहुने अड्डी कसिरहेका छन् ।

कोरोनाभाइरसले दिएको आर्थिक झट्काले ट्रम्पको तीन वर्षे शासनकालमा देखिएको स्टक मार्केटमा वृद्धिलाई निमिट्यान्न बनाएपछि ट्रम्प अहिले निकै आत्तिएका छन् । (त्यही आर्थिक वृद्धि देखाएर पुनः निर्वाचित हुने सपना साँचेका ट्रम्पलाई अहिलेको संकटले दुःस्वप्न ल्याएको छ ।) त्यसैले कोरोनाविरुद्धको लडाइँमा उनको रवैया ढुलमुले छ ।

तर एसियाली नेताहरू व्यापारवादी नभई राज्यवादी छन् । उनीहरूलाई आर्थिक मन्दी मन पर्दैन र व्यापारिक स्वार्थ समूहको दबाब पनि छ तर व्यापारीहरूले मोदी वा मूनलाई आफ्नो स्वार्थ पूरा गर्ने दबाब दिन सक्दैनन् । व्यापक व्यापारिक लगानी गुम्ने अनि टोक्यो ओलम्पिकको खर्च डुब्ने डरले आबेले जापानमा राष्ट्रिय संकटको घोषणामा ढिलाइ गरे तर अन्ततोगत्वा उनले स्वास्थ्यका हकमा बृहत्तर सार्वजनिक स्वार्थप्रति नतमस्तक हुँदै राष्ट्रिय संकटको सामना गर्नका लागि कठोर नियन्त्रण लागू गरे अनि ओलम्पिक खेलहरू पनि स्थगित गरे । 

एसियाली लोकतन्त्रहरूमा भाइरस व्यापक मात्रामा नफैलिनुमा अन्य कारकहरू पनि हुन सक्छन् । भारतमा युवा जनसंख्या बढी छ जसले मृत्युदर कम भएको हुन सक्छ अनि त्यहाँको तापक्रम पनि बढी छ जसले संक्रमण सुस्त गराउन सक्छ । 

जापान र भारतले दक्षिण कोरियाको जस्तो व्यापक मात्रामा कोरोनाभाइरस परीक्षण नगरेकाले त्यहाँ संक्रमितको संख्या बढ्ने सम्भावना पनि छ । तर एसियाली लोकतन्त्रहरूले खतरनाक मानिएको ‘तेस्रो चरणको भाइरस संक्रमण’ फैलिन नदिनका लागि कडा उपायहरू अपनाइरहेका छन् जबकि पश्चिमी मुलुकहरूले त्यसलाई बेवास्ता गर्दा त्यहाँ संक्रमण व्यापक मात्रामा फैलियो । 

संकटको समयमा राजनीतिक नेतृत्व र सामाजिक व्यवहारले निकै महत्त्व राख्छन् । यस महासंकटमा पश्चिमको तुलनामा पूर्व सर्वोपरि ठहरिन पनि सक्छ । पश्चिमी लोकतन्त्र र त्यहाँका सञ्चारमाध्यमले घमण्ड त्यागेर आफ्ना पूर्वीय समकक्षीहरूलाई नजिकैबाट हेर्ने र सिक्ने काम गर्दा उनीहरूलाई नै फाइदा हुन्छ ।

आरटीमा प्रकाशित श्रीराम चौलियाको विश्लेषण

लोकान्तरका लागि विन्देश दहालले गरेको अनुवाद 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्