अमेरिकाको न्युयोर्कमा रहेको स्ट्रंग मेमोरियल हस्पिटलमा एक पुरुषले आफूमा कोरोनाभाइरसको लक्षण भएको कुरा लुकाएपछि उनकी पत्नी पनि बिरामी भएकी छन् ।
यूएसएटुडे डट्कममा आएको समाचारअनुसार, पत्नी म्याटर्निटी वार्डमा भर्ना गरिएकी थिइन् र पति उनलाई भेट्न आएका थिए ।
बच्चा जन्माएपछि पत्नीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको लक्षण देखियो ।
अब अस्पतालले कडाइका साथ सबै भिजिटरको स्वास्थ्य परीक्षण गर्ने निर्णय लिएको छ । भिजिटरले पनि सर्जिकल मास्क लगाउनुपर्ने भएको छ ।
पत्नीमा कोरोना संक्रमण देखिएपछि पतिले आफूलाई कोरोनाको लक्षण देखिएको स्वीकार गरे ।
अस्पतालका एक अधिकारीले भने, ‘बच्चा जन्मेको केही समयपछि नै आमामा रुघाका लक्षण देखिन थाले । हामीले सोधीखोजी गर्दा पतिले आफूमा पनि लक्षण देखिएको स्वीकार गरे ।’
अस्पतालले व्यक्तिगत गोपनीयताका कारण अधिक जानकारी दिन अस्वीकार गरेको छ ।