शक्ति सन्तुलन बदल्दै कोभिड– १९ : अबको शक्ति केन्द्र एसियामा !

झकबहादुर मल्ल 'सुदीप'
झकबहादुर मल्ल 'सुदीप'

मल्ल नेकपाका केन्द्रीय सदस्य हुन्

यतिबेला कोभिड– १९ अर्थात् कोरोनाभाइरसका कारण समग्र विश्व व्यवस्था संकटपूर्ण घडीबाट गुज्रिरहेको छ । विश्वका १९० राष्ट्र यतिबेला मानवजीवनको संकटका विरुद्ध जोखिमपूर्ण संघर्षमा छन् । यो स्तम्भ तयार गर्ने बेलासम्म विश्वका झण्डै ६५ हजार मान्छेले यो रोगका कारण जीवन गुमाइसकेका छन् भने झण्डै १२ लाख मान्छेहरूमा यो रोगको संक्रमण फैलिसकेको छ र ३ लाख मान्छेहरू उपचारपश्चात् निको भएका छन् । यसले गर्दा सारा विश्व यो महामारीविरुद्ध निकै कठिन र चुनौतीपूर्ण लडाईंमा सहभागी भएको छ ।

चीनबाट शुरू भएको यो भाइरस आजको दिनसम्म आइपुग्दा संसारभर विनाशकारी आँधी-तुफान को रूपमा विकास भइरहेको छ ‌। सारा विश्व यतिबेला झण्डै लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । सम्पूर्ण मानव जीवन अस्तव्यस्त भएको छ । सबैखाले आर्थिक राजनीतिक र सांस्कृतिक कार्यक्रमहरू ठप्प भएका छन् । उद्योगधन्दा कलकारखाना सबै पूर्णतः बन्द अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा पनि संक्रमण दिनप्रतिदिन व्यापक बन्दै गइरहेको छ । सबैखाले सुरक्षाका पर्खालहरू तोड्दै यो रोग विश्वव्यापी महामारीको रूपमा विकसित भएको छ । 


Advertisement

यो रोग देखा पर्नासाथ चीनले जुन विधि अवलम्बन गर्‍यो सारा विश्वले त्यसलाई आलोचनाको विषय बनायो । चीनको वुहान शहरलाई लकडाउन गरेर चीनले जुन नियन्त्रणको विधि अवलम्बन गर्‍यो, त्यसबाट उसले सफलता हासिल गर्‍यो । तर यसलाई गम्भीरतापूर्वक लिने र सावधानी अपनाउने कुरामा अन्य राष्ट्रहरू चुके । जसका कारण रोगको फैलावट व्यापक बन्यो । जनजीवन अस्तव्यस्त बन्यो र संसारभर मानव मृत्युदर बढेर गयो । अझ गम्भीर कुरा के भने संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीकै यो रोगको कारण निधन हुनपुग्यो ।

आज अन्तर्राष्ट्रिय राजनीतिक जगतमा धेरै बहसहरूले महत्त्व पाइरहेका छन् । कोभिड– १९ अर्थात् कोरोना भाइरसका विरुद्धको लडाईं मानवजातिकालागि प्रथम र दोस्रो विश्वयुद्ध यताको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखापरेको छ । प्रकृति विरुद्धको लडाईं जस्तो देखिएपनि मानवीय क्षतिका दृष्टिले यो लडाइँ मानवजातिका लागि निकै ठूलो मूल्य चुक्ता गर्नुपर्ने स्थिति छ । प्रथम विश्व युद्धपछि विश्व राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा पर्‍यो । कमजोर र उत्पीडित राष्ट्रहरूमा मानव नरसंहार मच्चाएको जर्मन साम्राज्यवादको पतन प्रथम विश्वयुद्ध समाप्तिसँगै भयो ।


Advertisement

यो संकटको घडीमा जुन किसिमका अन्तर्राष्ट्रिय गतिविधिहरू सतहमा देखा परेका छन् यसले विश्वलाई नयाँ किसिमको ध्रुवीकरणतर्फ अघि बढाउने निश्चित छ । स्पष्टरूपमा भन्दा युरोपियन युनियनको विघटनसँगै अमेरिकी साम्राज्यवाद निकट भविष्यमा विश्वस्तरबाटै समाप्तिको बाटोमा पुग्ने लगभग निश्चित छ ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्व शक्तिको रूपमा उदाएका ब्रिटिस र जापनिज साम्राज्यको पनि अवशान भयो । यसले के देखाउँछ भने विश्वमा उत्पन्न नयाँ–नयाँ संकटले तत्कालीन महाशक्ति राष्ट्रको प्रभाव समाप्त हुने र नयाँ शक्तिको उदय हुने ऐतिहासिक परम्पराबाट यो शताब्दी पनि अलग हुने छैन । अझै रोचक इतिहास के छ भने नेपोलियन बोनापार्टको विश्व जित्ने अभियान सन् १८०१ मा 'यलो फिबर' महामारीको कारण हैटीमा आफ्ना ४७ हजार सेनाको मृत्यु भएपछि समाप्त भएको थियो । सन् १८८८- १८९६ सम्म देखापरेको 'यनिमल प्लेग' महामारी पछि यूरोपियन राष्ट्रले अफ्रिकामाथि उपनिवेश कायम गरे । 

यिनै ऐतिहासिक तथ्यहरूका आधारमा भन्न सकिन्छ कि यो महामारीपश्चात विश्वको शक्ति सन्तुलन नयाँ ठाउँमा प्रवेश गर्नेछ । विश्व अर्थतन्त्रमाथि नियन्त्रण गर्न विकास गरेका सम्पूर्ण साम्राज्यवादी हत्कण्डाहरू असफल भएका छन् । संसारभरि आफ्नो साम्राज्य विस्तार गर्न विकास गरेका आणविक हतियार र मिसाइल निस्काम सावित भएका छन् । सूचनाप्रविधिमाथि नियन्त्रण, बहुराष्ट्रिय कम्पनी र वित्तीय पूँजीद्वारा विश्व व्यवस्थामाथिको नियन्त्रण साथै विश्वस्तरमै रणनीतिक महत्त्वका ठाउँहरूमा आफ्नो सैन्य उपस्थिति कायम गरेको अमेरिकी साम्राज्यवाद विश्व महामारीले उत्पन्न गरेको यो संकटसँगै ढल्ने स्पष्ट संकेत देखापरेको छ ।

मानव जगतको यो संकटको बेलामा आफ्नो शासन प्रणाली र जनताप्रतिको उत्तरदायित्व नयाँ ध्रुवरूपमा उदाएका चीन र रुसजस्ता देशहरूले कुशलतापूर्वक पूरा गरेका छन् । त्यसैगरी ल्याटिन अमेरिकी मुलुकहरूले पनि आफ्ना जनताको सुरक्षासँगै विश्वभरीका संकटग्रस्त मुलुकहरूमा आफ्नो सेवा प्रवाह गरिरहेका छन् । महामारीको यो चुनौती ती देशहरूले सामना गरेर आज महामारीले आक्रान्त भएका मुलुकहरूमा आफ्ना सहयोग केन्द्रित गरेका छन् ।
केबल पूँजी र हतियारको बलमा होइन मानवीय जीवनका कठिनतम घडीमा आफ्नो श्रेष्ठता संसारसामु प्रस्तुत गरेर चीन, रसिया लगायतका देशले यतिबेलाको विश्वमा आफ्नो नयाँ ध्रुवलाई श्रेष्ठ सावित गरेका छन् ।

यो महामारी नियन्त्रण गर्न विश्वस्तरमा जुन प्रयत्नहरू भइरहेका छन् तिनले छिट्टै नै नयाँ सफलता हासिल हुने निश्चित छ । यो संकटको घडीमा जुन किसिमका अन्तर्राष्ट्रिय गतिविधिहरू सतहमा देखा परेका छन् यसले विश्वलाई नयाँ किसिमको ध्रुवीकरणतर्फ अघि बढाउने निश्चित छ । स्पष्टरूपमा भन्दा युरोपियन युनियनको विघटनसँगै अमेरिकी साम्राज्यवाद निकट भविष्यमा विश्वस्तरबाटै समाप्तिको बाटोमा पुग्ने लगभग निश्चित छ ।

यसरी विश्वको नयाँ ध्रुवीकरणसँगै नेपाललगायतका विकासोन्मुख कैयौं देशहरूमा नयाँ राजनीतिक प्रणालीको बहसले नयाँ शासन प्रणालीको रूप लिने सम्भावना प्रबल छ । यति कुरा स्पष्टसँग भन्न सकिन्छ कि यो संकट र महामारीपश्चात विश्वको शक्ति केन्द्र एसियामा सर्ने निश्चित छ ।

झकबहादुर मल्ल 'सुदीप'
झकबहादुर मल्ल 'सुदीप'

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्