सरकार नराम्ररी चुक्यो, सच्चिएन भने नसोचेको परिस्थिति आउनसक्छ : दीपकुमार उपाध्याय

हामी पूर्वीय दर्शन र सभ्यताका मानिसले कोरोना संक्रमणले उत्पन्न गरेको समस्या समाधानमा अझ बढी चिन्तन गर्नुपर्ने देखिएको छ । आधुनिकताको नाममा हामीले हाम्रो सभ्यता बिर्सियौं । विज्ञान र भौतिक प्रगति कति अधुरो/अपूरो रहेछ भन्ने कुरा अहिलेको परिस्थिति आफैंले यसको व्याख्या गरिराखेको छ । भनौं न– धन, दौलत, शक्ति विज्ञान प्रविधि, देश, जनता र तिनको स्वास्थ्य उपचारमा अमेरिका, इटली, स्पेनजस्ता देश सक्षम मानिन्थे ।

नयाँ–नयाँ रिसर्च, इन्नोभेसनदेखि लिएर सर्भिसेजमा उनीहरू अग्रणी थिए । तर आज त्यो काम लागेन । आज एउटा नदेखिने सुक्ष्म जीवाणुले पनि यस किसिमको मानव सभ्यतालाई नै असर पार्न सक्दो रहेछ भन्ने अहिलेको परिस्थितिले देखाएको छ । कोरोनाले उत्पन्न गरेको परिस्थितति विश्वयुद्धभन्दा पनि खतरनाक र भयानक बन्यो । 


Advertisement

हाम्रो पूर्वीय दर्शन, सभ्यताले भने यस्तो कल्पना गरेको हुन्छ । त्यसकारण हामी अहिले अत्यन्त संयमित भएर साधना योग, जे जस्तो विचार, धर्म छ, त्यसबाट हामी नैतिक मूल्य मान्यताको प्रकृति अनुकूल सभ्यताले सिकाएको कुरा सिक्न बाध्य पारेको छ । 

ऋषिमुनीहरूले तपाईं हामीले प्रयोग गर्ने जति पनि मर–मसला छन् नि जस्तै ज्वानो, मेथी, बेसार, लसुन, अदुवा टिमुरप्रति पाश्चात्य जगत पनि  आकर्षित हुने पुगेका छन् । जीवनको मूल्य मान्यतालाई पद्धतिले नै सन्तुलित राख्दो रहेछ भन्ने कुरामा अहिले विश्व सहमत भएको छ । त्यसकारण हामीलाई ठूलो अवसर पनि हो । 


Advertisement

यो महासंकटले आफ्नो परनिर्भतालाई पनि कसरी कम गर्ने भन्ने पाठ पनि सिकाएको छ । हाम्रो इकोनोमीको बेस भनेको रेमिट्यान्स हो । हामीसँग पठाउने या दिने कुरा केही पनि छैन । खाली हामी बाहिर कमाउने र त्यो पैसाले यहाँ खर्च गर्ने गरिरहेका छौं ।

बलियो सरकार, फितलो कार्यान्वयन

कोरोनाले विश्व आक्रान्त बनेको समयमा सबै देशका सरकार कोरोनाबाट उत्पन्न समस्या समाधानमा जोडतोडले लागिरहेका छन् । अहिले हाम्रोमा बलियो सरकार छ । बलियो सरकार हुन्थेन भने अहिलेसम्म हामी एक अर्कालाई दोषारोपण गर्दै अझ ठूलो दूरावस्थामा पुगिसक्थ्यौं । आज त्यो पनि ठाउँ छैन । तलदेखि माथिसम्म एउटा पार्टीको बलियो सरकार छ । चीनले सरकारको बलियो संकल्पका कारण कोरोनाको कहरलाई रोक्न सक्यो । कार्यकर्ता परिचालनमा उनीहरूले सफलता हासिल गरे । नेपालमा भने त्यो हुन सकिरहेको छैन । यो गम्भीर चिन्ताको विषय छ । 

मध्यावधि चुनाव, सहमतिको सरकार भनेर पनि मिडियामा आयो । यो केही होइन, वाइयात कुरा हो । प्रतिपक्षी दलको औपचारिक निर्णय होइन । यत्रो बलियो सरकारले गर्न सकेन भने अर्को कसले गर्न सक्छ ? सरकारले गर्न सकेन भने सिस्टमनै फेलियर हुने अवस्थातर्फ जान्छ । 

सरकारले यो संकटको समयमा परिपक्क कूटनीतिक चातुर्यता देखाउन सकेको पाइएन । स्वास्थ्य सामग्री खरिद पनि कूटनीतिक कौशलमार्फत जीटूजीमार्फत गर्नुपर्ने विषय थियो । कूटनीति हल्ला गर्ने विषय होइन, सार्थक कूटनीतिबाट पत्ता लगाउनु पर्‍यो नि ! नेपालको कूटनीति यति पोख्त हुनुपर्‍यो कि हामीलाई यो समस्या छ भने स्वास्थ्य सामग्री कहाँ पाइन्छ भनेर सार्थक कूटनीतिबाट पत्ता लगाउनु पर्‍यो । यसो गर्न सकेको भए यस्तो विपत्तिको समयमा भ्रष्टाचारको कुरा उठ्दैनथ्यो । 

सरकारमार्फत सरकारसँग स्वास्थ्य सामग्री खरिद गर्दा (जीटूजी)मा त खेलमेल हुँदैन । यहाँ त प्राथमिकता खेलमेलमा भयो । जीटूजीमा सामानको गुणस्तर लगायतको विषय सरकारको जिम्मामा हुन्छ । 

हाम्रो संस्कृति सभ्यताले त्यही भन्छ जीवन नै आरोह अवरोहको पर्याय हो । सयचक्र बलबान छ । त्यसबाट पाठ सिक्छौं कि सिक्दैनौं त्यो महत्त्वपूर्ण कुरा छ । सरकारको हकमा पनि यही सिद्धान्त लागू हुन्छ । 

सरकार र पार्टीको नमिलेको तालमेल

सरकार बलियो छ । एकमना सरकार छ । तरपनि समस्या सरकार सञ्चालन गर्ने पार्टीभित्र देखिन्छ । नैतिक मूल्य मान्यतामा स्खलन छ । त्यसमा अलिकति पनि सुधारको संकेत नदेखिनु अहिलेको दुभाग्यपूर्ण स्थिति छ । सरकारलाई बाध्यता थियो लडकाउन गर्ने, त्यसमा विमति रहनुपर्ने कुरा छैन । तर सरकारसँग ७०/८० दिनको समय थियो । त्यो समयलाई त्यत्तिकै खेर फालेर अहिले बल्ल छलफल भैरहेको छ । । अर्थात् संक्रमण फैलिन शुरू गरेपछि बल्ल स्वास्थ्य सामग्री ल्याउनेबारे निर्णय हुँदैछ ।

कोरोना संक्रमण नियन्त्रण भारतले राम्रोसँग गर्‍यो भने नेपालमा ठूलो असर नपर्ला । भारतमा फैलियो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ, पर्छ । हामी देख्छौं नि भारतले समयमै लकडाउन गरेर सार्वजनिक यातायातहरू बन्द गर्दापनि यत्रो संख्यामा भारतबाट मानिसहरू कसरी नेपाल आए ? 

सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा चुकेको देखिन्छ । प्रधानमन्त्री भर्खरै ठूलो अप्रेसन गरेर आउनुभएको छ । उहाँलाई कति दोष दिने ? कुरा ठोक्किएर फेरि त्यही प्रधानमन्त्रीसमक्ष नै पुग्छ । स्वास्थ्य सामग्री समयमै आपूर्ति हुनुपर्ने थियो, त्यो हुन नसकेको अवस्थामा भ्रष्टाचारको कुरा उठ्नु यो जत्तिको दुभाग्यपूर्ण कुरा अर्को हुनै सक्दैन । सरकारले चेतेको देखिँदैन । जसले गर्दा त्यो पार्टीभित्र निकै ठूलो आकुलव्याकुल भएजस्तो देखिन्छ । हामी प्रतिपक्षमा छौं, संकटको समाधान गर्ने प्रथम दायित्व सरकारको हो, त्यसपछि हाम्रो पनि दायित्व छ । 

सरकार समयै सचेत भएन भने नेपालले हरेक क्षेत्रमा संकटको सामना गर्नुपर्नेछ । समयमै नचेत्दा ठूलो दुर्भाग्य हुनसक्छ, नसोचेको परिस्थित उत्पन्न हुनसक्छ । यसपछि पनि राज्य सञ्चालन गर्ने र समाजलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेछ । त्यसबारेमा हुनुपर्ने छलफलको कमी छ । 

प्रधानमन्त्रीले प्रतिबद्धता गर्नुहुन्छ, त्यो अनुसार केही काम हुँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखसँग गरेको भिडियो कन्फरेन्समा पनि केही कुरा भए तर नेपालमा कार्यान्वयन भएको देखिएन । 
स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता नहुने, कानूनसम्मत नहुने, सरकार एकपछि अर्को गलत काम गर्ने, यत्रो उच्च तहको छलफलपछि भएको निर्णय सरकार आफैंले रद्द गर्नुपर्ने ? रद्द गर्नु भनेको त गल्ती भयो, गल्ती छ भन्ने प्रमाणित भएर नै हो नि ! तरपनि कारवाही त हुँदैन फेरि । त्यसको मतलब संरक्षण त्यतैबाट होला । व्यापक प्रश्न उठेको छ ।

आजसम्म जति ठूला भ्रष्टाचार र अनियमितताका कुरा उठे, ती कुरा टुंगोमा पुग्न नसक्नु या भ्रष्टाचारमा संलग्नलाई कारवाही हुन नसक्नुको कारण के छ ? यसमा हाम्रो पनि दोष होला  । सरकार लगातार नराम्रोसँग चुक्दै आइरहेको छ । प्रतिपक्षले सरकारलाई अँठ्याएर जनताले बुझ्ने भाषामा कमीकमजोरी पत्ता लगाउनेतर्फ लाग्नुपर्थ्यो । त्यो पनि हुन सकेको छैन । सरकार यस किसिमको अग्नि परीक्षामा एकपछि अर्को असफल र कमजोर हुँदै गएको छ, नराम्ररी फस्दै गएको छ  । अहिले त छताछुल्ल नै भएको छ । प्रधानमन्त्रीजीले यो अवस्थामा, व्यक्तिगत जीवनमा भन्दा पार्टीभित्र छिनोफानो गर्नुपर्ने अवस्था आइसकेको स्थिति छ । सत्तारुढ पार्टीभित्र उकुसमुकुसको स्थिति छ । 

प्रधानमन्त्रीले म जे छु, म नै सर्वेसर्वा हो भनेर जाने एउटा बाटोे हो । होइन पार्टीमा व्यापक छलफल गरेर देश र पार्टीप्रति गम्भीर र जिम्मेवार बन्नु पर्ने अवस्था आएको छ । राष्ट्रिय जिम्मेवारीले गर्दा सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्छ । 

मध्यावधि चुनाव र सहमतिको सरकार वाइयात कुरा हुन्

मध्यावधि चुनाव, सहमतिको सरकार भनेर पनि मिडियामा आयो । यो केही होइन, वाइयात कुरा हो । प्रतिपक्षी दलको औपचारिक निर्णय होइन । यत्रो बलियो सरकारले गर्न सकेन भने अर्को कसले गर्न सक्छ ? सरकारले गर्न सकेन भने सिस्टमनै फेलियर हुने अवस्थातर्फ जान्छ । 

सेनालाई पनि विवादमा तान्ने काम

यहीबेला नेपाली सेनालाई विवादमा तान्ने काम सरकारले गरेको छ । सेनाका हालका प्रमुखले नेतृत्व सम्हालेपछि निकै आशा जगाएका छन् – नैतिक मूल्य, मान्यता, इमान्दारी र आचरणमा । त्यो बचेको निकाय पनि विवादमा पर्ने देखिँदैछ । सेनालाई अगाडि सारेपछि अख्तियारले छुन पाउँदैन भन्ने आधारमा यस्तो कुरा गर्नु राम्रो हुँदैन । यसबारे सरकारले समयमै सोचेर सच्याउनु पर्छ । सेनाले पनि यस्तो कार्य सकभर नगर्दा राम्रो हुन्छ । सरकारले गरेको कामलाई सघाउने, ढुवानीमा लैजाने कुरा ठीकै हो । तर निर्णयमै सेनालाई दिने भनेको अर्को विवादित विषय हो । त्यो त्यति राम्रो कुरा भएन । सेनालाई अनावश्यक विवादमा तान्न कोशिश नगरेकै राम्रो । 

सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा चुकेको देखिन्छ । प्रधानमन्त्री भर्खरै ठूलो अप्रेसन गरेर आउनुभएको छ, उहाँलाई कति दोष दिने ? कुरा ठोक्किएर फेरि त्यहीँ प्रधानमन्त्रीसमक्ष नै पुग्छ । स्वास्थ्य सामग्री समयमै आपूर्ति हुनुपर्ने थियो, त्यो हुन नसकेको अवस्थामा भ्रष्टाचारको कुरा उठ्नु यो जत्तिको दुभाग्यपूर्ण कुरा अर्को हुनै सक्दैन ।

नेपालको आजको समस्या भनेको निर्णयकर्ताले नैतिक जिम्मेवारी नलिने छ । निर्णय गर्ने, जिम्मेवारी नलिने । त्यो औषधि खरिदको कुरा मामुली विभागको महानिर्देशक या सचिवको तहबाट यो निर्णय भएको होला र ? होइन नि ! घामजत्तिकै छर्लङ्ग छ । तर कोही नैतिक रूपले जिम्मेवारी लिन तयार छैन । यो केस र अरू केसमा पनि । मान्छेको नियत नै ठीक नभएपछि अर्थात बदनियत भएपछिको अवस्था हो अहिले स्वास्थ्य सामग्री खरिदमा उत्पन्न विवाद । 
नियत ठीक छैन भने कसरी राम्रो काम हुन्छ ? धन्न सञ्चार जगतले सूचना प्रवाह गरिरहेको छ । अहिले यहाँसम्मकि संकटकालको स्थितिमा जस्तो सेनालाई अगाडि सारेर सबै कुरा अघोषित संकटकालको स्थिति सिर्जना गर्न खोजिएको हो कि भन्ने कुरा सञ्चार जगतले बाहिर ल्यायो । 

प्रधानमन्त्रीले निर्ममताका साथ जनतालाई विश्वास हुने किसिमबाट हाम्रो कुनैपनि निर्णयमा बद्नियत छैन, यसमा बद्नियत हुँदैन भन्ने कुराको विश्वास त दिनु पर्ने होइन ? सेनालाई दिएर पनि ढाकछोप गर्न खोजेको हो ? त्यो हो भने त योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ? 

कोरोना लम्बियो भने कसरी सामना गर्ने ? 

कोरोनाका कारण उत्पन्न हुनसक्ने सबभन्दा ठूलो समस्या त हाम्रा युवा विदेशमा छन् । यही स्थिति रह्यो भने विदेशमा पनि खासगरी मध्यपूर्वमा आर्थिक मन्दी आएर तिमीहरू आफ्नो देश फर्क भनेर फर्काउनुपर्ने स्थिति आयो भने त्यो अत्यन्त भयाभह हुनेछ । अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नो देशमा रहेका विदेशी विद्यार्थीलाई फर्कने आशयको कुरा गरेको पनि बाहिर आएको छ ।

विदेशबाट कामदार फिर्ताको अवस्था आयो भने एकातर्फ हाम्रो स्रोत सिद्धिने र अर्को पर्यटन लगायतका आम्दानीका क्षेत्र सुकेको अवस्थामा हाम्रो अर्थतन्त्र अत्यन्तै शिथिल बन्ने खतरा छ । सरकारले के तयारी गर्छ ? भोलि ती युवा नेपाल आए भने के काममा लगाउने ? यसबारे सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्छ ।  

नेपाल सरकारले सम्पूर्णलाई आह्वान गरेर देश विदेशमा रहेका नेपालीको ज्ञान, क्षमता र ख्यातिलाई राष्ट्र निर्माणमा लगाउनु पर्ने हुनसक्छ । सरकारले भन्नु पर्‍यो– देशमा के गर्न सकिन्छ, तपाईंहरूको सीप सहित गर्नुपर्‍यो । हाम्रा उद्योगी पनि कसरी छिटो धन आर्जन गर्ने भन्नेतर्फ नलागौं । बरु अलिकति थोरै कमाऊँ, व्यवसाय दीगो होस् भन्नेतर्फ लाग्नुपर्‍यो । यसका लागि पनि राष्ट्रिय चिन्तन आवश्यक छ । 

अहिले विदेशमा बस्ने धेरै बुद्धिजीवीले यसो गरेमा राष्ट्र समृद्ध बन्छ भनेर सुझाव दिइरहेका छन् । त्यसको कार्यान्वयनको कुरा गरौं न, यतातर्फ कसैको ध्यान छैन । सरकारमा बस्नेलाई सत्ता लम्ब्याउन र  आफू नजिककालाई पोस्न मै ध्यान छ । सरकारको नेतृत्व गरेको पार्टीभित्र कचिंगल छ । त्यहाँसम्म सोच्ने उहाँहरूलाई फुर्सदै छैन । 

कसरी सरकारमा रहिराख्ने, आफ्ना निहीत स्वार्थलाई पूरा गर्ने ? भन्नेमै सीमित देखिन्छ । नेपालले कहाँ–कहाँ गल्ती गर्‍यौं भनेर आत्मसमीक्षा गर्नु आवश्यक पर्छ । के गर्‍यौं भने हामी आत्मनिर्भर बन्न सक्छौं भनेर गहन छलफल शुरू गर्नुपर्छ । हामीले राम्रो नीति लियौं भने प्रकृतिले बरदान बनाएको देशमा खाद्य आपूर्तिको समस्या नहोला । स्वदेशमा विद्युत् उत्पादन बढ्दैछ । यसबाट खाना पकाउने ग्यासको आयात घटाउन सकिन्छ । 

ठूला संकटपछिको राष्ट्रिय सहमति 

कोरोना संक्रमणको नियन्त्रण हाम्रो मात्र हातमा छैन । उत्तरतिर संक्रमणको प्रकोप थियो । त्यो अन्त्य भएर उनीहरू आफ्नो नर्मल लाइफतिर आउँदैछन् । दक्षिण छिमेकीमा आउने दुईतिन हप्ता बढो क्रुसिएल छ । हाम्रा लागि पनि यो समय क्रुसिएल छ । मध्यपूर्वमा पनि यो कसरी फैलिन्छ या नियन्त्रण हुन्छ, नेपालमा प्रभाव पार्ने कारक तत्व यिनै हुन् । भोलिको दिनमा संकट आयो भने के गर्ने ? हाम्रो बाटो के हुने ? कति दिनको तयारी गर्ने ? भनेर सरकारले गृहकार्य गर्नुपर्ने बेला भइसक्यो । 

विदेशबाट कामदार फिर्ताको अवस्था आयो भने एकातर्फ हाम्रो स्रोत सिद्धिने र अर्को पर्यटन लगायतका आम्दानीका क्षेत्र सुकेको अवस्थामा हाम्रो अर्थतन्त्र अत्यन्तै शिथिल बन्ने खतरा छ । सरकारले के तयारी गर्छ ? भोलि ती युवा नेपाल आए भने के काममा लगाउने ? यसबारे सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्छ ।  

सरकारको नेतृत्व गर्नेहरूमा सोचाइमा दूरदर्शिता र कार्यान्वयनमा ठूलो समस्या देखियो । अहिलेदेखि किसानहरूलाई सहजीकरण गरेर गाउँपालिका र नगरपालिकाभित्र खेती किसानी गर्न बाधा छैन भन्ने खालको तयारी गर्नुपर्‍यो । शिक्षा, स्वास्थ्यमा लगानी गर्नेबारेमा न केन्द्र सरकारको, न प्रदेशको र न स्थानीय सरकारको ध्यान छ । हामीले अन्तर्राष्ट्रिय समुदायलाई हामी पनि सभ्य मुलुक हौं भनेर देखाउन देखावटी रूपमा बजेटमा लगानी बढाएजस्तो गर्छाैं, तर स्वास्थ्यको बजेट पनि पूर्वाधारमा रकमान्तर गरेको देखिन्छ । शिक्षामा गरेको लगानीबाट त कमिसन आउने भएन । बाटोघाटो बनाएजस्तो गरेपछि त कमिसन पनि आउने भयो ।

भोलिको दिनमा विदेशका नेपाली स्वदेश फर्किनुपर्ने अवस्थाको सिर्जना भयो भने हामीले उनीहरूलाई काम दिन सक्नुपर्छ । विदेशमा १२ घण्टा कठिन परिस्थितिमा चिसोतातोमा काम गर्दथे । यहाँ त प्रकृतिपद्धत्त वातावरणमा घरपरिवारसँग बसेर काम गर्ने वातावरण सरकारले बनाउनुपर्छ । नेपालमा नहुने र नफल्ने कुरा केही छैन । विदेशीले फापर खोज्न थालेको बेला हामीले त्यसको उत्पादन बन्द गर्‍यांै । आज जति धनी भएपनि मानिसहरू त्रसित छन् । छिटो धनी हुने भन्दापनि लामो समयको सोचाइ राख्नुपर्‍यो । 

पढ्नुहोस्, यो पनि :

चीनले नेपाललाई रणनीतिक साझेदार बनाउने भन्ने कुराले शंका जन्मायो: दीपकुमार उपाध्याय [कुराकानी]

नेपाल र नेपालीको बारेमा चिन्तन गरौं । सरकारले गरेन भने हामीले भएपनि गरौं । कोरोना संकट समाधान भएपछि हामी आत्मनिर्भर बन्ने बाटोमा लाग्नैपर्छ । यस्ता महाविपत्तिले हाम्रोजस्ता देशलाई आगामी दिनमा कसरी आत्मनिर्भर हुनुपर्दो रहेछ भनेर पाठ पनि सिकाउने गर्छन् । हामीले यो विपत्तिबाट यस्तो पाठ सिकेर सोही अनुरूप अघि बढ्न सक्छौं । 

(पूर्वमन्त्री, भारतका लागि नेपाली पूर्व राजदूत एवं नेपाली कांग्रेसका नेता उपाध्यायले लोकान्तर डट्कमकर्मी विमल गौतम र सुशील पन्तसँग आइतवार आफ्नै निवासमा गरेको कुराकानीमा आधारित)

विमल गौतम/सुशील पन्त
विमल गौतम/सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्