भारतमा कोरोनाको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनले गरीब परिवारलाई निकै मुश्किलमा पारेको छ ।
यसै क्रममा उत्तर प्रदेशको जौनपुरमा काम गर्ने एक मजदूर परिवार पैदलै हिँडेर बिहारको छपरा आएका छन् ।
छपरामा बस्ने राजकुमार आफ्नी पत्नी र चार वर्षकी छोरीका साथ दुःखकष्ट सहँदै घर आए । उत्तर प्रदेशको जौनपुरबाट ३०० किलोमिटर हिँडेर उनीहरू छपरा आएका हुन् ।
लकडाउन लागेपछि जौनपुरमा अड्किएका उनीहरूले काम गर्न नपाएपछि घर जाने निर्णय लिए । शनिवार बिहान जौनपुर हिँडेका उनीहरू लगातार हिँडिरहेर आइतवार अबेर राति छपरा पुगे ।
राजकुमार र उनकी पत्नीले बाटोमा भेटिएका मानिसबाट सहायता पाएको बताए । मानवीयताको उदाहरण प्रस्तुत गर्दै मानिसहरूले कतै खाना खान दिएको अनि कतै गाडीको प्रबन्ध मिलाइदिएको बताए ।
बाटोमा भेटिएका प्रहरीले पनि सहायता गरेको र खाना खुवाएको राजकुमार बताउँछन् ।
घर पुगेर प्रहरी तथा सर्वसाधारणको मानवीयताको कुरा गर्दागर्दै राजकुमार रोए । मानवीयताकै कारण आफ्नो परिवार सुरक्षित घर आइपुगेको उनको भनाइ छ ।