
भारतको कलकत्तास्थित नेपाली महावाणिज्यदूतको रूपमा कार्यरत रहेकै बेला नेपाल सरकारको सचिवमा बढुवा भएका एकनारायण अर्यालले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतिको पदभार ग्रहण गरेका छन् ।
सोमवार काठमाडौँ महानगरपालिकामा आयोजित एक कार्यक्रममा अर्यालले पदभार ग्रहण गर्दै आफूले जोखिमयुक्त समयमा यो जिम्मेवारी लिएको बताए ।
‘हालको जोखिमयुक्त समयमा महानगरवासी लगायत सबै नागरिकले संयमित र अनुशासित भई कोरोना भाइरसको सम्भावित जोखिम सँग लड्नु पर्छ,’ पदभारका क्रममा अर्यालले भने ।
उनले नगरवासीले भोग्नुपरेका समस्याहरू समाधान गर्न आफू पछि नहट्ने प्रतिबद्धसमेत व्यक्त गरे ।
अर्याल एक महिनाअघि नै बढुवा भएर महानगरमा पदस्थापन भएपनि कलकत्ताबाट आएपछि क्वारेन्टाइनमा बस्नुपरेका कारण केही दिन ढिलो पदभार ग्रहण गरेका हुन् । उनले कलकत्तामा रहँदा नेपाल-भारतबीचको पारवाहन सम्बन्धमा सुधार ल्याएका थिए ।
कुशल र क्षमतावान प्रशासकको छबी बनाएका अर्याल काठमाडौँको पूर्व प्रमुख जिल्ला अधिकारीसमेत हुन् । उनले गृहमन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, वन मन्त्रालय लगायतका जिम्मेवारीहरू पूरा गरिसकेका छन् ।
