परीक्षण नै नगरी कोरोना भनिदिएपछि...

बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएका श्रीमानको शव १० दिनदेखि कुरिरहेकी रीता थापा क्षेत्रीको व्यथा उनकै शब्दमा :

मेरो घर पाल्पाको रिब्दीकोट गाउँपालिका-५, कुसुमखोला हो। ३४ वर्षका मेरा श्रीमान् बाबुराम थापाको बुटवलस्थित कोरोना अस्पतालको छाप्रोमा मृत्यु भएको आज १० दिन पुग्यो। उहाँको शव अस्पतालको डिप फ्रिजमै छ। 


Advertisement

म यतिखेर विलचित छु। मनमा अनेक कुरा खेलिरहेका छन्। एकातिर लाग्छ– मृत्यु भइसकेका मानिसको शवलाई फ्रिजमा राख्नु हुँदैन, लगेर दाहसंस्कार गरिहाल्नुपर्छ। अर्को मनले भन्छ– हुँदैन, अस्पतालको लापरबाहीले भएको मृत्युबारे प्रश्न उठाउनैपर्छ। उहाँ र हामीमाथि भएको अन्यायलाई यत्तिकै खरानी बनाउन हुँदैन।

पाँच वर्षदेखि मेरो श्रीमान् दुबईमा ट्याक्सी चलाउने काम गरिरहनुभएको थियो। चैत ६ गते दुबईबाट काठमाडौं फर्कनुभयो। ७ गते सैनामैना आइपुग्नुभयो। घर आइपुग्दा ज्वरो आइरहेको थियो। मैले 'ज्वरो रहेछ नि' भनेर सोध्दा काठमाडौं विमानस्थल आइपुग्दा नै ज्वरो आइसकेको बताउनुभयो। शरीरको तापक्रम नाप्दा ज्वरो देखिएपछि प्रहरीले आधा घन्टा त्यहीँ राखेछन्। पछि 'जहाजको चिसोले होला, घरमा गएर आराम गर्नुस्, बाहिर नहिँड्नुहोला' भनेर छाडेका रहेछन्।


Advertisement

घर आएर पनि उहाँ छुट्टै बस्नुभयो। ज्वरो ठीक भएन। मुख तितो भयो भनेर खाना पनि राम्रोसँग खानुभएन। दुई दिनसम्म मुर्गिया अस्पतालमा चेक गराउन गयौं। टाइफाइड देखियो। औषधि खानुभयो। तैपनि निको भएन।

उहाँ 'ज्यान गलेको छ' भन्नुहुन्थ्यो। 'खाना नखाएर हो' भन्दै जबरजस्ती खुवाएकी थिएँ। ज्वरो नरोकिएपछि उहाँ आफै ढुक्क हुनुभएन। मेरो पनि मनले मानेन। 'बुटवल जान्छु' भन्न थाल्नुभयो।

घर आएको एक सातापछि चैत १३ गते बुटवल जानुभयो। घरबाट जाँदा ठीकठाक हुनुहुन्थ्यो। 'म पनि जान्छु' भनेँ। 'त्यहाँ गएर पनि तिमीलाई सँगै बस्न दिँदैनन्' भन्नुभयो। एक्लै अटो रिक्सा चढेर जानुभएको हो। त्यहाँ अञ्चल अस्पताल (अहिले लुम्बिनी प्रादेशिक अस्पताल) मा ज्वरो चेक गराउनुभएछ।

ज्वरो देखेपछि डाक्टरले कोरोना हो कि भनेर कोरोनाको अस्थायी अस्पताल पठाएका हुन् रे। त्यहाँ गएपछि सुरुमा ठीक भएको छ भन्नुभएको थियो। फोनमा कुरा भइरहेकाले म पनि गइनँ। १४ र १५ गतेसम्म 'यहाँ अरु पनि बिरामी छन्, पिर मान्नु पर्दैन म ठीक हुँदै छु' भन्नुभएको थियो। १५ गते शनिबार राति ९ बजे भिडियो कलमा कुरा गरेका थियौं। त्यति बेला पनि 'ठीक हुँदै छ, नआत्तिनु। बाबुहरुलाई खाना खान देऊ, तिमी पनि खाएर सुत' भन्नुभयो।

भोलिपल्ट आइतबार मैले ८ बजेतिर फोन गरेँ। धेरैपटक फोन गर्दा पनि उठेन। मन आत्तियो। पाल्पाबाट आमाले पनि फोन गर्नुभएको रहेछ। फोन उठेन भनेर मलाई पनि गर्नुभयो। मैले अन्तै फोन गरेर बुझ्न लगाएँ। उताबाट 'मोबाइलमा चार्ज सकिएर हो, पछि कुरा गर्नुहुन्छ' भनियो। पछि ९ बजेतिर मात्र उहाँको फोन उठ्यो। बोल्न सक्नुभएको थिएन। दुईपटक 'अहं…अहं…' मात्र भन्नुभयो। त्यसपछि म आत्तिएँ।

गाडी बन्द थिए। पुग्न ढिला भयो। १० बजेतिर अस्पतालबाट फोन आयो। 'बिरामीलाई गाह्रो भयो, अक्सिजन दिएका छौं। काठमाडौं लैजानुपर्ने भयो। अरु दुई-तीन जना मान्छे लिएर आउनु' भनियो। म साढे ११ बजेतिर अस्पताल पुगेँ। अक्सिजन लगाएको भनेपछि निकै डराएकी थिएँ। अस्पताल पुगेर भेट्छु र बोलाउँछु भनेँ तर भित्र जान दिइएन।

डाक्टरले 'अहिले हेर्न मिल्दैन, कोरोना लागेको छ। के कसरी उपचार गर्ने हामी सल्लाह गर्दै छौं' भन्नुभयो। म बाहिर कुरिरहेकी थिएँ। एक्कासि १ बजेतिर खबर आयो, 'तपाईंको मान्छेलाई बचाउन सकिएन…।'

मलाई त के गरुँ, कसो गरुँ भयो। 'बोली सुन्न नपाए पनि एकपटक मुख त हेर्छु' भन्दा 'अहिले हेर्न, छुन केही गर्न मिल्दैन' भनियो। त्यतिबेलासम्म मलाई कसैले पनि उहाँलाई कोरोना लागेको छ भनेको थिएन। यदि कोरोना नै लागेको भए भर्ना भएको चार दिन (१३ देखि १६ गते) सम्म किन रिपोर्ट दिइएन भनेर मैले सोधेँ। तर, कसैले जवाफ दिएनन्।

उहाँ बितिसकेपछि बल्ल १६ गते स्वाब निकालेर काठमान्डु पठाइएको रहेछ। यो त अस्पताल र डाक्टरको ठूलो लापरबाही हो। उपचार राम्रोसँग नगरेरै उहाँको ज्यान गयो। शनिबार राति मसँग कुरा गरेपछि नै उहाँलाई गाह्रो भएको रहेछ। तर, कसैले हेरेनन्। परीक्षण नै नगरी डाक्टरले कोरोना लागेको भनिदिए। कोरोना भनेपछि कोही अघि सरेनन्।

बिहान मैले फोन गरेको गर्‍यै गरेर मान्छे पठाएपछि बल्ल हेर्न गएका रहेछन्। खाना पनि ढोकामा राख्दिन्थे रे। खायो खाएन, कुनै वास्ता नै थिएन। बिरामीलाई कुकुरलाई जस्तै व्यवहार गरियो। उपचार गर्न आफैं हिँडेर गएको मान्छे, अस्पताल गएपछि झन् यो हाल होला भन्ने मैले कल्पना नै गरेकी थिइनँ।

पछि उहाँको रिपोर्ट आयो। रिपोर्टमा कोरोना देखिएन भनेका छन्। त्यसो हो भने के कारणले मृत्यु भयो भनेर मैले कारण खोजेकी छु। उहाँलाई अरु कुनै रोग थिएन। कुनै औषधि खाइरहनुभएको थिएन। मलाई अहिलेसम्म कारण दिएका छैनन्।

हामी सामान्य मान्छे हौं। डेरामा बसेका छौं। दुई छोरा छन्, सात र आठ वर्षका। उनीहरुलाई पढाउन म तीन वर्षदेखि रुपन्देहीको सैनामैनामा बस्दै आएकी छु। मेरो उमेर २७ वर्ष भयो। कमाउने उहाँ मात्र हो। छोराको बोर्डिङको फि पनि तिरेको छैन। थोरै जग्गा किनेको ऋण छ। मैले अब उनीहरुलाई कसरी पाल्नु, ऋण कसरी तिर्नु? सोच्न सकिरहेकी छैन।

उहाँ बितेको दिनदेखि कोरोनाले मरेको भनेर हल्ला फैलियो। म अस्पतालबाहिरको चौरमा राति १० बजेसम्म एक्लै रोएँ। एक्लै पल्टिएँ।कोही भेट्न र सान्त्वना दिन पनि आएनन्। राति बल्ल अस्पतालले नै एम्बुलेन्स खोजेर डेरामा ल्याइदियो। त्यसपछि पनि भेट्न आउने कोही छैनन्। आज १० दिन भयो। सद्‌गत गर्न पाइएको छैन। सरकारका मान्छेले पनि अहिलेसम्म लास लिन आइज भन्नेबाहेक केही भनेका छैनन्।

उहाँलाई कोरोना लागेको भनेर हल्ला भएपछि डराएर कोही पनि आएनन्।

घरमा ससुरा हुनुहुन्न। जेठाजु पनि बित्नुभयो। मद्रासबाट आउनुभएका अर्का जेठाजुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखेर तीन दिनअघि छोडिएको छ। छोडेपछि उहाँ आएर कुरा गर्नुभएको छ। मेरो दाइ पनि हुनुहुन्छ।

मेरो आग्रह छ– अरु जे भए पनि लास उठाएर अन्त्येष्टि गर्न पाइयोस्। र, यी छोराका लागि भोलि भोक लाग्यो भन्दा के खान दिने हो? त्यति व्यवस्था गरिदिए हुन्थ्यो। अहिलेसम्म अन्य कुनै औषधि नखाएको र रोग पनि नभएको मान्छेको मृत्यु के कारणले भयो। त्यो पनि पत्ता लगाइदिनुहोस्।

रिपोर्टमा कोरोना नदेखिएपछि उहाँको मृत्यु अस्पतालको लापरबाहीले नै भएको भन्ने प्रमाणित भयो। त्यसैले अब क्षतिपूर्तिको कुरा नगरी लास नउठाउने भन्ने कुरा गर्नुभएको छ। म दाइ र जेठाजुले जे भन्नुहुन्छ त्यही मान्छु।

याे खबर कान्तिपुर दैनिकबाट लिइएको हो । 

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्