केन्द्रीय पशु प्रयोगशालाको उपकरण  धनगढीमा

कैलालीको धनगढीमा केन्द्रीय पशु प्रयोगशालाको उपकरण  बुधबार धनगढी पुगेको छ ।

कोरोना भाइरसको परीक्षणमा तीव्रता दिन पिसिआर नेपाली सेनाको स्काइ ट्रकमा धनगढी पुगेको हो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको उपकरणले मात्रै परीक्षण धान्न नसक्ने भएपछि सो उपकरण धनगढी पठाइएको जनाइएको छ । 


Advertisement

    गत मङ्गलबार सङ्घीय सरकारले चीनबाट ल्याएर पठाएको पिसीआर उपकरणले दैनिक आठ जनाको मात्रै परीक्षण गर्ने गरेको छ । पशु प्रयोगशालाको उपकरणले एक पटकमा ९६ वटा परीक्षण गर्न सकिने जनाइएको छ । सो उपकरणमा ९६ स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने बताउँदै पशु चिकित्सक डा नरेश जोशीले दिनमा दुई पटक मात्रै परीक्षण गरियो भने पनि १९२ को हाराहारीमा स्वाब परीक्षण गर्न सकिने बताए ।

    सो उपकरण धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण प्रयोगशालामा केही दिनभित्रै जडान गरी सञ्चालनमा ल्याइने डा जोशीको भनाइ छ । उपकरण सञ्चालन गर्न अझै विभिन्नखालका झण्डै एक दर्जन थप उपकरण आवश्यक पर्ने जनाइएको छ । 


Advertisement

    ती सामाग्री केही धनगढी र केही काठमाडौँबाट जुटाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राससलाई जानकारी दिनुभयो । सुदूरपश्चिममा चार जनामा कोरोना सङ्क्रमण भएको देखिएपछि धेरैभन्दा धेरैको स्वाब परीक्षण गर्नुपर्ने माग उठ्न थालेपछि सो उपकरण ल्याइएको उनको भनाइ छ ।

    पशुपन्छी विभागका महानिर्देशक डा। वंशी शर्मा र सेती प्रादेशिक अस्पतालका प्राविधिक सुनिलप्रसाद लेखकबीच भएको छलफलमा सो उपकरण धनगढीमा ल्याएर प्रयोगमा ल्याउन सकिने निश्कर्षपछि उपकरण ल्याइएको हो । 
 

कमेन्ट गर्नुहोस्