कोरोनाको विश्वव्यापी महामारी : यसबाट बच्न र बचाउन यी हुन् सरकार र नागरिकका मुख्य दायित्व

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको सम्भावनाका बारेमा विश्लेषण गर्नुपूर्व यसका बारेमा चलेका हल्लाहरू र यथार्थको विश्लेषण संक्षिप्तमा गर्नु जरूरी छ । 

‘कोभिड– १९ मानिसले नै सिर्जना गरेर विश्वभर फैलाएको हो । चीनको वुहानमा डिसेम्बर २०१९ मा यसले संक्रमण गर्दा लामो समयसम्म स्थानीय तहको सरकारले केन्द्रलाई नै सूचना दिएन, जब स्थिति नियन्त्रणभन्दा बाहिर जान लाग्यो अनि मात्र बेइजिङले थाहा पायो । केन्द्र सरकारले पनि अन्य देशहरूलाई यसको सूचना प्रवाह गरेन, आफैं बच्ने उपायमा व्यस्त रह्यो । आफ्ना नागरिकहरूलाई अन्यत्र आवतजावत गर्न प्रतिबन्ध लगाएन अथवा अन्य देशहरूमा यो संकट प्रवाह गराउन उद्यत रह्यो । कोरोनाभाइरस आफैंमा कुनै जीव होइन, यो प्रोटिनयुक्त अणु मात्र हो । आयातित सामानहरूबाट यो रोग सहजै सर्दछ, तसर्थ आयातित विदेशी सामानहरू प्रयोग गर्नुहुँदैन । चीनले आफैंले यो भाइरस उत्पादन गरी यसको औषधि समेत पहिले नै तयार पारी वुहानमा फैलाएर केही समयपछि नियन्त्रणमा लिई यो संक्रमण विश्वभर पठाएको हो । यस रोगको उपचार हालका दिनसम्म पत्ता लगाउन सकिएको छैन, त्यसैले यसबाट संक्रमित हुनु भनेको मृत्युवरण गर्नु हो,’आदि प्रकारका अनुमानका आधारमा यस्तो संवेदनशील विषयमा सूचना प्रवाह गरेर मानिसहरूले सन्तुष्टि लिइराखेका छन् ।


Advertisement

विश्व अर्थतन्त्रमा ठूलो मन्दी आई अर्थतन्त्र नै धरासायी हुने स्थिति छ भनेर मोहल्लाहरूमा छलफल गर्नेदेखि प्राज्ञिक अभ्यास समेत प्रसस्त भइराखेको छ । हामी नेपालमा यी विषयहरूका साथै अर्को प्रचार पनि गर्दै हिँडेको अवस्था छ, त्यो हो नेपालीहरूको रोगसँग लड्न सक्ने क्षमता अत्यन्त ज्यादा छ । यसका लागि नेपालीहरूको भौगोलिक अवस्थिति, जीवनशैली, रहनसहन सबै अन्य देशका नागरिकहरूको भन्दा बढी स्वास्थ्यवर्द्धक छ । यो प्राकृतिक वरदानले गर्दा हामी नेपालीहरू यो संक्रमणबाट सहजै उन्मुक्ति प्राप्त गर्न सक्ने तर्कहरू प्राज्ञ वर्गबाटै आइराखेको छ, तर विश्वभर शक्तिशाली देखिएका देशहरू नै यो रोगका अगाडि आत्मसमर्पण गर्न बाध्य हुँदै गएका छन्, किम कर्तव्य बिमूढ छन् । संक्षेपमा भन्नु पर्दा आधुनिक जगत कोरोनामय भएको छ । आज विश्वका प्रायः सबै मानव जाति आ–आफ्नो भौतिक रक्षाका लागि बन्दी जीवनको तीतो अनुभव गर्न बाध्य छन् । यसबाट मुक्ति पाउने उपाय अथवा प्रभावकारी उपचार पद्दति हालसम्म पहिचान हुन सकेको छैन । यी बजारमा आएका तर्क वितर्कहरूका बारेमा अल्मलिने भन्दा आजको आवश्यकता भनेको यो रोगबाट बच्ने उपाय खोज्नु हो, अरू विषय अहिलेको अवस्थामा गौण हुन् । तसर्थ यो संक्रमणबाट बाँच्नु नै सर्वाधिक महत्त्वको विषय हो ।

विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको यो संक्रमणबाट नेपाल पनि अछुतो रहेन । लकडाउन यथासमयमा गरेकाले यसबाट धेरै ठूलो नोक्सानी हुन नपाएको हो । तर हाम्रो तयारीका विषयमा चिन्तन गर्दा धेरै प्रकारले हामी जोखिममा रेहको स्थिति छ । सबैभन्दा ठूलो समस्या खुला सिमानाको हो । दैनिक ठूलो संख्यामा गैरनेपालीहरू पनि खुला सिमानाको फाइदा उठाई नेपाललाई सुरक्षित क्षेत्रको हिसाबले लिई प्रवेश गरिराखेको सूचना आइराखेको छ । यसलाई नियन्त्रण गर्न छिमेकी देश भारतले राम्ररी सहयोग गरिराखेको छ, यस अवस्थामा मेचीदेखि महाकालीका सम्पूर्ण सीमा क्षेत्र सील गर्न दुवै देशका जनशक्तिको आपसी समन्वयद्वारा पूरै समय पहरा दिनुपर्दछ ।


Advertisement

देशभर लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहहरूको परिचालन हुनु जरुरी छ । बन्द अवधिमा दैनिक उपभोगका सामानहरू घर दैलामा पुर्‍याउने, विपन्न वर्गको पहिचान गरेर उनीहरूलाई सबै प्रकारका सुविधाहरू उपलब्ध गराउने, लकडाउनलाई अत्यन्त कडा अनुशासनभित्र राख्न सहयोग पुर्‍याउने, संक्रमितहरूको बारेमा आवश्यक कामकारवाही गर्ने सवालमा यी तहका सरकारहरू सबैभन्दा प्रभावी हुनेछन् । लकडाउनलाई कडाई गर्दा उत्तरकोरियाले यस प्रकोपबाट पूर्णरूपमा बच्न सकेको दाबी गरिराखेको छ । चीनमा सेना र प्रहरी परिचालन गरेर कडाई गर्दा अल्पअवधिमा सुधार गर्न सकेको छ, इटाली, संयुक्त राज्य अमेरिका जस्ता देशहरूले चीनको आलोचना गर्दै यसलाई प्रारम्भका दिनहरूमा महत्त्व नदिँदा आजको बिकराल अवस्थाको सामना गर्नु परिराखेको छ । यस अर्थमा पनि यसको विकल्पको बारेमा सोच्ने अवस्था नेपालमा निरपेक्ष रूपमा देखिँदैन । 

संक्रमण फैलिँदै गएमा नेपालको स्थिति नियन्त्रणभन्दा बाहिर पुग्नेछ । यसको उपचार हाम्रो क्षमताभन्दा बाहिर देखिँदैछ । विकसित देशहरू समेत यसलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा छन् र बिचलित छन् ।

सरकारका सामु अर्को चुनौती पनि देखिएको छ, अन्य देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काउन यातायात खर्च समेत उपलब्ध गराएका छन् । नेपालबाट नेपालीमूलका आफ्ना नागरिक समेतलाई विशेष विमान पठाएर आफ्नै देशमा सुरक्षित राखेका अवस्थाबाट हामी अनविज्ञ छैनौं । तर हामी सिमानामा आएर बसेका आफ्नै नागरिकहरूलाई देश प्रवेश गर्न रोक लगाइराखेका छौं । बिस्तारै यी नेपालीहरू नेपाल छिर्दै छन्, सरकारलाई उनीहरूको अवस्था समेत पत्ता लगाउन कठिन बन्दै छ । विभिन्न देशमा रहेर काम गरी जीविका गर्ने र विद्यार्थीहरूप्रति ती देशहरूले कुनै जवाफदेहिता लिएका छैनन्, अलपत्र परी खान बस्नको समस्या देखिने अवस्थाबाट गुज्रिराखेका छन् । यी आफ्ना नागरिकहरूको जवाफदेहिता लिने काम सरकारकै हो, देशभित्र यी सबै नेपालीलाई स्वागत गरी कडारूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्दछ, अन्यथा सरकारका लागि यो महंगो पर्न सक्दछ । 

सबैतिर स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन गर्ने काम धेरै कठिन देखिँदैछ । यस सम्बन्धमा घटेका केही प्रतिनिधि घटनाहरूको उल्लेख गर्नु सान्दर्भिक हुनेछ । नयाँ दिल्लीमा साउदी अरबबाट आएकी एक महिलाको उपचार आफ्नो क्लिनिकमा डाक्टर झाले गरेछन्, ती महिलाबाट डाक्टरले आफू संक्रमित भई आफ्ना परिवारका सबै सदस्यहरूलाई संक्रमित बनाई उनको परिवारसँग सम्पर्कमा आएका धेरै मानिसहरूलाई यो भाइरसले संक्रमित गरेछ । यसबाट संक्रमित भएकी एक महिला नर्सले जीवनसँग विरक्त भई अरूलाई समेत बचाउने उपाय आफैले संसार छाड्नु हो भन्ने निष्कर्षमा पुगी आत्महत्या गरिछन्, कोभिड– १९ को स्रोत शहर चीनको वुहानमा डाक्टरहरू बिरामी परेकाले अन्यत्र शहरबाट बयालिस हजार स्वास्थ्यकर्मी पठाई संक्रमितहरूको उपचार गर्नुपरेको रहेछ ।

नेपालमा संक्रमणको त्रासले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई घरबेटीहरूले निकाल्ने काम गर्दै गएको गुनासाहरू स्वास्थ्यकर्मीहरू गरिराखेका छन् । व्यक्तिगत सुरक्षा सामग्रीहरू उपलब्ध नहुँदा रेनकोट लगाएर काम गर्न स्वास्थ्यकर्मीहरू बाध्य भइराखेका छन् । निजी अस्पतालका चिकित्सकहरू लगायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई सरकारले यो आपतकालीन अवस्थामा प्रयोग गर्न सकेको छैन ।

डाक्टरहरूले ध्यान दिएर संक्रमितहरूको राम्ररी उपचार नगर्ने मात्र होइन उनीहरू कोरोना भाइरसको सामान्य लक्षण देखिएका बिरामीहरूलाई समेत उपचार गर्न तयार नभएको भनेर आलोचना भइराखेको छ । आपतकालीन समयमा राष्ट्रलाई सहयोग गर्नुपर्ने दायित्वबाट स्वयं चिकित्सकहरू पलायन भइराखेका छन् । यो अवस्था नेपालको मात्र होइन, बिरामीको सम्पर्कमा आउने पेशाकर्मी डाक्टर नै भएकाले उनीहरूलाई संक्रमणको सम्भावना प्रबल हुने र अरूलाई पनि सर्ने सम्भावना भएकाले चिकित्सकको स्वास्थ्यको ख्याल गर्दै अन्य स्वस्थ व्यक्तिहरूको सम्पर्कबाट उनीहरूलाई अलग राख्नु पर्ने सोचाई केही देशहरूमा राख्न थालिएको छ । उदाहरणका रूपमा कोलम्बिया विश्व विद्यालयले अस्पतालमा कार्यरत डाक्टरहरूलाई अस्पतालमै खाने बस्ने सम्पूर्ण व्यवस्था गरिराखेको छ, यसबाट सम्पन्न र विकशित देशहरूमा समेत डाक्टरहरू लगायतका स्वस्थ्यकर्मी कति असुरक्षित छन् भन्ने कुरा स्पष्ट भएको छ । अब यो अवस्थामा संक्रमण बढ्दै गयो भने नेपालको अवस्था र यहाँका स्वास्थ्यकर्मीहरूबाट पाउने उपचारका बारेमा हामी आफैं कल्पना गरौं । अवस्था गम्भीर देखिन्छ । 

नेपालमा दोस्रो संक्रमण देखिनेबित्तिकै सरकारले सतर्कता अपनायो । सबैलाई घरभित्रै रहन अनुरोध गर्दै र विदेशबाट आएकाहरूलाई परीक्षण शुरू गरेर स्वागतयोग्य कार्य गरेको छ । तर हामीसँग व्यक्तिगत सुरक्षाका सामानहरू पर्याप्त छैनन् । परीक्षण उपकरणहरू गुणस्तरीय र पर्याप्त छैनन् । सामग्री पठाएका स्थानमा चिकित्सक पुर्‍याउन सकिएको छैन । समाज आवश्यकता भन्दा ज्यादा स्वतन्त्र र छाडा छ, त्यसैले भौतिक दूरी कायम गर्ने, लकडाउनमै आफूलाई सीमित राख्ने, कार्यमा प्रभावकारिता देख्न सकिएको छैन । काठमाडौकै भित्री सडकहरू अवलोकन गर्ने हो भने अप्ठ्यारो अवस्था देखिन्छ । यो अवस्थामा यस महामारीबाट बच्ने र बचाउने विषय जोखिमयुक्त बन्दैछ । 

सरकारको क्षमता, कार्यशैली, संकटको अवस्थामा पनि देखिएको भ्रष्ट प्रवृत्ति, स्रोत साधनको अभाव, नागरिक कर्तव्यलाई गौण मान्ने नेपालीहरूको स्वभाव, पेशागत मर्यादाको पालना गर्न नसक्ने स्वास्थ्यकर्मीहरू (किनकि यस अवस्थामा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी सेवामा जुट्न सक्नुपर्ने अदम्य साहस र निष्ठा देखाउन सक्नु पर्दछ । यद्धमा होमिएका सैनिकहरू युद्धमा विजय प्राप्त गर्दा पनि सबै सकुशल ब्यारेक फर्किन सक्दैनन्, यो यथार्थलाई हाम्रा स्वास्थ्यकर्मीहरूले स्वीकार गरी कर्तव्यरत रहनु पर्दछ), न्यूनतम उपकरण लगायतका सुविधाहरू समेत उपलब्ध गराउन नसक्ने सरकार हामीले देखिराखेको स्थिति हो ।

यस अवस्थामा यदि नेपालमा संयुक्त राज्य अमेरिका, इटाली, स्पेन आदि देशको जस्तै संक्रमण फैलियो भने हाम्रो यो व्यवस्थापनले हामी नेपालीहरूको जीवन रक्षा हुन सक्ने अवस्था छैन । यो अवस्थामा हामी नेपालीहरूसँग भएको सर्वोत्तम विकल्प भनेको फेरि पनि पूर्ण अनुशासित र मर्यादित तबरले आफूलाई घरमै सुरक्षित राख्नु हो । घरमा सुरक्षित राख्ने विषय पनि सहज देखिएन । औषधि लगायतका समानहरू बजारमा पाउन छाडेका छन् । घर–घरमा खाद्यान्न लगायत उपभोग गर्ने सामानहरूको सञ्चय घट्दै छ, लकडाउन कहिले समाप्त हुन्छ भन्न सक्ने अवस्था छैन, यी सबै व्यवस्था मिलाइदिने दायित्व फेरि पनि सरकारकै हो । सरकार आफ्नो दायित्वबाट पछि हटेको त छैन तर प्रभवकारी पनि देखिएको छैन । उल्लिखित सबै चुनौतीहरूको मनन गरी यसको समाधानमा पुग्न सरकार विशेष गम्भीर हुनुपर्दछ र नागरिकहरूले सरकारलाई यो आपतकालीन अवस्थामा सहयोग गरी नागरिक कर्तव्यको निर्वाह गरी सबै सुरक्षित रहने महान उद्देश्य प्राप्तिमा योगदान गर्नुपर्दछ ।

संक्रमण फैलिँदै गएमा नेपालको स्थिति नियन्त्रणभन्दा बाहिर पुग्नेछ । यसको उपचार हाम्रो क्षमताभन्दा बाहिर देखिँदैछ । विकसित देशहरू समेत यसलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा छन् र बिचलित छन् । जर्मनीको हेसें राज्यका अर्थमन्त्री जो संक्रमित समेत थिए उनले आफू र आफ्ना नागरिकहरूको भौतिक रक्षा गर्न नसक्ने निष्कर्षमा पुगी चलिराखेको रेलबाट हामफालेर आत्महत्या समेत गरेका छन् । जर्मनीका मन्त्रीको अवस्थाबाट हामीले आफ्नो स्थितिको अनुमान गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं । बाँचौं र बचाऔं । यो नै आजको अत्यधिक प्राथमिकताको विषय हो ।

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्