मुख्यमन्त्री गुरुङ जिल्ला भ्रमणमा

file photo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ चैतको प्रचण्ड गर्मी र कोरोना सङ्क्रमणको सन्त्रासबीच पनि जिल्ला दौडाहामा व्यस्त भएका छन् ।

गण्डकी प्रदेशमा पनि कोरोनाबाट सङ्क्रमित दुई जना बिरामी भेटिएपछि उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न र जनतालाई कोरोनाविरुद्धको अभियानमा उच्च मनोबलका साथ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले मुख्यमन्त्री गुरुङ जिल्ला जिल्लामा पुगेका हुन् ।


Advertisement

शुक्रबार बिहान बागलुङको धौलागिरि अञ्चल अस्पतालमा आएर कोरोना भाइरस सङ्क्रमित दुई बिरामीको उपचार र अस्पतालको सेवाका बारेमा जानकारी लिनुभएका मुख्यमन्त्री गुरुङ दिउँसो २ः३० बजे म्याग्दीको सदरमुकाम बेनीमा आए ।

मुख्यमन्त्रीसहित मुख्यसचिव हरिप्रसाद बस्याल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार गोविन्द नेपालीलगायतको टोली जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, सुरक्षा निकायका अधिकारी, सङ्घीय तथा प्रदेश सांसदलगायतसँग कोरोना भाइरस (कोभिड–१९)को सतर्कताका बारेमा जिल्लाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिए ।


Advertisement

मुख्यमन्त्री गुरुङले यस्तो सङ्कटको बेलामा सबै मिलेर असहज परिस्थितिसँग मुकाबिला गर्न सरोकारवालालाई निर्देशन दिँदै प्रदेश सरकारले स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीको कमी हुन नदिने प्रतिबद्धता जनाए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले म्याग्दीका विभिन्न विकास आयोजनामा कार्यरत मजदूरको अवस्था, उनीहरुको व्यवस्थापन र लकडाउनको पछिल्लो अवस्थाको बारेमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

त्यसैगरी नेकपाका हरिकृष्ण श्रेष्ठले लकडाउनका कारण प्रभावित भएका श्रमिक र गरीब परिवारलाई वितरण गरिने राहतको स्थानीय तह र प्रदेश सरकारबीच समन्वय नहुँदा राहत वितरणको मापदण्डका बारेमा प्रश्न उठेका भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्