समाजवादी राज्य बनाउन कृषिको बिस्तार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल

फाइल तस्वीर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग गरेको छलफलमा नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण हाल न्यून भएकाले कृषि मात्र विकल्प भएको बताएका हुन् ।


Advertisement

नेता पौडेलले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गरी अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताउँदै कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरी कृषिमा विचौलियाको राज अन्त्य गर्न जरुरी भएको उल्लेख गरे ।

उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गरे ।


Advertisement

नेता पौडेलले किसानको उत्पादन नष्ट हुन नदिन र बजारको अभावलाई अन्त्य गर्न लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे ।

साथै नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्