पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
बैशाख १, २०७७
नयाँ वर्ष २०७७ सालको पहिलो दिन सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशको आर्थिक प्रगति कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण ठप्प भएको टिप्पणी गरे ।
उनले सरकारले कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि पहल गरिरहेका कारण अहिलेसम्म नेपालमा कसैको मृत्यु नभएको समेत बताए । यसलाई संयोग वा आफसेआफ भएको नसोच्न जनतालाई आग्रह गरे ।
‘हामी भएका राम्रा कामहरू आफसेआफ वा संयोगले मात्रै भएका हुन् भन्ने पनि नसोचौं । यतिसम्म पनि नभनौं, सीमित कमी कमजोरी र हुन बाँकी कामहरू भने सरकारको अकर्मण्यताका परिणाम हुन्,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ।
प्रधानमन्त्रीले कोभिड– १९ का कारण यतिबेला विकास निर्माणका कामहरू ठप्प भएको, देश नै लक-डाउनमा रहेको, भ्रमण वर्ष २०२० स्थगित भएको, सगरमाथा संवाद स्थगित भएको जस्ता तथ्यहरू पेश त गरे तर विश्वमै कोभिड- १९ को महामारीको शुरूवात भएको माघपछि मात्र हो । नेपाल चैत १० गतेपछि मात्र ठप्प भएको थियो । वर्षको अन्तिममा आएको कोरोनासँग जोडेर सिंगो वर्षलाई दोष दिनु न्यायसंगत कुरा होइन ।
प्रधानमन्त्रीको सम्बोधनले केही नकारात्मक पाटोहरू पनि उजागर गरेको छ । उनले आवश्यक पर्दा ‘हुनेको गाँस काटेर, नहुनेलाई बचाउने’ नेपालीको परम्परा रहेको स्मरण गरे ।
जनतालाई धेरै भावुक हुन नहुने सुझाव दिने सरकारका प्रधानमन्त्री ओली २ वर्षदेखि देशको प्रमुख कार्यकारी पदमा छन् । प्रधानमन्त्रीको सम्बोधनमा जनताले भावनै-भावना प्रस्फुटित भएको अनुभव गरे ।
हुनेले नहुनेलाई दिने नेपाली परम्परा स्मरण गरिरहँदा ओलीले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको ‘दुई वर्षभित्र सबैलाई खाद्य र पोषण सुरक्षाको प्रत्याभूति गरिनेछ,’ भन्ने वाक्यांश बिर्से ।
हुने र नहुनेको बीचमा खाडल अझै बाँकी रहेको उनको सम्बोधनले प्रस्ट पारेको छ ।
यतिबेला चलिरहेको कोभिड- १९ कोषमा रकम जम्मा गर्ने ‘फेसन’बाट पनि प्रधानमन्त्री अछुतो रहेनन् ।
कोभिड- १९ विरुद्ध लड्ने ‘कमाण्डर’ले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेर आफ्नो भूमिकाको दायरालाई सीमित बनाएका छन् ।
निश्चय नै यति ठूलो महामारीसँग लड्न ठूलो स्रोतको आवश्यक पर्छ, तर त्यो भन्दा पनि देशको प्रमुख कार्यकारीको भूमिका अझ वृहत् हुन्छ ।
वर्षभरि अकर्मण्यता,अन्तिममा कोरोनालाई दोष !
यतिबेला कतिपय राजनीतिक विश्लेषकहरूले वर्षभरि अकर्मण्यतामा बिताएको सरकारले वर्षको अन्तिममा देखिएको कोरोनालाई दोष दिन खोजेको टिप्पणी गरिरहेका छन् । वामपन्थी राजनीतिक विश्लेषक श्याम श्रेष्ठले आम नेपाली जनताका लागि यो २०७६ साल खेर गएको समय भनी टिप्पणी गरेका छन् ।
लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘राजनीतिमा खिचातानी हुनु सामान्य कुरा हो, त्यो भइरहन्छ । तर यहाँ त सरकार दिशाहीन भइदियो । गर्नुपर्ने काम एकातिर छ तर वास्तविक काम चाहिँ लोभ लालच केन्द्रित भयो । समय पनि थियो, बहुमत पनि थियो, तर पनि सबै आफ्नो स्वार्थकेन्द्रित बने ।’
श्रेष्ठले सरकार अहिले कामविहिनतामा फसेको टिप्पणी गरे । ‘कसरी खाउँ भन्नेतिर ध्यान छ,’ उनले भने, ‘२ वर्षमा कृषिमा आत्मनिर्भर बनाउने भन्ने घोषणापत्र थियो । खै अहिलेसम्म केही भएन । कमसेकम केही प्रतिशत त काम भएको हुनुपर्ने हो । अन्तिममा आएर कोरोनाका कारण हुन सकेन भन्न त पाइएन नि !’
उनले शिक्षा आयोगले परिवर्तनकारी सुझावसहितको प्रतिवेदन पेश गरेको तर सरकारले गायब बनाएको आरोप लगाए । ‘खै त्यो प्रतिवेदन ? काम गर्नमा ध्यान भएको भए त अहिले काम भइरहेको हुनुपर्ने हो नि !’ श्रेष्ठले भने, ‘५ वर्षमा देशको सबै ठाउँमा सिँचाइ पुर्याउने भनिएको थियो, त्यसको एकाध प्रतिशत पनि काम भएको देखिएको छैन । अढाई वर्ष त बितिसक्यो ।’
चैतदेखि कोभिड- १९ महामारीको असर शुरू भएको भएपनि फागुन महिनाभित्र बजेटको २५ प्रतिशत पनि खर्च गर्न नसकेको उनको आरोप छ । ‘अहिले त असार पर्खनु पर्दैन, साउनदेखि त ‘फुल फ्लेज्डमा बजेट कार्यान्वयन हुनुपर्ने हो,’ उनले भने, ‘पार्टीभित्रको खिचातानी एउटा कारण होला, तर सरकारले काम गर्नै चाहिरहेको छैन ।’
सत्ता र शक्तिको 'टोटल मिसयुज'!
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले यो सरकारले सत्ता र शक्तिको पूरै दुरुपयोग गरेको आरोप लगाए । लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, ‘यो सरकारसँग जनताले अपेक्षा गरेका थिए । लामो समयपछि जनताको भोटले बलियो सरकार बनेको थियो । तर २०७६ साललाई हेर्दा सरकारले जनताको अपेक्षा पूरा गर्न त सकेन, बरू सत्ता र शक्तिको पूरै दुरुपयोग गर्यो ।’
पोखरेलले कम्युनिस्ट पार्टीहरू तुलनात्मक रूपमा बढी संस्थागत हुने हुनाले पनि जनताले अलि बढी नै आशा गरेको बताए । ‘कम्युनिस्ट पार्टी अलि बढी संस्थागत हुन्छ भन्ने थियो, कार्यकर्ताहरूबाट उनीहरूले बढी काम लिन्छन् भन्ने मान्यता थियो,’ पोखरेलले भने, ‘त्यसअनुसार गृहकार्य पनि पक्कै भएको होला भन्ने हाम्रो विश्वास थियो, तर हामीले सोचेभन्दा फरक भयो ।’
उनले सरकार आफैंभित्रको व्यवस्थापनमा अल्झेको बताए । ‘जनतालाई थाहा नभएको एउटा कुरा छ, कम्युनिस्ट पार्टीभित्र शक्तिसंघर्षको भयङ्कर रूप हुन्छ,’ पोखरेलले भने, ‘एउटाले अर्कोलाई सिध्याइहाल्छ कि भन्ने भय र त्रासबीच पार्टी गुज्रिरहेको छ । यसको पछिल्लो उदाहरण उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने/नलैजाने विषयमा देखिएको विवाद हो ।’
एक जनालाई सांसद बनाउन यति धेरै कथा बुन्नै नपर्ने उनको तर्क छ । पार्टीभित्र अत्यन्त कडा अविश्वास र डर सिर्जना भएपछि काम गर्न सक्ने कुनै आधार नै नहुने पोखरेलको तर्क छ ।
‘कम्युनिस्टहरू केही न केही तानाशाही हुन्छन्,’ उनले भने, ‘त्यो तानाशाहीपन विकासमा लगाएको भए केही हुन्थ्यो, अहिले त्यसको प्रयोग आफ्नैलाई सिध्याउन भइरहेको छ ।’
पार्टी स्कूलिङ र सरकार चलाउने संयन्त्रबीच तालमेल मिलेन
पोखरेलले नेकपा बहुमतमा रहेकाले सरकार चलाउने पूरै अधिकार रहेको तर सरकार चलाउने संयन्त्र र नेकपाको स्कूलिङबीच भिन्नता रहेकाले सरकार प्रभावकारी नरहेको टिप्पणी गरे ।
‘सरकार चलाउने संयन्त्र एउटा छ, अर्को तरिकाले चलाउन खोजेपछि जतिसुकै ठूलो पार्टी भएपनि काम नगर्ने हुने रहेछ,’ उनले भने, ‘पार्टीभित्र नै तिक्तता देखिएको छ । मैले कुरा गर्ने कतिपय प्लानिङ कमिसनका अधिकारीहरूले अहिले आफूहरूबीच कुराकानी पनि ठप्प रहेको सुनाउने गर्छन् । यस्ता चिजहरू चाहिँ अहिले सतहमा आएका छन् ।’ सरकारले यिनै कारणहरूले लय लिन नसकेको पोखरेलले बताए ।
‘यो २०७६ साल अपेक्षा गरेअनुसारको भएन । क्रोनी क्यापिटालिज्म विकास हुने क्रममा गयो । प्राइभेट सेक्टरसँग मिलेर अघि बढ्नुपर्छ त भनियो, तर विश्वास लिने काम भएन । बरू पछिल्लो समयमा निजी क्षेत्रलाई नै विभाजन गरेर अघि बढ्ने नियत देखाएको छ सरकारले,’ उनले असन्तुष्टि पोखे ।
‘यत्रो दु:ख गरेर आएका नेताहरू छन्, सर्वहारा वर्गको नेतृत्व गरेको आएको भन्छन् तर पैसाको कुरामा चाहिँ असाध्यै कडा देखिन्छन्', ‘उनले भने, ‘पूँजीपतिले कमाए, हामीले पनि कमाउनु पर्छ भन्ने सोचको विकास भयो । अति नै ज्यादा देखिएको छ ।’
पोखरेलले सरकारले काम गर्न नसकेपछि रणनीतिक हिसाबले काण्डैकाण्ड झिकिरहेको बताए । ‘एउटा काण्ड निकाल्यो, त्यसमा मान्छेलाई अल्झायो । त्यसपछि अर्को काण्ड निकाल्यो मान्छेलाई फेरि गुमराहमा राख्यो । सरकारले यो रणनीतिक हिसाबले नै गरिरहेको छ,’ उनले भने ।
सिंहदरबार बालुवाटारको कोटरीमा गयो, अनि कसरी काम होस् त ?
वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर सरकारले आफूले गरेका नराम्रा कामहरूबाट सजग नभएको बताउँछन् । 'सरकार अहिले तदर्थवादमा धेरै चल्यो,’ पिटरले लोकान्तरसँग भने, ‘उसले गरेका निर्णयहरू धेरै विवादास्पद भए । उत्तरदायित्व लिने नियत देखिएन । राम्रा कामको जिम्मेवारी लिने सरकारले नराम्रा कामको जिम्मेवारी लिन चाहेन । यसले विश्वासको संकट बढायो ।’
कसैले नराम्रो गर्दा सरकारले कारवाही गरेर नदेखाउनु नै जनताको विश्वास गुम्दै जानुको प्रमुख कारण रहेको पिटरको भनाइ छ । ‘अहिले विश्वासको संकट बढेको छ । हरेक सत्ताले सबैभन्दा पहिला जनताको विश्वास आर्जन गर्न सक्नुपर्छ । यो चाहिँ नराम्रो भयो, हामीले कारवाही गर्यौं भनेको भए राम्रो कामको प्रशंसा हुन सक्थ्यो । तर त्यो भएन, त्यसैले सरकारले विश्वास प्राप्त गर्न सकेन । सरकारले जे गरेपनि बेठिक नै गर्छ भन्ने आशंका पैदा भयो,’ पिटरले भने ।
पिटरले नेकपारूपमा एउटै पार्टी भएपनि सारमा दुईवटै पार्टी रहेको बताए । यसो हुँदा बहुमत प्राप्त पार्टीले पनि सही ढंगले सत्ता सञ्चालन गर्न नसक्ने र जनताबाट तिरस्कृत हुँदै जाने पिटरको टिप्पणी छ । पार्टीबीच देखिएको अन्तरविरोधको पीडा जनताले अहिले भोगिरहेको उनले बताए । ‘पार्टी गठबन्धन जस्तो छ, कुनै पनि कुरामा मतैक्य छैन अनि जनताले डेलिभरी पाउने कुरै भएन,’ उनले भने ।
सरकारलाई असफल देखाएर राजनीतिक रोटी सेक्ने काम भएको छ !
सरकारका कतिपय मन्त्रीहरूले चाहिँ सरकारलाई असफल देखाउने षड्यन्त्र भइरहेको बताउने गरेका छन् । केही दिनअघि राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफ्नै पार्टीका ठूला नेताहरूको काखमा बसेर केहीले आफ्नो चरित्र हत्या गर्न थालेको टिप्पणी गरे ।
‘मेरो दलमा चाहिँ ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरू उफ्रेका छन् भन्ने अनुभूति गरेको छु,’ अन्तर्वार्ताका क्रममा उनले भने, ‘तर यी सबै पानीका फोका हुन् । त्यो मकहाँ आएर ठोक्किएपछि फुटेर जानेछन् ।’
ढकालको भनाइलाई सत्य मान्ने हो भने पार्टीभित्र ठूलो अन्तरविरोध छ भन्ने प्रस्ट हुन्छ । उसो त मन्त्री ढकालमात्र नभएर पूर्वएमाले पक्षका कतिपय मन्त्रीहरूले सरकारलाई असक्षम देखाउन पार्टीभित्रैबाट केही मान्छेहरू परिचालन गर्ने गरिएको आरोप लगाउने गर्छन् ।
ठ्याक्कै मुख फोरेर नभनेता पनि यस्तो लान्छना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर सोझिएको हुन्छ ।
‘आफूले काम गर्न नसक्ने अनि पार्टीभित्रकै अरू नेताहरूलाई लान्छना लगाएर किन बस्नुहुन्छ ?’ भन्ने लोकान्तरको प्रश्नमा एक मन्त्रीले भने, ‘यथार्थ भनेको हो । हाम्रै पार्टीभित्रका केहीलाई सरकार सफल भएको देख्दा अत्यन्तै पीडाबोध भएको मैले अनुभव गरेको छु । सरकारको कमजोरी नै छैन भन्ने हुँदैन, तर उहाँहरूले किन कमजोरीमाथि मात्र टेकेर नेतृत्वलाई हमला गरिरहनुभएको छ त ? राम्रा कामहरूलाई खै राम्रो भनेको ?’
उनले घुमाउरो ढंगबाट प्रचण्ड पक्षका नेताहरूले यस्तो गरेको बताए । ‘एउटा अध्यक्षको नेतृत्वमा सरकार छ तर पार्टीभित्रैबाट सरकारविरोधी हर्कतहरू गरिएका छन् । अर्को अध्यक्षले हेरेर बस्नुभएको छ । यद्यपि मैले प्रवृत्तिविरुद्ध बोलेको हो । कुनै अध्यक्षलाई इंगित गरेर आरोप लगाएको होइन,’ उनले भने ।
पार्टीले सरकारलाई निर्देशन दिइरहेको छ – झलनाथ खनाल
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सरकारको प्रभावकारितामा प्रश्न उठेको स्वीकार गरेका छन् । आइतवार लोकान्तरसँग संक्षिप्त कुरा गर्दै खनालले सरकारले सैद्धान्तिक हिसाबले काम गरिरहेको तर जनतासँग व्यावहारिक रूपमा जोडिन नसकेको बताए ।
‘जनताको बीचमा सरकार जति लोकप्रिय र प्रभावकारी हुनुपर्ने हो, त्यति लोकप्रिय र प्रभावकारी हुन सकिरहेको छैन,’ उनले भने, ‘जनतासँग जोडिन सकेको छैन । यो बीचमा सरकार जसरी चल्नुपर्थ्यो, त्यसरी अझै चल्न सकेको छैन ।’
तर पार्टीले सरकारलाई निरन्तर दिशानिर्देश गरिरहेको वरिष्ठ नेता खनालले बताए ।
‘पार्टीले सरकारलाई निरन्तर जनताको हितअनुकूल, जनताको इच्छाअनुकूल र पार्टीका नीति र सिद्धान्त र कार्यदिशाअनुरूप अगाडि बढ्नका लागि पार्टीलाई भनिरहेको छ । निर्देशन गरिरहेको छ । तर पनि सरकार अपेक्षाअनुरूप अझै अघि बढ्न सकेको छैन,’ खनालले भने ।
उनले २०७६ सालमा सरकारको प्रभावकारितामाथि प्रश्न उठेपनि २०७७ सालमा भने त्यस्तो नहुने दाबी गरे । ‘२०७६ सालमा प्रभावकारिता देखिएन,’ उनले भने, ‘फेरि पनि हाम्रो खबरदारी निरन्तर जारी छ । २०७७ सालमा सरकार यो भन्दा अझै बढी अपेक्षाकृत ढंगले अघि बढ्छ भन्ने मेरो विश्वास छ ।’
अनिकालका बेला भाँडा बज्न थाल्छन् – प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले चाहिँ पार्टीभित्र देखिएको अन्तरविरोधलाई ‘अनिकालको बेलामा बजेको भाँडा’ भन्दै हलुका रूपमा लिएका छन् । नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा उनले अनिकालका बेलामा भाँडा बज्नु स्वाभाविक रहेको टिप्पणी गरे ।
‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशंका मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ,’ ओलीले सम्बोधनका क्रममा भने ।
पछिल्लो समय कोरोना नियन्त्रण र रोकथामका लागि अध्यक्ष प्रचण्डले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने आवाज उठाएका थिए । ओलीले सम्भवतः त्यसैलाई इंगित गरेर अनिकालका बेलामा घरभित्र भाँडा बज्ने प्रसंग निकालेका हुन सक्छन् । पछिल्लो समयमा विश्वव्यापी महामारीसँग लड्ने विषयमा पनि पार्टीभित्र मतभेद रहेको अवस्था देखिएको छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...