कोरोना संकट : यी हुन् नेपालका आगामी चुनौती !

कुन्दनकुमार झा
कुन्दनकुमार झा

झा मधेशमा रहेर समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

नेपालको परिचय विश्वमा एक अल्पविकसित राष्ट्रको रहेको छ । कोरोना महामारीको प्रकोपले यस अवस्थालाई थप जटिल बनाउने कहीँ कसैमा सन्देह देखिदैन । विकासको नयाँ आयामतर्फ एक पाइला सारेको नेपालकै ऐतिहासिक र शक्तिशाली सरकारलाई हालको अवस्थाको प्रारम्भिक स्वरूपले नै गहिरो प्रभाव पारेको आमसर्वसाधारणमा अनुभूति हुनुले यस अवस्थामाथि सरकारको पूर्ण नियन्त्रण नरहेको पुष्ठि भइसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरूले पनि नियन्त्रण गर्न नसकेको महामारीको सामना गर्ने हाम्रो राष्ट्रसँग न कुनै शक्तिशाली संयन्त्र नै छ, न त प्रयाप्त संसाधन । 

सरकार समक्ष रहेको चुनौती एक क्षेत्रमा मात्र सीमित छैन र यसले भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई एक पटकमै प्रभाव पार्ने छ । विश्वमा महामारीको इतिहास हेर्ने हो भने हालको संकट अन्य कुनै पनि स्वास्थसम्बन्धी समस्या र त्यसको निवारणभन्दा शक्तिशाली र जटिल छ । सन १९२० मा महामारीको रूपमा फैलिएको स्पेनिस फ्लुले यसभन्दा पूर्व झण्डै ५ करोड विश्वका नागरिकहरूलाई आफ्नो शिकार बनाएको थियो । स्पेनिस फ्लुलाई पनि त्यति बेलाको समयमा नियन्त्रण गर्न विश्व असफल भएको थियो ।


Advertisement

हुन त पहिलो विश्वयुद्धले विनाश गरेको अन्तर्राष्ट्रिय अर्थतन्त्र र शक्तिशाली राष्ट्रिहरू बीचको द्वन्दले त्यस समयमा यो रोग नियन्त्रण गर्न कस्तो पहल गरेको होला भन्नेमा अध्ययन खासै भएको देखिदैन । विश्वलाई हालको समयमा भने सन २००४ सालमा माहामारीकै रूपमा फैलिएको बर्ड फ्लु र त्यसपछि सन २००९ सालको स्वाइन फ्लुले सताएको थियो तर यो रोगहरू निम्त्याउने भाइरसमाथि विश्वले नियन्त्रण गर्न सफल भयो । आधुनिक समयमा कुनै भाइरसले विश्वको गति नै रोकिदिने भन्नेबारे कसैले कल्पना समेत गरेको थिएन होला । 

कोरोनाभाइरसले निम्त्याएको चुनौतीको सामना गर्न नेपाल जस्तो राज्यलाई निकै सतर्कता अपनाउनुपर्ने बेला भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धजस्तो समवेदनशील पाँच क्षेत्रमा सजग हुनुको विकल्प छैन र रहँदैन ।


Advertisement

भौगोलिक चुनौती

नेपाल भौगोलिकरूपले एक समवेदनशील स्थानमा आसीन छ । देश तीनतर्फबाट भारतसँग जोडिएको छ भने एकातर्फ हिमालय पारी चीनको भू-भागले घेरिएको छ । भारत र नेपालबीचको राजनीतिक, सामाजिक र संस्कृतिक एकरूपता रहेको हुँदा यी दुवै मुलुकको आपसी सम्झौतामा खुला नाका रहेको पाइन्छ भने दक्षिणी छिमेकी चीनसँगको नाका बन्द र नियन्त्रित रहेको छ ।

कोरोना माहामारीले पनि नेपाललाई सबैभन्दा ठूलो चुनौती भौगोलिकरूपले नै दिएको देखिन्छ । सरकारले चैत्र महिनाबाट मात्र नियन्त्रित गरेको भारतीय नाकाबाट कोरोना संक्रमित कति जनसंख्या देशभित्र पसेको अनुमान हालसम्म पनि सरकारको कुनै निकायसँग रहेको यकिन गर्न सकिँदैन । यो समस्या हाल न्यूनीकरण भएको देखिन्छ तर खुला नाकाबाट हुने सामान्य घुसपैठ रोकिएकै हो भन्ने कुराको प्रमाण कुनै राष्ट्रसँग नरहेको अवस्था छ ।

भारतको मिडियाले हाल नेपालमाथि कोरोना फैलाउने समुहहरू नेपाली नाका हुँदै भारत पसेको आरोप लगाएको छ भने भारतको विभिन्न ठाँउमा फसेका नेपाली नागरिकहरू पनि नेपाल पस्न थालेका छन् । यस विषयले हालको अवस्थालाई थप भयावह बानाउन भूमिका भविष्यमा खेल्ने छ ।

भूपरिवेष्ठित राष्ट्र रहेको कारण नेपाल–भारतमाथि व्यपारिकरूपले हाल निर्भर रहिरहन्छ तर सरकारले बेलैमा खुला नाका थप व्यवस्थापन गर्न नसके कोरोनासँगको युद्धमा सजिलै हार्नेछ ।

२०७२ सालको नाकाबन्दीपश्चात चीनसँग समिप हुँदै गएको नेपाल राष्ट्र हालको अवस्थामा यो सम्बन्धको फाइदा लिन चुकेको अवस्था छ । चीनमा पहिलोपटक देखा परेको कोरोनाभाइरससँग पूरा विश्व लडिरहेको बेला भने चीन यो रोगलाई नियन्त्रण गर्ने एक मात्र सफल देशकोरूपमा देखिन थालेको छ ।

नेपाल-चीन सम्बन्ध बाट निकासको बाटो सम्भव त छ तर यसका लागि सरकारको नेतृत्व थप गम्भीर हुनु आवश्यक छ । विश्वले चीनलाई कोरोनाभाइरस उत्पादन गरेको आरोप लगाइरहँदा नेपालमा यसको आवाज उठ्नुले चीनलाई निराश बनाउन सक्थ्यो तर यति हुँदाहुँदै पनि चीनले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहिर पटक–पटक आफ्नो कूटनीतिक नियोगको माध्यमले गर्नुलाई चीन नेपालप्रति जिम्मेवार रहेको पुष्ठि भएको छ । 

नेपाल भौगोलिकरूपले यी दुवै राष्ट्रसँग निर्भर रहेको छ तर हाल भारतमा कोरोनाको रोकथाम गर्न सरकारलाई कठिनाइ भएकोले नेपाललाई सघाउने अवस्था देखिँदैन र यसअर्थमा नेपालले चीनको सहयोग लिनु अपरिहार्य हुन जान्छ । भूगोलले उठाएका समस्या सबैभन्दा महत्त्वपूर्ण रहेकाले यसको निवारणमै अन्य समस्याको प्रारम्भिक समाधान रहेको हामीले बुझ्नुपर्छ । 

राजनीतिक चुनौती

नेपालमा हाल देखिएको राजनीतिक स्थिरताले आमजनतामा एक सकारात्मक सन्देश प्रवाह भएको छ तर कोरोनाभाइरससँगै आएको माहामारीले वास्तविकरूपमा देशको राजनीति कस्तो अवस्थामा रहेको मूल्यांकन गर्नेछ । संघीयतामा प्रवेश गरेको नेपालमा राजनीतिक भविष्य कस्तो रहने प्रश्न कोरोनासँगै नेपालमा प्रवेश गरेको छ । देशलाई शान्त, सुरक्षित र समृद्ध बनाउने उत्तरदायित्व राजनीतिक संयन्त्रकै हुन्छ र यसअर्थमा हाल रहेका ३ तहका सरकारको जिम्मेवारी बढेको छ । 

राजनीतिकरूपले बाहिरबाट सशक्त देखिएको नेपालको आन्तरिक अवस्थाले यसबारे राम्रो संकेत दिँदैन । आमजनतामा हाल राज्यले देशको वास्तविक अवस्थाबारे मार्ग प्रसस्त गर्न नसक्नुले राजनीतिक माहोलबारे गम्भीर प्रश्न उठ्न थालेको छ । केन्द्र सरकारको नेतृत्वमा प्रशासनिक निकायले अतिआवश्यक स्वास्थ उपकरण खरिद प्रक्रियामा देखाएको त्रूटिपूर्ण कार्यशैलीले सरकारको मनोभाव मात्र झल्काउँदैन तर सरकारको नेतृत्व नै संगठित नरहेको सन्देश दिन्छ । प्रदेश र स्थानीय निकायमा कार्यशैलीमा देखिँदै गएको अपरिपक्वता आजको राजनीतिको प्रमुख दोषि पात्र देखिनथालेको छ । केन्द्रसँग अधिकार मात्र खोजेर बसेको प्रादेशिक शक्तिहरू पाइरहेको अधिकारको पनि सदुपयोग गर्न सकेका छैनन् ।

कोरोनाभाइरसले ल्याएको विश्वव्यापी महामारीका बेला पनि यी तीनै तहका सरकारबीच एकताको कमीले भोलिको राजनीतिक संकट ठूलो हुन सक्ने देखिन थालेको छ । आम सर्वसाधारणले रोगबाट बच्ने उपाय सरकारले पत्ता लगाएर राहत हुने विश्वास गुमेको त छैन तर भोलि पनि नेपालको राजनीतिक वृत्त एकता देखिएन भने जनविद्रोह हुने ठूलो सम्भावना छ । यस्तो अवस्थामा शक्तिशाली रहेको केन्द्र सरकारको जिम्मेवारी थप सक्रिय हुनुको विकल्प रहँदैन । केन्द्रले राष्ट्रलाई जोगाउने भूमिकामा प्रदेश र स्थानीय निकायलाई जवाफदेही बनाएर लग्नु अहिलेको राजनीतिक संकटको एक मात्र विकल्प छ ।

आर्थिक चुनौती

नेपाल आर्थिकरूपले एक कमजोर राष्ट्र छ । कोरोनाले ल्याएको महामारी र सरकारले बजारमाथिबाट गुमाएको आफ्नो स्वामित्वले यस अवस्थालाई थप गम्भीर र पेचिलो बनाउँदै गएको छ । नेपालको प्रमुख आयस्रोतको रूपमा रहेको रेमिट्यान्स क्षेत्र हालको अवस्थाबाट प्रभावित हुँदा राष्ट्रलाई मासिक ७४ अर्बको आयस्रोतबाट वञ्चित हुनुपर्ने देखिन्छ । यस विषयबाट उत्पन्न हुने अर्को ठूलो समस्या राष्ट्रलाई बेरोजगारीले दिनेछ ।

हाल नेपालको विभिन्न उमेरका वैदेशिक रोजगारको जनसंख्या लगभग ४५ लाखको आसपास रहेको छ र यो जनसंख्या कोरोना रोगले निम्त्याएको विश्वव्यापी आर्थिक मन्दीको शिकार भएका छन् । यो जनसंख्याले भोलि काम नपाउलान् भन्ने पक्कै पनि हैन तर दैनिक रोजगारीले घरबार चलाउँदै आएका यीनै जनशक्तिले भोलि घर चलाउन पैसा पठाउन छाडे भने राज्यले यो अवस्थामा तीनै कामदारको घरबार चलाउने हैसियत नराख्दा आर्थिक संकटले देशलाई कमजोर थप कमजोर बानाएर भोकमरीको अवस्थामा पुर्‍याउन सक्छ ।

नेपालको श्रम बजारमा वर्षको चार लाख पचास हजार नयाँ मुहार थपिन्छ र हाल कोरोनाको समस्या समाधान नभए देशले संघीयताको बोझ बोक्ने अवस्थामा रहँदैन । आर्थिक संकट तत्काल निवारण गर्ने संयन्त्र सरकारसँग नरहेको हुँदा हाल नेतृत्वसँग रहेको रकमको दुरूपयोग हुन दिनु आफ्नै काल निम्त्याउनु झैं हुनेछ । विश्वका शक्तिशाली राष्ट्रहरूले यो रोगको निवारण गर्न बन्ने खोप तुरुन्तै उपलब्ध नहुने भनेकोले सरकार आर्थिक मामिलामा थप सजग हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । खाडी मुलुकमा फसेका १५ देखि २० लाख नेपाली जनशक्ति भोलि घर फर्किने अवस्था आए देशभित्र आर्थिक संकटले सामाजिक संरचना भताभुंग हुनेछ ।

सामाजिक चुनौती

शिक्षाको स्तरमा निकै कमजोर रहेको नेपालको सबैभन्दा ठूलो आन्तरिक चुनौती सामाजिक परिवेश रहेको छ । सरकारको कडा निर्देशन र निगरानीपश्चात पनि हाम्रो समाजले सामाजिक दूरी कायम राख्ने सन्देशलाई बुझेको र आत्मसाथ गरेको देखिँदैन । सरकारले खुला क्षेत्रमा रहेको बजार नियन्त्रण गर्न नसक्नु, शिक्षित वर्गहरूले पनि यस्तो अवस्थामा सामाजिक काम गरिरहँदा एकअर्कासँग शारीरिक दूरी कायम गर्न नसक्नुले कोरोना संकटप्रति हाम्रो समाज सचेत नरहेको सन्देश जान्छ । 

नेपाली समाजको संरचनामा रहेको विभेदी नीतिले पनि यस अवस्थालाई थप जटिल र गम्भीर बनाउँदै लग्छ । विकसित राष्ट्रभन्दा फरक रहेको यस्तो सामाजिक परिवेशले सबल र पहुँचमा रहेकाहरूको अधिकारको जति रक्षा गर्दै जान्छ त्यतिनै दुर्बल र साधारण जीवनयापन गर्नेहरूको अधिकारको हनन गर्छ । वर्ग र स्तर छुट्टाछुट्टै रहेको हाम्रो समाजमा पनि यस परिवेशले गर्दा कोरोनामाथि हाम्रो जीत सहज हुँदैन । कोरोनाले विभेद गर्दैन तर समाजले भने निरन्तर विभेदलाई संस्थागत गर्दै लगेको छ ।

गरीबीको रेखामुनि बाँचिरहेका नेपाली सर्वसाधारणलाई जबसम्म व्यवस्थित बनाउने जिम्मेवारी हाम्रो समाज र राज्यले लिँदैन यो भाइरसको त्रास सम्पूर्ण राष्ट्रलाई रहिरहन्छ । सामाजिक चेतनाको कमी र संस्थागत रहेको विभेदका जडहरूले एक–एक नेपालीलाई सुरक्षाको दायरामा नल्याउने हो भने हाम्रो समाज एक हुँदैन र एकताबाट वञ्चित रहेको समाजले यो माहामारीलाई जित्न सक्दैन ।

अन्तर्राष्ट्रिय समबन्ध र चुनौती

नेपालले असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध कायम राखेको हुँदा अन्तर्राष्ट्रिय जगतमा आफूलाई प्रस्तुत गर्दा भूगोलबाहिर जाने क्षमताको निर्माण गर्नु आवश्यक देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरू अहिले एक अर्कालाई आरोपप्रत्यारोपमा व्यस्त रहँदा नेपालजस्तो सानो मुलुकको (आकारमा) भूमिका आफ्नो राष्ट्रहितमा केन्द्रित हुनुको विकल्प रहँदैन ।

यस्तो अवस्थामा राज्यले अन्तर्राष्ट्रिय सह्योगका लागि भूगोलबाहिर पनि पर्छ । देशबाहिर रहेका कूटनीतिक नियोगहरूले यसमा देशको आवश्यक सहयोग गर्ने भूमिका निर्वाह गर्नुपर्छ । असंलग्न रही नेपालले चालेका हालसम्मको कदम उत्साहजनक भएतापनि यसले देशभित्र अन्य राष्ट्रहरूबाट आवश्यक प्राविधिक सहयोग ल्याउने बेला यही हो । देश संकटमा हुँदा र आवश्यक संसाधन अन्य ठाँउबाट भित्र्याउने बाध्यता रहेको यस घडीमा अन्तर्राष्ट्रिय सम्बन्धको भूमिका सक्रिय बानाएर हाम्रो देशबाहिर पनि सफल रहेको सन्देश दिने समय आएको छ ।

कुन्दनकुमार झा
कुन्दनकुमार झा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्