बाहिर कोभिड– १९ र लकडाउन : घर-घरभित्र मौलाउँदै 'छायाँ महाव्याधि' !

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

कोरोनाभाइरस महाव्याधिका कारण आक्रान्त संसार अहिले लकडाउन (बन्दाबन्दी)मा छ । बन्दाबन्दीका बेलामा विभिन्न देशमा घरेलु हिंसाका घटना बढिरहेको र पारपाचुके गर्ने मनस्थितिमा जोडीहरू पुगेको खबरहरू आइरहेका छन् । नेपाल पनि यसबाट अछुतो छैन ।

घरेलु हिंसामा वृद्धि भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अघिल्लो साता विभिन्न देशका सरकारलाई महिलाहरूको सुरक्षामा ध्यान दिन आह्वान गरेका छन् ।


Advertisement

महाव्याधिका कारण उत्पन्न आर्थिक तथा सामाजिक तनाव अनि घरबाट निस्कन नपाउँदा आउने मनोवैज्ञानिक विकारका कारण घरेलु हिंसा बढिरहेको विज्ञहरूको कथन छ । त्यसै पनि कोरोनाको कहर शुरू हुनुअघिदेखि नै विश्वका एकतिहाइ महिला कुनै न कुनै किसिमको हिंसामा परेको आँकडा राष्ट्रसंघसँग छ । 

राष्ट्रसंघले प्राप्त गरेको जानकारी अनुसार, लेबनान र मलेसियामा महिला हेल्पलाइनमा आउने फोनकलको संख्या पहिलेको भन्दा महाव्याधिका बेलामा दोब्बर वृद्धि भएको छ ।


Advertisement

चीनमा यस्ता कलको संख्या तेब्बर बढेको देखिएको छ । उता अस्ट्रेलियामा घरेलु हिंसापीडितका लागि सहायतासम्बन्धी गूगल सर्चमा व्यापक वृद्धि भएको छ । फ्रान्स, स्पेन, सिंगापुर सबैतिर यस्तै किसिमका वृद्धिको आँकडा राष्ट्रसंघसित छ ।

यी त घरेलु हिंसाको जानकारी दिने महिलाहरूको आँकडा भए । घरेलु हिंसा सहने तर कतै सहायता माग्न नसक्ने कैयौं महिला तथा बालिकाको संख्या पनि उत्तिकै भयावह छ । 

विज्ञहरूले यसलाई ‘छायाँ महाव्याधि’ (श्याडो प्यान्डेमिक) नाम दिएका छन् किनकि यो पनि कोरोनाभाइरस जस्तै संसारभरि व्याप्त छ ।

घरेलु हिंसाका लागि विभिन्न कारणहरू जिम्मेवार रहने अध्येताहरूको धारणा छ । यसमा बढी जसो दोषी पुरुष देखिने गरेका छन् तर महिलाका तर्फबाट पुरुषमाथि हुने घरेलु हिंसाका घटनाहरू पनि छन् ।

पति वा पत्नीले एकअर्कालाई आफ्नो नियन्त्रण र प्रभुत्वमा राख्ने चाहनाले घरेलु हिंसा निम्त्याउने गर्छ । अनि आफ्नो क्रोधलाई वशमा राख्न नसक्दा पनि घरेलु हिंसा हुने गर्छ ।

महिलामाथि हुने घरेलु हिंसाको अर्को बलियो कारण आर्थिक निर्भरता पनि हो । परम्परागत अवधारणामा पुरुषले बाहिरबाट कमाएर ल्याउने अनि महिलाले घर सम्हाल्ने काम गर्छन् ।

यसले गर्दा महिलाहरू पुरुषप्रति आर्थिक रूपमा निर्भर रहने गर्छन् । त्यही कमजोरीमा टेकेर पनि पुरुषहरूले महिलामाथि हिंसा गर्ने गरेको पाइन्छ । तर समयक्रमसँगै महिलाहरू पनि बाहिर गएर कमाउन थालेका छन् । त्यसो त आर्थिक रूपमा सबल पत्नीप्रति ईर्ष्या गर्दै कम कमाइ गर्ने पतिले हिंसा गरेका घटनाहरू पनि छन् । र पतिभन्दा बढी कमाउने पत्नीले गरेका मनोवैज्ञानिक हिंसाका घटना पनि भेटिएका छन् । 

घरेलु हिंसासँगै पारपाचुकेका घटनामा पनि वृद्धि आइरहेको अर्को आँकडा छ । द डेली मेलमा छापिएको खबरअनुसार, चीनको ग्वाङदोङमा एक महिलाले बन्दाबन्दीको बेलामा पतिको व्यवहारमा परिवर्तन आएको, झर्कोफर्को गर्न थालेको, बच्चाहरूलाई स्याहार गर्न नमानेका आदि कारणले गर्दा पारपाचुकेका लागि निवेदन दिन खोजेको बताइन् । उता भारतमा मजदूरी गर्ने एक महिलाका पतिले आर्थिक अभाव हुन थालेपछि परिवारमा क्रोध व्यक्त गर्ने, शीशाको बोतल उठाएर भित्तामा बजार्ने, पत्नीको कपाल लुछ्ने लगायतका व्यवहार देखाउन थालेकाले पतिसँग पारपाचुके लिन मन बनाएको भनी बीबीसीलाई बताएकी छन् । 

हुन त यसलाई सामान्यीकरण गरेर हेर्न मिल्दैन तैपनि बन्दाबन्दीको समयमा परिवारसँग बस्न पाउने अवसर जुटेर झन् पतिपत्नीबीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा एकअर्काप्रति घृणाको भावमा किन अभिवृद्धि भइरहेको छ भन्ने आफैंमा रोचक प्रश्न हो । मनोविश्लेषक डा रोबर्ट फायरस्टोनका अनुसार, पति र पत्नीले लामो समय एकैसाथ बिताएपछि उनीहरूबीच वास्तविक सम्बन्ध हराउँदै गएर स्वैरकाल्पनिक सम्बन्ध (फ्यान्टसी बोन्ड) विकसित हुन थाल्छ । 

विवाहित जोडी यस्तो खालको सम्बन्धमा प्रवेश गरेपछि विवाह रूपमा सीमित हुन्छ, सार हराउँदै जान्छ । आफूहरूबीचको सम्बन्ध भनेको एकै ठाउँमा सँगै बस्ने र जीवन चलाउने मात्र हो भन्ने भाव विकसित हुँदै जान्छ र सम्बन्धमा खोक्रोपन आउन थाल्छ । अनि प्रेमिल व्यवहार बिस्तारै कम हुँदै गएर उनीहरू एकअर्काप्रति शत्रुभाव देखाउन थाल्छन् । यस्तो अवस्था आउँदा पनि कोही सहेर बसिरहेका भेटिन्छन् भने कोही चाहिँ सँगै बस्न नसक्ने निर्णयमा पुगेर पारपाचुकेका लागि अघि बढ्छन् ।

अनि पतिपत्नीबीचको सम्बन्धमा समस्या आउने अर्को कारण अतिपरिचय पनि हुन सक्छ । संस्कृतमा एउटा भनाइ छ– अतिपरिचयाद् अवज्ञा । यसको आशय हो– जति बढी परिचित हुँदै गयो, त्यति बढी विरक्ति लाग्दै जान्छ । अंग्रेजीमा पनि यस्तै किसिमको शब्दावली छ– फेमिलियारिटी ब्रीड्स कन्टेम्प्ट अर्थात् धेर घुलमिल हुँदा घृणा जाग्न थाल्छ । 

सहनशीलतामा कमी आएको यस युगमा लामो समय अर्कासँग बसेर उसका सबै गुणदोषको जानकारी पाएपछि उससँग बस्न मन नलाग्ने भाव आउनु अनौठो हैन । अतिपरिचयका कारण घृणाको जन्म हुन्छ भन्ने विषयमा शोध नै गरिएको छ । हार्वर्ड विश्वविद्यालयका शोधार्थीहरू एमआई नोर्टन, जेएच फ्रस्ट, एच जियाना र डी एरिएलीले गरेको शोधको निष्कर्ष अमेरिकन साइकोलोजिकल एसोसिएसनको जर्नलमा प्रकाशित भएको छ । अनि हिंसा सहेर बस्नुभन्दा त पारपाचुके नै राम्रो विकल्प ठहरिन सक्छ ।

तर पारपाचुकेको सुविधा सबै महिलालाई उपलब्ध हुँदैन । आर्थिक दुर्बलताका कारण हिंसा सहेर पनि वैवाहिक सम्बन्धमा बस्नुपरेको महिलाको संख्या निकै बढी छ । 

घरेलु हिंसाको समस्याको ठोस समाधान गर्नका लागि महाव्याधिले उचित अवसर दिएको छ । पितृसत्तात्मक सोचलाई दोष लगाएर मात्र यसको समाधान हुन सक्दैन । विभिन्न सरकारहरूले घरेलु हिंसामा परेका महिलाको सहायताका लागि विभिन्न कार्यक्रम चलाएका छन् र विभिन्न गैरसरकारी संस्थाले पनि पीडितहरूलाई सहयोग गरिरहेका छन् । त्यो आफैंमा राम्रो काम हो तर घरेलु हिंसा रोक्न त्यो प्रभावकारी उपाय हैन । 

विभिन्न अध्ययनहरूले देखाएअनुसार, महिलालाई आर्थिक रूपमा सबल बनाउँदा घरेलु हिंसामा कमी आउँछ । आर्थिक सबलताले महिलाको आत्मविश्वास बढाउने र जोखिमको स्थितिबाट मुक्त गर्ने देखिएको छ ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्