मृत्यु संस्कारबाहेक अरुलाई पास नदिने प्रशासनको निर्णय

प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ ।

प्रशासनले बिहीवार एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै ई–पास उपलब्ध गराउने जनाएको छ ।


Advertisement

सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ । सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिए ।

उनका अनुसार ई–पासका लागि १ हजार ६०० जनाले निवेदन दिएका छन् ।

अन्य सामान्य विषयका लागि ई–पास प्रणालीमा अनुरोध नगरिदिन समेत उनले आग्रह गरे । लकडाउन थप प्रभावकारी बनाई कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै बिहीवारदेखि ई–पासको शुरूआत गरिएको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्