कोरोना भाइरसविरुद्ध युद्ध लड्दै विश्वको विभेदकारी समाज !

कुन्दनकुमार झा
कुन्दनकुमार झा

झा मधेशमा रहेर समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

विश्वले कोरोना भाइरसको रुपमा माहामारीको सामना गरिरहँदा सामाजिक विलक्षणको एक कुरुप स्वरुपले आधुनिक समाजलाई चारै तिरबाट घेरेको छ ।

लोकतान्त्रिक समाजको पुँजीवादी चरित्रभित्र लुकेको विभेदकारी नीति र समाजको विभेदकारी रुप कोरोना भाइरसले निम्त्याएको संकटभन्दा कैयौं गुणा बढी खतरनाक र विध्वंशात्मक रहेको छ । कोरोनाले बाह्यरुपमा एकीकृत देखिएको विश्वलाई फरक–फरक धारमा उभ्याउने काम गरेको छ भने तिनै समाजभित्र रहेको असमान वर्गका जनसंख्याले यसलाई थप विभेदकारी र आत्मकेन्द्रित बनाउन लागेको देखिन थालेको छ ।


Advertisement

कार्ल मार्क्सको दर्शनसँग सहमति राख्ने र नजिकबाट अध्ययन गर्नेहरूले विभेदको अवस्था निकट भविष्यमा एक न एक दिन भयावहरुपले आउनेबारे सचेत बनाइरहँदा पुँजीवादको जमातले आफ्नो वर्चस्व बचाउन तिनै वर्गलाई गिज्याउने र निरंकुश समाजवादी सत्ताको वकालत गर्नेको नामले बदनाम गर्ने काम गरे । विश्वले विभेदको स्वरुप कोरोनाले निम्त्याउने भन्ने पक्कै पनि सोचेको थिएन होला र अन्ततः आज त्यो समय आउँदा एक राष्ट्रले अर्कोलाई सहयोग गर्नेभन्दा पनि आफू मात्रै कसरी सुरक्षित हुने नीतितिर केन्द्रित भएको देखिन थालेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र र बौद्धिक समाज अमेरिकालाई विभेदकारी चक्रको एक उदाहरणको रुपमा हेर्न सकिन्छ । अमेरिकी राज्यले हाल आफ्नै गठबन्धनमा रहेका अन्य शक्तिशाली युरोपेली राष्ट्रलाई आफ्नो राष्ट्रिय हित अनुरुप मात्र अनुदान र सहयोग दिने उद्घोष गरेको छ भने कही दिनयता विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सम्पूर्ण आर्थिक सहयोग रोक्का गरेको छ ।


Advertisement

विकसित हुन अमेरिकी समाजलाई चाहिएको मानव संशाधन कुनै एक मुलक र एक महाद्विपले मात्र सघाएन तर आज तिनै जनसंख्यालाई विश्वकै सबैभन्दा शिक्षित समाजले अहिलेको अवस्थामा रोजगारीबाट आउने आर्थिक लाभ काम बन्द भएको बेला दिन मानेका छैनन् ।

सामाजिक विभेदको यो स्वरुप नवउदारवादको नीतिले नै जन्मिएको छ । यस विधिको प्रयोगले शक्तिशाली राष्ट्रले विकासोन्मुख र अल्पविकसित राष्ट्रको शोषण गर्न सिकायो भने तिनै शक्तिशाली राष्ट्रका शिक्षित समाजले आर्थिक रुपले कमजोर रहेको विश्वका विभिन्न भागका जनसंख्यालाई प्रयोग गरेर ठूलो पुँजीवादीहरूको नामले चर्चित भए ।

शक्तिशाली राष्ट्रहरूले प्रयोगमा ल्याएका यिनै प्रक्रियाको प्रयोगले अल्पविकसित र कमजोर राष्ट्रमा सत्ताका समिप बसेकाहरूले र कृषि उत्पादनमा वर्चस्व रहेकाहरूले मिलेर आफ्नै समाज र राष्ट्रलाई थप कमजोर बनाउँदै लगिरहे । सत्ता समिप रहेका कमजोर राष्ट्रका शक्तिशाली नेताहरूले समाजलाई २ वर्गमा विभाजन गर्न शक्तिशाली राष्ट्रको हितमा पुराना उद्योग र कलकारखाना बन्द गरे र तिनै राष्ट्रले बाँडेको कमिसनको रकमले देशका विभिन्न ठाउँमा जग्गा र दैनिक उपभोगका लागि चाहिने अतिआवश्यक सामान आयात गर्दै आफ्नो आर्थिक वर्चस्व बचाउन सफल भए । 

कृषिमा पकड भएका भूमिपतिको शोषणबाट पीडित कामदारको एक मात्र कमाउने विकल्प देशभित्र रहेका कलकारखाना बन्द हुनुले वैदेशिक रोजगारी नै कमजोर र विभाजित समाजको गन्तव्य बन्दै गयो । विश्वमा यसरी शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय हित संरक्षण गर्न सफल भए भने असफल राष्ट्रमा राजनीतिक परिवर्तन र बढ्दै गएको सामाजिक विभेदले एक वर्ग मात्र शक्तिशाली र सुविधासम्पन्न हुन पुगे । कोरोनाको महामारीले उठाएका धेरै प्रश्न छन् तर ती प्रश्नमध्ये विभेदको प्रश्नले भने सबैभन्दा महत्त्वपूर्ण ठाउँ पाएको देखिन्छ ।

कोरोना र यससँगै आएको भाइरस एक दिन जानेमा कतै सन्देह छैन तर विभेदको भाइरसले देखाएको स्वरुप भने हाम्रो समाज र विश्वमा सदैवको लागि ऐतिहासिक र विध्वंशकारी हुनेछ । शक्तिशाली हुने चाहना मानवीय मनोविज्ञानको एक उपज हुँदा यसमा दोष कतै देखिदैन तर शक्तिशालीले फरक र असामान्य  जिम्मेवारीको बोध नगर्नुले ठूलो दुर्घटना हुने सम्भावन प्रबल हुन्छ । मानव सभ्यताको अध्ययनले पनि यी कुरालाई अनेकौं पटक प्रमाणित गरेको छ ।

द्वापरयुगमा कौरव र पाण्डवहरूवीच भएको महायुद्धले पनि यस चिन्तनलाई प्रस्ट पारेको छ । महाभारतको युद्धमा विश्वकै शक्तिशाली मानिने कौरव सेनामा भगवान् परशुरामका ३ शिष्य भिष्म, द्रोण र कर्ण हुँदाहुदै पनि पाण्डव पक्ष जित्नुले शक्तिशालीले जिम्मेवारी नलिए नाश हुने कुरालाइ प्रस्ट पार्छ । विश्वका शक्तिशाली सभ्यताको अध्ययनले पनि यसै पक्षलाइ उजागर गर्छ । रोमन सभ्यता, ओटोमन राज्य, प्रथम र दोस्रो विश्वयुद्धभन्दा पहिलेको शक्तिशाली जर्मनीलाई पनि हामीले इतिहासकै पानाको रुपमा नियालेर हेर्दा अहिलेको विश्व व्यवस्था पनि क्रमभंग समिप पुगेको अनुभूति हुन लागेको छ ।

कोरोनाले विश्वको अर्थतन्त्रलाई कमजोर पार्दै लैजाँदा विभेदको नीतिले पनि एक पाइला सारेको छ । यो भाइरसले कतै विभेद गरेको छैन र उदाहरणकै रुपमा लिने हो भने बेलायतका प्रधानमन्त्री बोरिस जनसोन पनि यसको शिकार बनेका छन् । विभेद हेर्न हामी धेरै टाढा जानु पर्दैन । विभेद हाम्रो समाजको चरित्रमा देखिन्छ र राज्यको नीतिमा ।  

विश्वकै सबैभन्दा शक्तिशाली लोकतान्त्रिक मुलुक भारत एक कुशल नेतृत्वकर्ताको हातमा छ तर यसले पनि विभेदलाई रोक्न सकेको छैन । भारतमा हाल ४० करोडभन्दा बढी जनसंख्या बेरोजगारीको शिकार भएका छन् । देशलाई यिनै जनसंख्याको आवश्यकता दैनिक कामकाजको लागि सबैभन्दा बढी छ तर आजसम्म राज्यले घरबारविहीन विभिन्न राज्यमा काम गर्न आएकालाई सुरक्षित आफ्नो घर पुर्‍याउने र नपुगे गाँस, बाँस र कपासको व्यवस्था गर्न सकेको छैन । सामाजिक दूरी अपनाउन चाहेर पनि यो वर्गका करोडौंको जनसंख्या आज अलपत्र र विभाजनमा परेका छन् । 

भारतका ठूलो शहरमा रहेका गरीब बस्ती आज बाध्य भएर फोहोर खोला, नाला र एक घर र अर्को घरबीच ६ फिटभन्दा कम दूरीमा बाच्न बाध्य छन् । कोरोना भाइरस यिनै समुदायमा अहिले १० भन्दामुनिको संख्यामा देखापरेको छ तर चाहेर पनि यो वर्गले आफूलाइ बचाउन नसक्ने अवस्था सिर्जना हुँदैछ ।

लोकतान्त्रिक मुलक भारतको प्रयासमाथि प्रश्न उठाउन सकिँदैन होला र राज्यले सकेसम्म जिम्मेवारी पनि लिएको देखिन्छ तर राज्यको संरचनाले विभेदमा परेकालाई पहिले उद्धार नगर्नुको मुल्य आज सम्पूर्ण देशबासीले तिर्नुपर्ने संकट कोरोनाले लिएर आएको छ र यसबाट बाँच्न अब कुन उपाय लाग्ला यो एक संवेदनशील विषय र प्रश्न राज्यलाई रहिरहने छ ।

नेपालको अवस्था झनै जटिल छ । भारतको तुलनामा नेपालको विभाजित समाजसँग न त उपयुक्त स्रोत साधन छ न त मानव संशाधन । दैनिक रोजगारीले घरबार चलाउनेहरू आज पनि कष्टकर जीवनयापन गर्दैछन् भने राज्यको जिम्मेवार निकाय कमिसनकै खेलमा मस्त देखिन्छ ।

काठमाडौंबाट ज्याला मजदुरी गर्ने रोजगारहरू अलपत्र अवस्थामा घर फर्किरहेको दृश्य आज देशको प्रायः सबैजसो पत्रिकामा खबर आएको र फोटो छापिएको छ तर राज्यसँग भने यसबारे चासो लिने न त समय नै छ, न त नीति । बिहान र बेलुका तरकारी बजार नियन्त्रण गर्न जुन राज्यसँग उपयुक्त नीति छैन, त्यो राज्यले कोरोनाको नियन्त्रण कसरी गर्नेमा प्रश्न रहिरहन्छ । 

विभेद विश्वको समाजमा संस्थागत रुपमै धेरै पहिलेदेखि नै स्थापित छ तर आज विश्वमा विभेदको स्वरुपले मानव जातिको अस्तित्वमाथि प्रश्न उठाएको छ । संस्थागत रहेको यस व्यवस्थाले सहजै परिवर्तन स्वीकार गर्दैन तर उदारवाद, प्रजातन्त्र र लोकतन्त्र जस्ता विषयले यस सन्दर्भलाई यहाँसम्म पुर्‍याउन कस्तो भूमिका खेलेको छ भन्ने विषयमा चिन्तन र अनुसन्धान आवश्यक देखिन्छ ।

समाज निर्माण गर्दा सीमित वर्गको मात्र हित संरक्षण हुने हो भने विश्वका धेरैजसो जनसंख्या सधैंभर प्रयोगको पात्र मात्र रहिरहने छन् । नयाँ समाजको निर्माण अब अपरिहार्य छ र अब बन्ने समाज वर्गविहीनको हुनुपर्छ ।

यस समाजले एकअर्कालाई प्रयोग नगरेर एकअर्काको सहयोग लिनेछ र समाजमा रहेको संस्थागत विभेदको अन्त्य गर्नेछ । विश्व समाजलाई हालको अवस्थाबाट बचाउन एक नेतृत्वदायी भूमिकामा समाजवादी मुलुकको अग्रसरताको आवश्यकता देखिन्छ र यो अवस्थासम्म पुग्न विश्वका शक्तिशाली मुलुकबीच मानवीय संवेदना र सदाचारिताको आधारमा समन्वय हुनुपर्छ ।

समाजवादको पथ सहज हुँदैन तर यसले लोकतान्त्रिक मर्मलाइ आत्मसाथ भने गरेको हुन्छ । उदारवादले जन्माएको लोकतान्त्रिक समाजमा एक वर्गको स्वामित्वमा अर्को वर्ग पीडित र अपहेलितको भूमिकामा हुन्छ भने समाजवादको मार्ग कठिन भएपनि यस प्रक्रियाले समाजमा देखिने लोकतन्त्र वर्गविहीनको हुन्छ । यस विधिबाट असमानताको अन्त्य हुन्छ भने सकारात्मक विभेदको शुभारम्भ ।

विश्वमा हाल फैलिएको उदारवादको परिवेशले बाह्यरुपमा समाज एकजुट भएको सन्देश दिन्छ तर यो सम्बन्ध व्यापारिक फाइदाको सीमाभित्र मात्र सिँगारिएको र आन्तरिक रुपले आत्मकेन्द्रित मात्र छ ।

कोरोना महामारले हालको विश्व संरचनाको स्वरुप उजागर गर्दा समाजवादको विद्रोह एक मात्र विकल्प देखिन्छ । यस व्यवस्थाले संसारलाई एकरुपता दिनेछ र शक्तिशालीलाई जिम्मेवार बनाएर विश्वको रक्षा गर्ने महत्त्वपूर्ण भूमिकामा ल्याउने छ ।

समाजमा हाल देखिएको असमान परिवेशले मानवताको नैतिक मर्मलाई चुनौती दिएको हुँदा परिवर्तन समिप रहेको अनुभूति हुन्छ । समाजवादको अन्तिम गन्तव्य मानव सभ्यताबीचको एकता हुनुले यस समाजको निर्माणमै विश्वको कल्याण लुकेको छ ।

कुन्दनकुमार झा
कुन्दनकुमार झा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्