स्वार्थी मानिसको दोषले संसारभर कोरोना महामारी ! संस्कार सम्झिने कि ?

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

कोभिड–१९ महाव्याधिले संसारलाई आक्रान्त पारिरहेको बेलामा पर्यावरणमा मानव हस्तक्षेप भाइरस फैलनुको एक प्रमुख कारक हो भन्ने विषयमा अनेकौं विश्लेषणहरू भइरहेका छन् । प्रकृतिको चरम दोहन र वन्यजन्तुको वासस्थान विनाशका कारण विषाणु (भाइरस) हरू थप घातक बन्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । 

सन् २०१६ मा प्रकाशित ‘प्यान्डेमिक ः ट्य्राकिङ कन्टेजियन्स, फ्रम कोलरा टु इबोला यान्ड बियोन्ड’मा लेखिका सोनिया शाहले उल्लेख गरेअनुसार, महामारी फैलाउने अधिकांश भाइरसहरू वन्यजन्तुमा बसिरहेका हुन्छन् र मानिसले वन्यजन्तुको वासस्थान विनाश गरेसँगै तिनीहरू मानिसमा सर्न थालेका हुन् । 


Advertisement

कोरोनाभाइरसका विभिन्न प्रकारहरू हुन्छन् र अहिले फैलिएको भाइरसलाई नोभल कोरोनाभाइरस वा सार्स–कोभ–२ नाम दिइएको छ । ६० प्रतिशत जति यस्ता भाइरसहरू पशुको शरीरमा पाइन्छन् । त्यसमध्ये पनि दुईतिहाइ जति चाहिँ वन्यजन्तुमा बसिरहेका हुन्छन् । 

पशुहरूबाट मानिसमा भाइरस सरेपछि मानिसले क्रूरता देखाउँदै तिनै पशुहरूको सामूहिक हत्या गर्ने गरेका छन् । तर पशुहरू दोषी हैनन्, दोष मानिसमै छ । 


Advertisement

विज्ञहरूका अनुसार, पशुमा माइक्रोब अर्थात् सूक्ष्म जीवाणुहरू पशुलाई कुनै पनि हानि नगरिकन बसिरहेका हुन्छन् । अहिलेको कोरोनाभाइरस पनि चमेरोलाई कुनै रोग नलगाइकन त्यसभित्र बसिरहेको थियो । तर मानिसहरूले वनजंगल फँडानी गर्दै गाउँ र शहर बसाउन थालेपछि पशुहरूमा रहेका माइक्रोबहरू मानव शरीरमा प्रवेश गरेर आफूलाई अनुकूलन गर्न थाले र घातक बन्न पुगे । हानिरहित माइक्रोबहरू यसरी खतरनाक मानव प्याथोजिन अर्थात् रोगाणु बन्न पुगेका हुन् । 

उदाहरण दिनुपर्दा, मानव हस्तक्षेपका कारण वासस्थान उजाडिएपछि चमेराहरू मानिसको घरखेतमा रहेका रुखहरूमा बस्न थाले । त्यसले गर्दा चमेरोको थुक परेको फलफूल मानिसले टोक्दा माइक्रोबहरू मानव शरीरमा प्रवेश गर्ने अवसर प्राप्त भयो । अनि कुनै समुदायले त चमेरो खाने समेत गरेका छन् । यसरी चमेरोको कोशिकामा लुकेर बसेको जीवाणु मानव शरीरमा पस्ने अवसर पायो । 

मानिसले वन्यजन्तुको वासस्थान उजाडेको मात्र नभई आफ्नो मांसाहारी प्रवृत्तिलाई सन्तुष्ट बनाउन क्रूर तरिकाले मांसउद्योग सञ्चालन गर्ने गरेको अर्को भयावह अवस्था छ । द गार्डियन पत्रिकामा जर्ज मोन्बियोटले लेखेअनुसार, लगभग अफ्रिका महादेश जतिको भूभाग ओगटेको जंगल फाँडेर मानिसहरूले मासु खानैका लागि पशुपालन (एनिमल फार्मिङ) गर्ने गरेका छन् । 

अनि वन्यजन्तुको अवैध तस्करी गरेर तिनीहरूलाई एकअर्काको नजिकै खोरमा थुनेर राख्दा एक पशुमा रहेको माइक्रोब अर्कोमा जान सहज भएको र त्यहाँबाट मानिसमा सरेको पाइएको छ । चीनको वुहानमा रहेको पशुबजारबाट अहिलेको कोरोनाभाइरसले महामारीको रूप लिएको भन्ने बुझाइ छ । 

मासु खानका लागि पालिएका पशुहरूले गर्ने बिष्टाले पनि भाइरस संक्रमण बढाइरहेको अध्ययनले देखाएको छ । अहिले पशुको बिष्टा खेतहरूमा मलका रूपमा प्रयोग गर्न मिल्ने भन्दा धेरै बढी निस्कने गरेकाले तिनको व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । 

अमेरिकामा गरिएको एक अध्ययनअनुसार, ई–कोली नामक ब्याक्टेरिया गाईवस्तुको आँतमा हानिरहित तरिकाले बसिरहेको हुन्छ र गाईवस्तुले बिस्ट्याउँदा त्यो बिष्टामा बसिरहन्छ । त्यसको संसर्गमा आएको पानी पिउँदा मानिसलाई रगतमासी हुने र मिर्गौलाले काम गर्न छोड्ने समस्या देखिन्छ । यस्तो समस्याबाट ९० हजार अमेरिकीहरू प्रत्येक वर्ष आक्रान्त हुने गरेको आँकडा उपलब्ध छ । 

पशुजगत् तथा प्रकृतिको चरम दोहन गर्ने मानवीय प्रवृत्ति अन्त्य नहुन्जेलसम्म विभिन्न रोगाणुजन्य महामारीहरू फैलिरहनेछन् । खास भन्ने हो भने प्रकृतिदोहनको यो प्रवृत्ति पूर्वमा भन्दा पनि पश्चिममा बढी देखिएको छ । एनिमल फार्मिङ र मासुको औद्योगिक उत्पादन पश्चिममा व्यापक छ । त्यसका लागि उनीहरूको विश्वदृष्टिकोण (वर्ल्डभ्यु) मै समस्या छ । 

पश्चिमको विश्वदृष्टिकोण बाइबलबाट प्रेरित छ । बाइबलको पुरानो करार अर्थात् ओल्ड टेस्टामेन्टमा रहेको जेनेसिस १ः२६–२८ मा यो सम्पूर्ण पृथ्वीका प्राणीहरूमा मानिसकै आधिपत्य (डोमिनियन) हुनेछ भनी लेखिएको छ । 

यसैलाई आधार बनाएर अमेरिकाका प्रख्यात इतिहासकार लीन ह्वाइटले सन् १९६७ मा एउटा निबन्ध प्रकाशन गरेका थिए– ‘द हिस्टोरिकल रूट्स अफ आवर इकोलोजिकल क्राइसिस’ अर्थात् पर्यावरणीय संकटको ऐतिहासिक मूल शीर्षकमा । त्यसमा उनले क्रिस्चियन धर्म मानवकेन्द्रित रहेको र पर्यावरणीय संकट त्यसैले गर्दा निम्तिएको भनी तर्क गरेका छन् । 

उनैले पछि सन् १९७३ मा ‘कन्टिन्युइङ द कन्भर्सेसन’ शीर्षकको अर्को निबन्ध लेखेर पश्चिममा धर्मलाई विस्थापित गर्न खोज्ने विज्ञानवादी–तर्कवादी ‘इन्लाइटनमेन्ट’ विश्वदृष्टिकोणले पनि प्रकृति र मानवलाई दुई भिन्न वस्तु(म्यान–नेचर डुआलिजम) का रूपमा प्रस्तुत गर्दै मानवको आधिपत्यलाई वकालत गरेकाले वातावरणीय दोहनलाई निरन्तरता दिइएको भनी तर्क गरे । 

यसरी पश्चिमको प्राचीन तथा आधुनिक विश्वदृष्टिकोणमै समस्या रहेको देखिएको छ । ह्वाइटले स्पष्ट शब्दमा लेखेका छन्, ‘मानवको सेवा गर्ने बाहेक प्रकृतिको अस्तित्वको कुनै अर्थ छैन भन्ने पश्चिमी अवधारणा नत्यागुन्जेल हामीले पर्यावरणीय संकट भोगिरहनेछौं ।’

प्रकृतिलाई माता मानेर आफूलाई ठिक्क चाहिने कुरा मात्र लिँदै जीवन निर्वाह गर्ने पूर्वीय सनातनी संस्कारलाई हामीले अचेल भुल्दै गएका छौं । पश्चिमको अन्धानुकरण गर्ने नाममा हामी उनीहरूकै सोच र जीवनपद्धति अपनाउँदैछौं । यसले गर्दा हाम्रो भूगोलमा पनि पर्यावरणीय संकटहरू देखिन थालेका छन् ।

हाम्रा वैदिक ग्रन्थहरूको अध्ययन गर्ने हो भने पशु तथा प्रकृतिको संवर्धन गर्नुपर्ने निर्देशन दिइएको पाइन्छ । अथर्ववेदमा लेखिएको छ :

पार्थिवा दिव्याः पशव आरण्या ग्राम्याश्च ये
अपक्षः पक्षिणश्च ये ते जाता ब्रह्मचारिणः । (११,५,२१)

यसको भावार्थ हो– पृथ्वी र आकाशका तत्त्व (प्रकृति), घरेलु तथा जंगली पशुपंछीहरूलाई ब्रह्मचारीहरूले संरक्षण गर्नुपर्छ । 

उपभोक्तावादी दृष्टिकोण राखी मनुष्यले पशुहत्या गर्नुुहुँदैन भन्ने कुरा यजुर्वेदमा स्पष्टसँग लेखिएको छ (१३ः४७) :

इमं मा हिंसीर्द्विपादं पशु सहस्राक्षो मेधाय चीयमानः ।

यसको भावार्थ हो– कुनै पनि मनुष्यले सबैको उपकार गर्ने पशुको कहिले पनि हत्या गर्नुहुँदैन, बरू तिनको रक्षा गरेर तिनको माध्यमले सम्पूर्ण जगतलाई आनन्द दिनुपर्छ । 

पशु र पक्षीलाई मार्ने मनुष्यलाई दण्डको व्यवस्था पनि वेदले गरेको छ (यजुर्वेद (१३ः५१) । 

वैदिक ऋषिहरूले वातावरणलाई भौतिक सुखको माध्यमका रूपमा नलिएर मनुष्य जीवनसँग अभिन्न रूपमा जोडिएको चिन्मयशक्ति हो भनेका छन् जबकि पश्चिमी भौतिकवादीहरू प्रकृतिलाई जड वस्तु मानेर त्यसको उपभोगलाई सही ठहर्‍याउँछन् । वैदिक परम्पराकै अनुसरण गर्दै हाम्रो समाजले पनि पानीको मूल भएको ठाउँमा फोहर नगर्न, नागदेवताको पूजा गर्न लगायतका संस्कार अनुपालन गर्ने गर्छ । यस्तै किसिमको आचरण विभिन्न मुलुकका आदिवासी समुदायहरूमा पनि पाइन्छ । 

तर आधुनिकतासँगै भित्रिएको पश्चिमीकरण अभियानले पूर्वीय संस्कृति क्षीण पारिँँदै गएको छ र पश्चिममा देखिने गरेका समस्या यता पनि देखापर्न थालेका छन् । वैदिक निर्देशन पालन गर्दै पर्यावरणीय तथा पारिस्थितिकीय चिन्तनलाई केन्द्रमा राखे मात्र विभिन्न किसिमका महामारीहरूबाट संसारलाई जोगाउन सकिन्छ ।  

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्