२६ जेठ २०८३, मंगलबार

काठमाडौँ महानगरका पसल किनमेलका लागि बिहान १० बजेसम्म खुल्ने

बैशाख १४, २०७७
काठमाडौँ महानगरका पसल किनमेलका लागि बिहान १० बजेसम्म खुल्ने

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ।

सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका हुन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव पनि वडाध्यक्षहरुले दिएका थिए। मेयर शाक्यले पनि वडाध्यक्षलाई भाैतिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गरे।

बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रित भएर छलफल गरेको थियो।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै मेयर शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए। ‘कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा २ सय २१ लाई सेवा दिएको छ,’ उनले भने, '१०२ नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने सो एम्बुलेन्सले १ सय ७६ जनालाई निशुल्क सेवा दिएको छ। त्यसैगरी यो अवधिमा दिउँसो १५ सय ३३ र रात्रीमा ८ सय ४५ जनालाई सेवा दिएको छ भने ५ जना प्रसुतीका विरामीलाई सेवा दिएको छ।’

प्रमुख शाक्यले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निशुल्क सेवा दिएको पनि जानकारी दिए। लकडाउन अवधीभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएको पनि उनले जानकारी दिए। 
 
मेयर शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले बिकृतिमा न्युनीकरण भएको भन्दै कोरोनाविरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नु नपर्ने प्रष्ट पारे। ‘कोषबाट पठाइएको रकमबाट आफैं खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरुलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला।’

बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ। ठूलालाई १५ लाख, मझौलालाई १० लाख  र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ। त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ। बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै जानुपर्नेमा जोड दिइन्।

 

salt training

कमेन्ट गर्नुहोस्