आर्थिक सहायता जुटाउन अर्थमन्त्रीको दौडधुप, एडीबीका अध्यक्षसँग वार्ता

अर्थमन्त्री डा. युवराज खतिवडा कोरोना भाइरसका कारण थिलोथिलो भएको अर्थतन्त्र उकास्न आवश्यक पर्ने स्रोत जुटाउन सक्रिय भएका छन्।

लकडाउन पश्चात २ खर्बको क्षति भएको सार्वजनिक रुपमा बताएका अर्थमन्त्री खतिवडा अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बै्रकसँग लभिङ गरिरहेका छन्। 


Advertisement

यसैबीच, खतिवडाले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासाचुगु आसाकावासँग वार्ता गरेका छन्। अर्थमन्त्री खतिवडाले कोरोनाका कारण परेको असर र त्यसमा एडीबीले गर्न सक्ने सहयोग बारे बुधबार टेलिफोनका माध्यमबाट वार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ।

खतिवडाले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एडीबीले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे।


Advertisement

स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि उनले गरे। अर्थमन्त्रीले कोभिड –१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरे। 

एडीबीका  अध्यक्ष आसाकावाले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराएका थिए।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्