के ओली वामदेवको गुन तिर्न खोज्दैछन् ?

विमल गौतम
विमल गौतम

लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् ।

बुधवार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अनपेक्षित प्रस्ताव राखे– वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाऔं ।

उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले नेकपाभित्र मात्र होइन देशकै राजनीति तरंगित भएको छ । विश्वस्त स्रोतका अनुसार, यो प्रस्तावको बारेमा स्वयं गौतम समेत अनविज्ञ थिए । सचिवालयका कुनै पनि सदस्यले छनक पाएका थिएनन् ।


Advertisement

ओलीको मुखबाट भावी प्रधानमन्त्री रूपमाको प्रस्ताव गरिएपछि गौतमले आफूलाई उक्त प्रस्ताव सुन्दा सपना जस्तो अनुभव भएको बैठकमा सुनाए । गौतमलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव ओलीको चालबाजी हो कि उनले गौतमलाई गुन तिर्न खोजेका हुन् ? यसको विवेचना गरौं ।

नेकपाभित्र पछिल्लोपटक देखिएको संकटको बिजारोपण गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्ने निर्णय कार्यान्वयनमा ओलीले बेइमानी गरेपछि शुरू भएको हो । फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा गौतमको नाम पठाउने निर्णय गर्‍यो, तर निर्णय भएको एकघण्टा नबित्दै ओलीले माधवकुमार नेपाल लगायत नेतालाई फोन गरेर सहमति कार्यान्वयन गर्न बाध्य नहुने सन्देश पठाए ।


Advertisement

सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरेको भन्दै ओलीविरुद्ध भैँसेपाटीमा गठबन्धन निर्माण भयो । सचिवालयको निर्णय कार्यान्वयन गर्न दबाब दिने भैँसेपाटी गठबन्धनको निर्णय थियो । ओलीइतर समूहले त्यो बेला नै ओलीविरुद्ध मोर्चा कसेका थिए । 

तर ओली अचानक अस्पताल भर्ना भएपछि नेकपाभित्रको विवाद दुई महिनापछि धकेलियो । पछिल्लो समय २ अध्यादेशका कारण ओलीविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल लगायत नेताहरू एक ठाउँमा उभिए ।   

ओली गलेको कि नयाँ रणनीति ?

बुधवार सचिवालय बैठकको शुरूमै अध्यक्ष प्रचण्डले सरकार असफल बन्दै गएको भन्दै प्रधानमन्त्री ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे । प्रचण्डलाई बीचमै रोकेर ओलीले प्रश्न गरे, ‘म राजीनामा गर्न तयार छु, तर तपाईंहरूले कसलाई प्रधानमन्त्री बनाउने सोच्नुभएको छ ? त्यो भन्नुपर्‍यो नि, ल अबको प्रधानमन्त्रीको बारेमा पनि जानकारी गराउनुहोस् ।’ 

ओलीको प्रस्तावले बैठकमा एकछिन सन्नटा छायो । नेताहरू मुखामुख गरे तर कसैले केही बोलेनन् ।

ओलीले फेरि थपे, ‘ल साथीहरूले मलाई सहयोग गर्नु भएन । म छाड्न तयार भएँ । कोरोनाको संकट सकिएपछि मैले राजीनामा गर्छु । त्यसपछि को त ? तपाईहरूसँग विकल्प छैन ? विकल्पविनाको प्रस्ताव अपूर्ण पो भयो त । म दिन्छु पूर्ण प्रस्ताव– वामदेवजीलाई प्रधानमन्त्री बनाऔं । माधवजीलाई तेस्रो अध्यक्ष ।’

ओलीले वामदेवको नाम प्रस्ताव गरेपछि प्रचण्डले एक शब्द बोले, ‘ल ठीकै छ !’

वामदेवलाई सबैले प्रयोग गरेको र यसअघि नै अबको प्रधानमन्त्री वामदेवलाई बनाउनेबारे प्रचण्ड र नेपालसँग कुरा भएको ओलीले त्यहाँ स्मरण गरे । 

गौतमलाई प्रधानमन्त्री बनाउन ओलीले गरेको प्रस्तावलाई धेरैले ‘नयाँ कार्ड’ को संज्ञा दिएका छन् । स्वयं गौतम निकट मानिएका व्यक्तिहरू समेत ओलीले यस्तो प्रस्ताव ‘टाइम बाइ’ गर्न र केही समय सत्ता लम्ब्याउन ल्याएको हुन सक्ने अड्कल गरिरहेका छन् ।  

तर ओली समूह भने गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कुनै कुटील चाल नभएको दाबी गर्छ । ‘हुन त यो प्रस्ताव ल्याउनेबारे उहाँले हामीसँग सल्लाह गर्नुभएको होइन, तर यो प्रस्ताव कुनै चालबाजी होइन,’ ओलीनिकट एक नेताले लोकान्तरसँग भने, ‘छाड्नै पर्ने भएपछि आफ्नो जोडतोडले विरोध गरेकालाई भन्दा विगतमा सहयोग गरेकालाई बुझाइदिऊँ भनेर सोच्नुभएको हुनसक्छ ।’

गौतमलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुअघि भूमिका बाँध्दै  ओलीले भने, ‘उहाँलाई हामी सबैले यतिञ्जेल प्रयोग मात्र गर्‍यौं । अब प्रधानमन्त्री बन्दा वामदेवजी नै हो भनेर प्रचण्डजी र माधवजीसहित कुरा भएकै हो । त्यो सहमति कार्यान्वयन गरौं न त ।’   

नेकपा स्रोतका अनुसार संसदीय दलमा बहुमत सिद्ध गर्न नसकेपछि ओलीले ‘सेफ ल्यान्डिङ’ को विकल्पमा जाने सोचाइ बनाएका हुन् । 

कथंकदाचित संसदीय दलमा बहुमत कायम गरेपनि संसद्‍मा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेलामा प्रचण्ड–नेपाल समूहले असहयोग गरेमा कार्यक्रम असफल हुने खतरा देखेर ओली टकरावमा नजाने निष्कर्षमा पुगेको हुनसक्ने स्रोतहरूको दाबी छ ।  

संसद्‍मा राष्ट्रपतिले पेश गरेको सरकारका नीति तथा कार्यक्रम फेल भएमा सरकार ढल्छ भन्ने संसदीय मान्यता छ । बजेटअघि संसद्‍मा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने गरिएको छ ।

सचिवलायमा वामदेवको पक्षमा बहुमत !

नेकपा सचिवालय बैठकमा ओलीले वामदेवलाई भावी प्रधामनन्त्रीको रूपमा प्रस्ताव गरेपछि शुरूमा प्रचण्डले ठीकै छ भनेर समर्थन गरे । 

त्यो प्रस्तावपछि नेता झलनाथ खनालको अनुहारमा कुनै असन्तुष्टि या विरोधको भाव देखिएन । त्यसको अर्थ झलनाथले त्यो प्रस्तावलाई रुचाए भन्ने हो । प्रधानमन्त्रीले ल्याएको प्रस्ताव भन्दै उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पनि समर्थन जनाए । ‘सुविचारित हो भने प्रधानमन्त्रीको प्रस्तावमा मेरो पनि समर्थन छ,’ भनेर महासचिव विष्णु पौडेलले पनि समर्थन जनाए ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रिया जनाएनन्, तर प्रधानमन्त्रीको प्रस्ताव सुनेपछि उनको अनुहारमा भने चकम नदेखिएको स्रोतको भनाइ छ ।

नाराणकाजी श्रेष्ठ र रामबहादुर थापाले चाहिँ प्रधानमन्त्रीको प्रस्तावको घुराउरो पारामा विरोध जनाएका थिए । 

ओलीको प्रस्ताव कार्यान्वयन हुनेमा प्रचण्डले आशंका व्यक्त गरेका थिए । 

‘कोराना सकिएपछि वामदेवजीलाई प्रधानमन्त्री बनाऔं र माधव नेपाललाई अध्यक्ष बनाऔं, अहिले नै माइन्युट गरौं,’ ओलीले प्रस्ताव गरेका थिए । उनले कोरोना संक्रमण भनेर लकडाउनप्रति संकेत गरेको सचिवालयका एक नेताले बताए ।

सचिवालय स्रोतका अनुसार गौतमलाई प्रधामनन्त्री बनाउने प्रस्तावमा नेकपा सचिवालयमा स्पष्ट बहुमत देखिएको छ । 

प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम, उपप्रधानमन्त्री पोखरेल, वरिष्ठ नेता खनाल र महासचिव पौडेल गरी ५ जना प्रस्तावको समर्थनमा प्रकट भैसकेका छन् ।

पुरानो मित्रता र दुःखका बेला सहयोग गर्दै आएका कारण प्रचण्ड स्वयंले पनि वामदेवको नाममा विमति जनाउने कारण देखिँदैन ।

प्रचण्ड–नेपाललाई धर्मसंकट !

भावी प्रधामनन्त्रीको रूपमा ओलीले गौतमको नाम प्रस्ताव गरेपछि भैँसेपाटी गठबन्धनका नेताहरूलाई धर्मसंकट परेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले नेता गौतमको घरमा पटक–पटक बैठक गरेका थिए । यो गठबन्धनलाई भैँसेपाटी गठबन्धन नामकरण गरिएको छ ।

ओलीलाई राजीनामा गराउर्नु पर्छ भन्ने भैँसेपाटी गठबन्धनको मुख्य माग थियो । ओलीले राजीनामा गर्छु, गौतमलाई प्रधामनन्त्री बनाऔं भनेपछि प्रचण्ड नेपाललाई साँच्चिकै धर्मसंकट परेको छ । 

‘प्रधानमन्त्रीबाट त्यस्तो प्रस्ताव आएपछि नेताहरू छलफलमै हुनुहुन्छ, तर ओलीले अगाडि सारेको प्रस्ताव मान्दैनौं भनेर जान सक्ने अवस्था पनि छैन । कि त ओलीको राजीनामा माग्नु हुँदैन थियो । राजीनामा माग्ने अनि राजीनामा दिन्छु भनेपछि ‘ओलीले प्रस्ताव गरेकै कारण वामदेवालाई स्वीकार गर्दैनौं’ भन्ने सबाल रहन्न,’ नेकपाका एक प्रभावशाली नेता भन्छन् ।

स्रोतका अनुसार प्रचण्ड या नेपालले वामदेवको नाममा समर्थन नजनाए उनीहरूमाथि नै नैतिक प्रश्न उठ्ने स्थिति छ, किनभने ओलीको राजीनामा मागिसकेको अवस्थामा ‘अबको प्रधानमन्त्री आफूहरू भए ठीक, अरू भए बेठिक भन्ने’ गलत सन्देश जाने अवस्था छ । 

‘प्रधानमन्त्री हुनका लागि गौतम कुनै पनि हिसाबले अयोग्य छैनन्,’ नेकपाकै एक नेता भन्छन्, ‘नेकपाको सचिवालयमा रहेका शीर्ष नेताको भन्दा पार्टी निर्माणमा उनको योगदान र अनुभव कुनै पनि हिसाबले कम छैन ।’ 

इमान्दारीपूर्वक ल्याइएको भए ओलीको पछिल्लो प्रस्ताव कार्यान्वयनमा केही समय लाग्छ । तर गौतमको नाम अगाडि सारेर ओलीले आफ्नो राजीनामा माग गरिरहेका प्रचण्ड–नेपाल समूहलाई सबक सिकाएका छन् । 

‘एकातिर गुन लगाएजस्तो र अर्कोतिर आफूविरुद्धको मोर्चा भत्काएजस्तो देखिएको छ, प्रचण्ड–नेपाललाई अप्ठ्यारो पारेका छन्,’ नेपाल समूहका एक नेताले भने । 

‘भैँसेपाटी गठबन्धनका सूत्राधार भएकाले वामदेवको नाम अस्वीकार गर्न सक्ने अवस्था छैन, तर यो निर्णय पनि पार्टीमा विधिसम्मत गर्नुपर्छ, अर्थात् स्थायी कमिटीबाट निर्णय गराउनुपर्छ,’ नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने ।

सिंहदबारका तगारा

कोरोना संकट सकिएपछि आफूले मार्ग प्रशस्त गरिदिएर वामदेवलाई प्रधानमन्त्री बनाउन ओलीले गरेको प्रस्तावले राजनीतिक सरगर्मी बढेको छ, तर सिंहदरवार पुग्ने बाटो सहज छैन । राष्ट्रिय सभाको रिक्त स्थानमा गौतमलाई लैजाने र राष्ट्रिय सभाको सदस्य पनि प्रधामनन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नु छोटो बाटो हो । 

संविधान संशोधनका लागि दुईतिहाइ पुर्‍याउन कठिन छ तर असम्भव छैन ।  गौतम स्वयंले संविधान संशोधन नभई राष्ट्रिय सभामा नजाने अडान राखेका थिए । प्रतिनिधि सभाको सदस्य भइसकेर कार्यबहाक प्रधानमन्त्री समेत चलाइसकेको हुनाले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने भन्ने विभेदकारी प्रावधान हटाउनुपर्ने आफ्नो उद्देश्य रहेको तर्क गौतमले गर्दै आइरहेका छन् । 

‘नेपालले अहिले गरिरहेको अभ्यास खाटी संसदीय व्यवस्था (वेस्ट मिनिस्टर प्रणाली) होइन । भारतमा जस्तो तल्लो सदन पूरै प्रत्यक्ष निर्वाचित सांसदको मात्र सदन रहेन । चुनाव नलडी समानुपातिकबाट सांसद बनेको व्यक्ति प्रधामनन्त्री बन्न पाउने तर राष्ट्रिय सभाको किन नपाउने भन्ने तर्क पनि छ,’ नेकपानिकट एक वरिष्ठ अधिवक्ताले लोकान्तरसँग भने, ‘तर सानो प्रयत्नले संविधान संशोधनमा सहमति जुट्ने सम्भावना कम छ ।’

वामदेवलाई संसद्‍मा लैजाने अर्को विकल्प नेकपाका सांसदले चुनाव जितेको कुनै क्षेत्र खाली गराएर उपनिर्वाचन गर्ने हो । यसका लागि केही समय लाग्न सक्छ । ‘दोस्रो विकल्पमा जाने सम्भावना प्रबल छ । २० गतेको बैठकले यसबारे प्रस्ट गर्छ,’ सचिवालयका एक सदस्यले लोकान्तरसँग भने, ‘पार्टीबाट निर्णय भएपछि उहाँलाई जिताउन सिंगो पार्टी लाग्छ र उहाँ चुनाव जितेर आउने सुनिश्चित हुन्छ ।’

गौतमलाई गुन तिर्दै ओली !

आफूलाई विगतमा सहयोग गरेका आफ्ना हितैषीलाई ओलीले हदैसम्म सहयोग गर्ने गरेका छन् । युवासंघको अध्यक्ष रहेको समयमा महेश बस्नेतले माओवादीको तत्कालीन युवा संगठन वाईसीएलको प्रतिकारका लागि युथफोर्स गठन गरे । 

युथफोर्सका क्रियाकलापलाई लिएर बस्नेतको चर्को आलोचना भयो । उनलाई ‘राजनीतिक गुण्डा’को आरोप लाग्यो । ओलीले भने बस्नेतलाई उद्योग मन्त्री बनाएर पुरस्कृत गरिदिए । यस्ता अनगिन्ति उदाहरण छन्, जहाँ ओलीले आफूलाई परेको बेला साथ दिने, दुःखमा सघाउनेलाई मज्जैले गुन तिरेका छन् । 

तत्कालीन नेकपा एमालेको पछिल्लो महाधिवेशनमा गौतमको सहयोगका कारण ओली अध्यक्ष निर्वाचित हुन सम्भव भएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि ओलीलाई संसदीय दलको नेता निर्वाचित गर्न पनि गौतमले नै निर्णायक भूमिका खेलेका थिए । अप्ठ्यारो परिस्थितिमा गौतमले ओलीको काँध थापेको इतिहास छ । 

‘ओलीलाई यो हैसियतमा पुर्‍याउन वामदेव कमरेडको ठूलो योगदान छ तर ओलीबाट उहाँले अहिलेसम्म कुनै सहयोग पाउनुभएको छैन,’ गौतमनिकट मानिने एक पूर्वसांसदले भने, ‘शायद उहाँले ठण्डा दिमागले सोच्नुभयो कि ? झूटको निम्तो खाई पत्याउनु भन्छन्, अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’

चुनावमा वामपन्थी गठबन्धन बनाउन निर्णायक भूमिका खेलेको, वामपन्थी गठबन्धनको घोषणा पत्र बनाएको तथा पार्टी एकतामार्फत देशको सबैभन्दा ठूलो पार्टी र २ कम्युनिस्ट पार्टी एक बनाउन गौतमले खेलेको योगदानको ओलीले ढिलै भएपनि मूल्यांकन गरेको विश्लेषण गर्नेको पनि कमी छैन । 

पार्टी एकताका सूत्राधार 

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि दशक अघिसम्म एमाले र माओवादी एकले अर्काको अस्तित्व स्वीकार गर्दैनथे ।

माओवादीलाई एमालेले उग्रवामपन्थी भड्काव भएको अतिवादी शक्तिको रूपमा चित्रण गरेको थियो भने माओवादीले एमालेलाई पश्चगामी र दक्षिणपन्थीको आरोप लगाउँदै आएको थियो ।

२०७० सालको चुनावसम्म यी पार्टी एकअर्काविरुद्ध भिड्ने रणनीतिमा थिए । कतिपय ठाउँमा यी दुई दलका कार्यकर्ताबीच झडप भइरहन्थ्यो । 

कार्यकर्ताहरू भौतिक रूपमा भिडेको त्यो प्रतिकूल समयमा पनि वामदेवले दुई पार्टीबीच सहकार्य र एकताका लागि पहल गरिरहे ।  माओवादीसँग मिल्ने प्रस्ताव गर्दा गौतमलाई ‘एमालेभित्रको माओवादी’ को ट्याग समेत लाग्यो ।

प्रचण्ड स्वयंलाई प्रधानमन्त्री बनाउन पनि गौतमले भूमिका खेलेका थिए । 

पहिलो संविधान सभामा सरकार गठन र विघठनको चक्र चलिरहेको थियो । १७ औं पटक मतदान गर्दा समेत देशले निकास नपाएको समयमा गौतमले निकासका लागि पहल कदमी लिए ।

गौतमको प्रयास र प्रचण्डको निर्णय क्षमताका कारण झलनाथ खनाल प्रधानमन्त्री बने । 

२०७२ सालमा दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन पनि गौतमले नै प्रमुख भूमिका खेले ।

माओवादी–एमाले तिक्त सम्बन्धलाई सत्ता गठबन्धनमा सहमत गराउन गौतमको भूमिका अहम् रह्यो । 

मुलुक बनाउने सपना बोकेका नेता

पछिल्लो समयमा नेपाल बनाउने खाका, भिजन र रणनीति बनाएर बसेको नेता नेपालमा कोही छ भने त्यो वामदेव गौतम नै हो । गौतमले ‘नेपाल नवनिर्माण महाअभियान’ नामक पुस्तक नै प्रकाशन गरेका छन् । 

शंका गर्ने, निराशा र हल्ला फैलाउने परपीडकहरूको बाहुल्यता रहेको हाम्रो समाजमा नकारात्मक कुराको बढी चर्चा हुन्छ, वामदेवको त्यो पुस्तकको बिरलै चर्चा भएको छ ।

उक्त पुस्तकमा गौतमले समयतालिका नै तोकेर यो–यो काम यसरी गर्न सकिन्छ र त्यसका लागि आर्थिक स्रोत यसरी जुटाउन सकिन्छ भनेर गहिरो, अध्ययन र विश्लेषण गरेका छन् । मुलुक बनाउने खाका पस्केका छन् ।

समकालीन राजनीतिमा गौतमले जुन अध्ययन, मेहेनत र भिजनका साथ त्यो पुस्तक लेखेका छन्, त्यति मेहेनत अरू नेताले गरेको पाइँदैन । 

चुनावी घोषणापत्रका योजनाकार 

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको सूत्राधार समेत रहेका गौतम संयोजकत्वको समितिले वामपन्थी गठबन्धको संयुक्त चुनावी घोषणापत्र तयार गरेको थियो । संयुक्त वामपन्थी घोषणालाई अनुमोदन गरेर नेकपालाई जनताले भारी बहुमत दिए । ओलीको नेतृत्वमा सरकार गठन भयो, तर गौतम भने लामो समय भूमिकाविहीन बनाइए । 

आठ लाख कार्यकर्ता परिचालनको जिम्मेवारी

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका गरी करिब ८ लाख संगठित सदस्य छन् । संगठन विभागको हैसियतले उनीहरूको परिचालनको जिम्मा वामदेवको काँधमा छ । शिथिल अवस्थामा रहेका नेकपा संगठनलाई गतिशील तुल्याउने जिम्मेवारी पनि गौतमकै काँधमा छ ।

नेकपाभित्र गौतम अध्ययनशील, क्रियाशील, सिद्धान्तको व्याख्या गर्न सक्ने र जुझारू नेताको रूपमा परिचित छन् । पार्टीको सिद्धान्तका बारेमा लामालामा लेख लेख्ने गौतमले देश विकास र समृद्धिको खाका कोर्ने, ‘नेपाल नवनिर्माण महाअभियान’ नामको पुस्तक लेखेर दलका नेताहरू अध्ययन गर्दैनन् भन्ने आरोपको व्यावहारिक रूपमै खण्डन गरिदिएका छन् । देशले आर्थिक विकासमा फड्को मार्न परम्परागत कृषिको आधुनिकीकरण तथा पूर्वाधार विकासबारे पुस्तकमा नयाँ अवधारणा अगाडि सारिएको छ ।

पार्टीले खटाएको जिम्मेवारी निष्ठा र इमान्दारीपूर्वक सम्पन्न गर्ने गौतमको पहिचान छ । खरो स्वभावका गौतम पार्टीले आन्दोलन गर्ने निर्णय गर्दा ‘कमरेडहरू माइन्युट गर्दै गर्नुस्, म आन्दोलनमा हिँडे’ भनेर तत्कालै एक्सनमा उत्रिने गरेको समकक्षीहरू बताउँछन् । 

भित्री यथार्थ र बाहिरी बुझाइ 

मानिसहरू वामदेवलाई पनि आम नेपाली नेतालाई जस्तै गाली गर्छन् । जुन जोगी आएपनि कानै चिरेका त हुन् नि भनेर उनको पनि आलोचना हुने गर्छ । तर गौतमसँग वर्षौंदेखि संगत गर्नेहरूका अनुसार गौतम समकालीन नेतामध्ये सबैभन्दा बढी इमान्दारिता भएका नेतामा पर्छन् । उनमा छलकपट भन्ने प्रवृत्ति छैन । उनी सिधा–सिधा कुरा गर्छन् । चित्त नबुझेको कुरा तत्काल व्यक्त गर्छन् तर कसैविरुद्ध षड्यन्त्र गरेर हिँड्दैनन् ।

आर्थिक पाटोमा बाहिर जबरजस्त प्रचार गरिएजस्तो उनले बदनामी हुनेगरी कुनै गलत काम गरेका छैनन् ।

उनी जे देख्छन्, ठान्छन् वा बुझ्छन्, त्यही बोल्छन् । मनमा एउटा कुरा, बाहिर अर्काे ढोंगी कुरा गर्दैनन् । गौतम यथार्थवादी र प्रस्ट कुरा गर्छन् । व्यवहारमा पनि त्यही लागू गर्ने प्रयास गर्छन् ।

भूमिका पाए काम गरेर प्रमाणित गर्ने छवी बनाएका गौतमले विगत केही वर्षयता नेपालमा विकास निर्माणका काम गर्न आवश्यक पर्ने स्रोतका बारेमा भित्रभित्रै व्यापक काम गरेको र त्यो नतिजाउन्मुख रहेको स्रोतहरू दाबी गर्छन् ।

विमल गौतम
विमल गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्