निकुञ्जमा प्रफुल्लित वन्यजन्तु

लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने  वन्यजन्तु प्रफुल्लित छन् ।
 
सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक एक हजारभन्दा बढी पर्यटक घुमफिर गर्दथे । निकुञ्जको बाटो हुँदै माडीलगायतका ठाउँमा मानिस ओहोरो–दोहोर गर्दथे । लकडाउनसँगै मानवीय गतिविधि शून्यजस्तै भएपछि निकुञ्ज हराभरा हुनुका साथै वन्यजन्तु रमाइरहेका हुन् । निकुञ्जमा अहिले सुरक्षागस्तीका बाहेक अन्य मानिस छिर्न पाएका छैनन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले एउटा घाँसेमैदानमा ६०० सम्म चित्तल, एउटै पोखरीमा १४ वटासम्म गैँडा, सौराहाबाट कसरासम्मको १७ किलोमिटर यात्रा गर्दा ३२ गैँडा देखिएको बताए। उनका अनुसार निकुञ्जको भिम्लेफाँटमा कर्मचारीले ६०० चित्तल गनेका थिए । काभ्रेतालमा पाँच दिनअघि रुपाखेती आफैंले १४ गैँडा देखेको बताए। उनी आफैँ सौराहाको प्रवेशद्वारबाट कसरासम्म जाँदा चार बच्चासहित ३२ गैँडा देखेका थिए। यो बाटो जिप सफारीको बाटो हो । उनले भने, 'एउटै फाँटमा ४२ गौरीगाई पनि देखिएका छन् । मानवीय गतिविधि बन्द भएपछि निकुञ्जमा वन्यजन्तु स्वतन्त्र विचरण गरिरहेका छन् ।'


Advertisement

चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । यो समयमा नियमितजस्तै पानी परेर आगो नियन्त्रण भएको, माटोमा चिस्यान पुगेको र घाँसे मैदान व्यवस्थापन गरिएसँगै निकुञ्जका विभिन्न क्षेत्रमा पर्याप्त घाँस देख्न सकिन्छ । तिनै घाँसेमैदानमा वन्यजन्तु रमाउँदै विचरण गर्ने गरेको उनको भनाइ छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार दैनिक ७२ वटा जिप निकुञ्ज छिर्ने गर्दथे । जसले दैनिक एक हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमाउन लैजाने गर्दथे । सौराहाबाट ३२, कसराबाट २५, अमलटारीबाट पाँच, मेघौलीबाट नौ र माडीबाट एउटा जिपलाई निकुञ्ज प्रवेश अनुमति छ । एउटा जिपमा १० पर्यटक बस्ने व्यवस्था हुन्छ । ती जिपले पर्यटकअनुसार दिनमा दुई तीन पटकसम्म निकुञ्ज जाने गर्दथे । उप्रेतीको भनाइमा निकुञ्ज हुँदै माडी, ठोरीका जनता ओहोरदोहोर गर्नेमा त्यो क्रम पनि अहिले न्यून छ ।
 
गत वर्ष चैत महिनामा २२ हजार ३२९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । वैशाखमा यो सङ्ख्या २२ हजार ६८७ थियो । तर यस वर्ष वैशाखमा शून्य छ भने चैतको १० दिनमा तीन हजार ९०६ जनाले निकुञ्ज घुमेका थिए । निकुञ्ज हराभरा हुँदै गर्दा वर्षभरिको पर्यटकको सङ्ख्या भने न्यून हुने देखिएको छ । गत वर्ष एक लाख ८७ हजार १०९ पर्यटक निकुञ्ज छिरेकामा यस वर्षको चैत १० गतेसम्म यो सङ्ख्या एक लाख ७० हजार ३२८ पुगेको थियो ।
 
संरक्षणकर्मी एवं जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले मानिसको चहलपहल घटेसँगै निकुञ्जभित्र वन्यजन्तुको चहलपहल बढेको बताउनुभयो । यो मौसम पालुवा पलाउने, फूल फुल्ने र जनावरले प्रजनन गर्ने समय भएकाले उनीहरुका लागि निकै महत्वपूर्ण र खुशी हुने बेला भएको उनको भनाइ छ । यसैबेला मानवीय गतिविधि शून्य भएपछि वन्यजन्तु निकै रमाएको चौधरीको भनाइ छ । 
 
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले लकडाउनले निकुञ्जभित्र नै पर्याप्त आहार पाएपछि वन्यजन्तु बस्ती नआएको बताए । मध्यवर्ती क्षेत्रमा आहारका लागि गैँडा, बँदेल, चित्तल आएर जनतालाई दुःख दिने गर्दथे । तर यो वर्ष ठूलो समस्या नभएको मल्लको भनाइ छ ।
 
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु बाघ र एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । गैँडा, चित्तल, लघुना, गौरीगाई, बँदेल, भालुसँगै ठाउँठाउँमा बाघसमेत देखिने क्रम बढेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए। नारायण अधिकारी,रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्