क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका लुहारको थ्रोट स्वाब परीक्षणका लागि पठाइयो

प्रतिकात्मक तस्वीर

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ ।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।
  
रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।


Advertisement

पोर्ट एक/दुई दिनभित्रै आउने उनले बताए । भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो ।

लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए ।


Advertisement

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँनजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो ।

जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ । मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

लुहारसँग आएकाहरूलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्