कोरोनाले उजागर गरेको रोचक तथ्य : महिलाले नेतृत्व गरेका मुलुक महाव्याधि नियन्त्रणमा अब्बल !

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

संसारभरि कोभिड– १९ ले २ लाख ४८ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । कोरोना संक्रमण रोक्नका लागि आरम्भमै ठोस कदम चाल्ने देशहरूमा यसको प्रकोप कम देखिएको छ भने ढिलासुस्ती गर्ने देशहरूमा संक्रमित र मृतक दुवैको संख्या बढी छ ।

कोरोनाको समुचित व्यवस्थापन गर्ने देशहरूमा एउटा कुरामा चाहिँ साम्य देखिएको पश्चिमका विभिन्न सञ्चारमाध्यममा खबर आएका छन् । त्यो साम्य भनेको महिलाको नेतृत्व हो । अर्थात् महिलाले नेतृत्व गरेको देशमा कोरोनाभाइरस व्यवस्थापन चुस्त तथा प्रभावकारी पाइएको छ । यसमा अनेकौं अपवाद पनि छन् (जस्तो, दक्षिण कोरियामा पुरुष शासकले कोरोनाको व्यवस्थापनमा सफलता पाएका छन्) तर महिला नेतृत्वको व्यवस्थापन अब्बल पाइएको छ ।


Advertisement

उदाहरणका लागि जर्मनीलाई लिऔं । जनसंख्याको हिसाबमा युरोपको दोस्रो मुलुक जर्मनी (लगभग साढे आठ करोड) मा कोरोनाका कारण मर्नेको संख्या ६ हजार ८६६ छ भने उसको भन्दा कम जनसंख्या भएका इटली, स्पेन र बेलायत लगायतका मुलुकमा संक्रमितको संख्या र मृत्युदर दुवै निकै बढी छ । 

कोरोना रोक्नका लागि जर्मनीमा अहिले युरोपकै सबभन्दा विशाल स्तरको कोरोना परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । त्यहाँ प्रत्येक हप्ता तीन लाख ५० हजारभन्दा बढी परीक्षण गरियो र भाइरसलाई आरम्भिक चरणमै पत्ता लगाएर मानिसहरूलाई तत्कालै एकान्तवासमा राख्ने तथा संक्रमितलाई उपचार गराउने काम गरियो । 


Advertisement

लामो समयदेखि देशको नेतृत्व सम्हालिरहेकी चान्सलर आंगेला मेर्कलले यसका लागि द्रुत गतिमा निर्णय लिएर कार्यान्वयमा सक्रियता देखाइन् । त्यसले उनको लोकप्रियता ह्वात्तै बढाइदिएको छ र उनले पुनः कार्यकाल चलाउन अनिच्छा देखाएको भए पनि उनैलाई फेरि चान्सलर बनाउनुपर्ने मागहरू उठ्न थालेका छन् । 

सबभन्दा महत्त्वपूर्ण कुरा त मेर्कल आफैं वैज्ञानिक पृष्ठभूमिकी महिला भएकाले संक्रमण रोक्न व्यापक परीक्षण गर्नुपर्ने तथा शारीरिक दूरी अपनाउनुपर्ने भनी विज्ञहरूले दिएको रायलाई उनले तत्कालै ग्रहण गरिन् । क्वान्टम केमिस्ट्रीमा विद्यावारिधि गरेकी मेर्कलले शान्त तवरले भाइरसको बारेमा जनतालाई सुसूचित गराइन् र संक्रमण रोक्ने उपाय पनि सुझाइन् । जनताको हित गर्ने अभिभावकीय भूमिका मेर्कलले निर्वाह गरिन् ।

सीएनएनमा प्रकाशित लेटा होङ फिन्चरको एक विश्लेषणमा मेर्कलको रणनीतिलाई डोनल्ड ट्रम्प र बोरिस जोनसनको रवैयासँग तुलना गरेर हेरिएको छ । मेर्कलले शुरूमै विज्ञको राय अंगीकार गरेर संक्रमण रोक्ने प्रयास थाल्दा ट्रम्प र जोनसन चाहिँ विज्ञहरूको सल्लाह नमानिकन बसेका थिए । त्यसैले उनीहरूले सामाजिक तथा शारीरिक दूरीका उपायको घोषणा गर्न पनि ढिलासुस्ती गरे अनि व्यापक मात्रामा कोरोना परीक्षण पनि गराएनन् । 

ट्रम्पले शीर्ष वैज्ञानिकहरूको चेतावनीलाई निरन्तर अवज्ञा गरे भने युरोपका अन्य मुलुकले बन्दाबन्दी लगाउँदा पनि जोनसनले आफ्नो देशमा त्यो उपाय लागू गर्न अटेरी गरिरहे । कोरोना लागेर आफैं अस्पतालमा भर्ना भएपछि बल्ल जोनसनको बुद्धि पलायो । 

इटली र स्पेनका पुरुष शासकहरूले पनि आरम्भमै शारीरिक दूरीको उपायलाई कडीकडाउका साथ लागू गर्न ढिलाइ गरे । यस्ता शासकहरूलाई मानिस मरेको भन्दा पनि अर्थतन्त्र डामाडोल भएको बढी पीर थियो । मेर्कल लगायतका महिला राजनीतिकर्मीहरूले आमाको भूमिका निर्वाह गर्दै जनतालाई आफ्नो सन्तान जस्तो ठानेर तिनको स्वास्थ्य जोगाउने विभिन्न प्रयास गरिरहँदा पुरुष शासकहरू चाहिँ जनताप्रति उत्तरदायी देखिन लामो समय लगाए ।

जनतालाई पारिवारिक प्रेम तथा वात्सल्यको अनुभूति दिलाउन न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्न पनि अब्बल देखिइन् । उनले पनि विज्ञको राय मान्दै तत्कालै देशका सीमा बन्द गरिन्, देशभित्र निकै कडा बन्दाबन्दी लागू गराइन् र व्यापक मात्रामा कोरोना परीक्षण गराइन् । 

शुरूतिर न्युजील्यान्डवासीहरूले बन्दाबन्दी मान्न अलिक अटेरी गरे पनि आर्डर्नले उनीहरूलाई यसको महत्त्वका बारेमा अवगत गराउन विभिन्न अभियानको नेतृत्व गरिन् । उनको आदर्श वाक्य नै ‘गो हार्ड यान्ड गो अर्ली’ थियो अर्थात् कोरोना रोक्नका लागि आक्रामक र शीघ्र उपाय अपनाउनेमा उनको जोड थियो । 

आर्डर्न कोरोनाभाइरसका कारण मृत्यु भएका सबै २० जनाको परिवारसँग निरन्तर सम्पर्कमा रहिन् । त्यसले गर्दा सरकारले आफूलाई ध्यान दिइरहेको छ भन्ने अनुभूति जनतालाई हुन गयो । अनि उनले आफ्नो र आफ्ना मन्त्रीहरूको तलब २० प्रतिशतले काटेर जनताको पीडासँग एक्यबद्धता जनाउने निर्णय समेत गरिन् ।   

त्यस्तै ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले चीनको वुहानमा भाइरसको प्रकोप रहेको खबर पाउनेबित्तिकै त्यहाँबाट आउने सबै विमानका यात्रुको स्वास्थ्य परीक्षण गराइहाल्ने आदेश दिइन्, महाव्याधि व्यवस्थापन केन्द्र खडा गरिहालिन् अनि संक्रमणबाट बच्नका लागि आवश्यक मास्क र व्यक्तिगत सुरक्षा उपकरणको उत्पादन बढाउन लगाइहालिन् । त्यसले गर्दा दुई करोड ४० लाख जनसंख्या भएको ताइवानमा कोरोनाका संक्रमित जम्मा ४३२ र मर्नेको संख्या जम्मा ६ रह्यो । 

अनि उत्तरी युरोपका मुलुकहरू आइसल्यान्ड, फिनल्यान्ड र नर्वेका महिला शासकहरूले पनि आरम्भमै भाइरसविरुद्ध लड्ने राम्रा उपाय अपनाएकाले त्यहाँ धेरै क्षति हुन पाएन । आइसल्यान्डकी प्रधानमन्त्री काट्रिन जाकोब्सडोट्टिरले सबै नागरिकलाई निःशुल्क कोरोना परीक्षण गराइन् । उता स्विडेनका पुरुष प्रधानमन्त्री स्टेफान लोफवेनले बन्दाबन्दी लगाउन नमानेकाले त्यहाँको मृत्युदर बढी भएको अनि वृद्धाश्रममा बस्नेहरू अत्यन्तै जोखिममा परेको देखिएको छ । 

यसबाट हामीले महिला नेतृत्व पुरुषको भन्दा प्रभावकारी हुन्छ भनी निष्कर्ष निकालिहाल्न त नमिल्ला । तर कोेरोना व्यवस्थापनमा नीतिगत निर्णय लिन महिलाहरू बढी सक्षम देखिएको चाहिँ स्पष्ट छ ।

सन्तानलाई हुर्काउँदा एक आमाले खराब बाटोमा नलाग्न कडीकडाउ गर्ने अनि करुणा पनि देखाउने गरे जस्तै नेत्रीहरूले जनताको सर्वोत्तम हितका लागि दृढतापूर्वक कडा निर्णय गरेको अनि मृतकप्रति करुणा देखाएको पाइएको छ । यसबाट प्रभावकारी रूपमा जनतासँग संवाद गर्न र जनताको विश्वास जित्न महिला शासकहरू सफल भएको तथ्य अहिले स्पष्ट भएको छ ।

अमेरिकी समाजशास्त्री क्याथलीन गेर्सनको पुस्तक ‘दी अनफिनिश्ड रिभोल्युसन : हाउ ए न्यु जेनेरेसन इज रिशेपिङ फ्यामिली, वर्क, यान्ड जेन्डर इन अमेरिका’मा उल्लेख भएअनुसार एक सक्षम नेता सुदृढ पनि हुनुपर्छ अनि भावनालाई सम्मान गर्न सक्ने पनि हुनुपर्छ ।

कोरोनाभाइरस व्यवस्थापनमा केही नेत्रीहरूले यी दुवै गुणको प्रदर्शन गर्न सफल भएका छन् र पुरुष शासकहरूका लागि उदाहरणीय समेत बनेका छन् । महिला शासकले भावुकतापूर्ण निर्णय लिन्छन् भन्ने पूर्वाग्रहका साथ उनीहरूलाई राजनीतिमा अघि बढ्न हतोत्साहित गर्ने पितृसत्तात्मक सोचलाई कोरोना व्यवस्थापनमा सफल नेत्रीहरूले गतिलो पाठ पढाएको देखिएको छ । 
 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्