कविता :  गौतम बुद्ध

  • डा. रामकृष्ण तिमल्सेना

एउटा सिद्दार्थ गौतम,
बुद्ध बनेर देखायो,
इतिहासको पानामा,
छुट्टै नाम कुदेर देखायो!
राजमहल छाड्यो,
छाड्यो रानी र राजकुमार।


Advertisement

हेर्यो चारैतिर संसारमा,
भौतारियो यता र उता,
देख्यो भित्री आँखाले,
कुप्रे  बुढोमान्छे भित्र संसार रहेछ।

रोग र शोक भित्र छटपटिएको,
दुखै दुःखको सागरमा मानवता रहेछ।
मृत्युको शास्वत सत्ता उसलाई के थाहा?
सोध्यो, म पनि मर्छु?
थाहा पायो जन्म नै मृत्युको द्वार हो,
शुरू नै अन्तको पुकार हो।


Advertisement

ऊ पनि बुढो हुन्छ; एकपटक मर्छ।
एकपटक गम्यो; आफ्नो हृदय सुम्सुम्यायो,
धड्कन सँग साक्षात्कार गर्यो,
लाग्यो  परमसत्यको खोजीमा,
महा निश्क्रमण।
कालो रातलाई चिर्दै; अमरत्वको खोजीमा निस्क्यो,
थाहा पायो र प्रश्न गर्यो,
ईश्वर भएकाे भए, मान्छे किन मर्छ?
किन दुःख पाउँछ?
उसले विद्रोह गर्छ,  ईश्वरसँग र संसारसँग;
पत्याउँदैन उ,
ईश्वरको सत्ता र खटन पटन।
खोज्न थाल्छ भित्र भित्रै,
थाल्छ यात्रा अनन्तको।
तर त्यो यात्रा बाहिरको होइन,
पत्रै पत्र भित्रको,
प्याजको बोक्रा झै;बन्दागोभीको पत्र झै;
अनन्त  अनन्त भित्रको।
उसले भेट्छ अनन्त ज्योति,
सानो विन्दु;अणुबत,
आफू भित्र नै।
दुःखको कारण खोतल्दा खोतल्दै,
पाउँछ ज्ञानको ज्योति निर्वाण,
महा निर्वाण,
दुःख बिनाको शास्वत शान्ति,
चरम शान्ति,
जिउँदै निर्वाण सम्भव छ; ऊ पत्तालगाउँछ, अनि,
शान्त भएर गुनगुनाउदै भन्छ,
बुद्धको शरणमा जाऊ;धर्मको शरणमा जाऊ,
दोहोर्याएर भन्छ,जाऊ   संगको शरणमा,
अनुभव गर शास्वत शान्तिकाे।।
उसलाई प्रक्रिया थाहा छ,
अष्टाङ्ग योगको मार्गलाई राजमार्ग बनाएर,
यम नियम आशनकाे रथमा,
प्राणायामको ट्राफिक नियम मान्दै,
प्रत्याहरकाे खुराकलाई ध्यान दृष्टिबाट नियाल्दै,
बिस्तारै बिस्तारै बामे सर्दै,
धारणाको सिँढी चड्दै पुगेको गन्तव्य नै, समाधिस्थ निर्वाणकाे चौतारी हो।।
धेरै उकालो पार गरेर बुद्ध विश्राम गरेकोछ,
पुर्णेको चन्द्र उदाएको छ;
ओम नम: शान्ति: उच्चारण गरेर,
आज फेरि बुद्ध उदाएको छ।।
आज फेरि  नयाँ बुद्ध जन्मेको छ।
कहिल्यै नमर्ने गरी,
कहिल्यै नफर्कने गरी उ आएको छ।
ऊ आएको छ, बुद्ध पूर्णिमा बनेर।
अस्तु।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्