दीपेन्द्र अधिकारी
सीमा न कुनै बाँध हो
भत्किदा जलमग्न हुने
यो त एउटा फगत साँध हो
मिचिदा मिचिइरहने
मात्र मनमग्न हुने
हो !
यो हिजो पनि मिचिएको हो
आज पनि मिचिएको छ
भोलि पनि मिचिन्छ
यो निरन्तर प्रक्रिया हो
गतिशील राष्ट्रको
गतिशील राष्ट्र कुनै सीमामा सीमित हुन चाहन्न
कुनै साँधमा साँधिन चाहन्न-----
कुनै नियममा बाँधिन चाहन्न---
सरकार गम्भीर छ
इतिहास पढ्दै छ
तत्त्वज्ञान खुल्दैछ
हो सीमा मिचिदा
कहिल्यै कुर्सी हल्किएन
अङ्कगणित कहिल्यै घटेन
झनझन आत्मीयताको पारो चढिरह्यो
कुर्सीको आयु बढिरह्यो-----
फरक यत्ति हो
हिजो सीमा मिचिदा सडकमा ढुङ्गामुढा हुन्थे
आज सडक सुनसान छ।
किनकि
हिजोको सरकार लाचार थियो
कतै परस्त थियो
तर आज
सरकार गम्भीर छ
सोचमग्न छ !
छिट्टै छानबिन आयोग गठन गर्दैछ
यो बन्दमा कति बजेटमा
कति दिनमा
कति समयमा
कसरी त्यो अनकन्टारमा
त्यो दुर्गम दुसाध्य ठाँउमा
चामत्कारिक बाटो बन्यो भनेर-------
किनकि
बाटो त हामीले पनि बनाएका छौँ
पिचमाथि पिच खन्याएका छौँ
यो बन्दमा रातदिन नभनी
तर फुर्सदिला मूर्ख-महमूर्खहरू
हाम्रो बाटो देख्दैनन्
हाम्रो महानता लेख्दैनन्
जाबो त्यो सानो अनकन्टारको बाटो देख्छन्
त्यही मात्र लेख्छन्
खै कुन्नि किन हो यत्रो भीमकाय जमिन देख्दैनन्
त्यही सानो त्यान्द्रो सीमा देख्छन्
रातदिन खेद्छन्
खालि त्यही मात्र लेख्छन्------
अफसोस !
थाहा छैन तिनलाई
सरकार कति गम्भीर छ
कति सचेत छ !
कूटनीति हो प्याच्च बोल्नु हुँदैन
जे हो त्यो सत्य कुरा खोल्नु हुँदैन
किनकि यहाँ
हलचल हुनसक्छ
बाटो बने के भो त
यहाँ गम्भीर द्वीपक्षीय छलफल हुनसक्छ
किनकि बाटो तीर्थयात्राको हो
यात्रु वैतर्णी तर्न सक्छन्
असल छिमेकी हो
यहाँ त्यसै-त्यसै कोही-कोही
भ्रममा पर्न सक्छन् !
किनकि
बाटो नपाएर सारा विश्व घरभित्र थुनिएको बेला
निशुल्क बाटो बनाइदेको छ
सबैलाई वाहावाहा भनाइदेको छ ।
मित्र राष्ट्र महान् छ
सरकार गम्भीर छ
जनता समाजवादको
चस्मा लगाएर साम्यवादको शिढी चढ्न खुट्टा उचाल्दैछन्
किनकि बाटो तयार छ ---!
– – –