लकडाउन बज्रपात : डाक्टरको चन्दाले उपचार, भाडा अभावमा अस्पतालमै बास !

'नेताहरूको नाम खोल्दिनुहोला– जनता मरिरहेको बेला फोन गर्दा बोल्दैनन्'

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

चन्द्रागिरी पहाडबाट घाम डुब्दै गरिरहेको समयमा शनिवार साँझ त्रिवि शिक्षण अस्पतालबाहिर मधेसको एक जोडी टोलाइरहेको छ । मशिनले छियाछिया पारेको आफ्ना पतिको हात पछ्यौरीले बेरेर आफ्नो काखमा राखेर बसेकी सीतादेवी निःशब्द छिन् ।

वसन्त ऋतुको स्वागतमा फुलेका गुलाफका फूलले त्रिवि शिक्षण अस्पतालबाहिरको वातावरण घमाइलो देखिन्छ, उनीहरूको मनमा बेचैनी छ । रौतहटको देवाही गोनाही नगरपालिका–३ शिवनगरका सियाराम प्रसाद साहले जीवनकै कष्टपूर्ण रातहरू त्रिवि शिक्षण अस्पतालमा गुजारिरहेका छन् ।


Advertisement

खेतीकिसानी गरेर गुजारा चलाइरहेका साह चैत्र १६ गते गहुँ काट्ने थ्रेसरले हात किचेपछि उनी उपचारको सिलसिलामा काठमाडौं आएका थिए, पत्नी र भाइलाई लिएर । कोरोनाको संक्रमणका कारण अस्पतालले समयमै भर्ना नगरेपछि उनले थप समस्या बेहोर्नुपर्‍यो र ढिलो भर्ना हुँदा उनको शल्यक्रिया ढिला र जटिल भयो ।


Advertisement

कस्तो समस्या बेहारेको हो,सुनौं सियारामकै शब्दमा

चैत्र १६ गते गहुँ काट्ने थ्रेसरमा पसेर मेरो हात किच्चियो । तत्कालै एम्बुलेन्स बोलाएर वीरगञ्ज पुगें । वीरगञ्जको डाक्टरले हड्डीको काम गर्न सक्छु,तर नसाको गर्न सक्दिनँ भन्यो । नसाका कारण पछि हात काट्नुपर्ने हुनसक्छ,बरू काठमाडौं ट्रमामा जानू भनेर डाक्टरले भनेपछि हामी काठमाडौं हिड्यौ ।

एम्बुलेन्सले १२ हजार भन्दा कममा हुँदैन भनेको थियो,११ हजार दिएर हामी काठमाडौं हिड्यौं । साँझ घाम अस्ताउने बेलामा काठमाडौं हिँडेको राति १२ बजे वीर अस्पतालसँगैको ट्रमामा पुग्यौं । ट्रमामा डाक्टरले भने, ‘अप्रेसन गर्छु,तर हातको ग्यारेन्टी लिन्नँ,पछि हात काट्नुपर्ने पनि हुनसक्छ ।’ त्यहाँबाट हामीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा पठाए । यहाँ (त्रिवि)मा आउँदा १ बजेको थियो ।

मनमोहनमा नसाको डाक्टर भेटिए,हड्डीको थिएनन् । अप्रेसन गर्न दुवै डाक्टर चाहिएसँगै प्लाटिक सर्जरी गर्न अर्को डाक्टर चाहिने कुरा गरे । त्यसपछि  टिचिङमा गएर इमर्जेन्सीमा भर्ना गर्न आग्रह गरे,राति ३ बजेको थियो । त्यहाँ कोरोनाका कारण भर्ना लिइएको छैन भने ।

धेरै अनुनय विनय गरेपछि भर्ना भएँ । डाक्टरले बिहान ८ बजे अप्रेसन गर्ने भने । बिहान ११ बजे अप्रेसन थिएटरमा लगेका थिए,डेलिभरीको अर्को बिरामी आयो भनेर मलाई फर्काइयो । मलाई साँझ ५ बजे फेरि अप्रेसन थिएटरमा लगे,घटना भएको २४ घण्टा भन्दा ढिलो हुँदा इन्फेक्सन भएकोले अप्रेसन गर्न ८ घण्टा लाग्यो । केही दिनपछि इन्फेक्सन भएर फेरि समस्या भयो । हातको मासु खत्तम भयो,तीन चारदिनपछि पेटको मासु काटेर हातमा राखिदियो । २१ दिनसम्म बेडमै सुते,उठन सकिनँ । अहिले मेरी बूढीले हात समाएर एकछिन हावा खान बाहिर आएको । अहिले पनि हात देखिरहेको छ ।

अस्पतालमा धेरै दुःख पायौं । हामीलाई यहाँ धेरै किसिमको असुविधा भइरहेको छ,मेरै देशको अस्पताल जनताको लगानी छ । तर हामीलाई सुविधा छैन,शुरूकै दिन भर्ना गरेको भए म यति धेरै दिन बस्नुपर्ने थिएन । खाना खानु,डे«सिङ गर्नुपरेको छ,कसैले हामीहरूको कुरा सुन्दैन ।

हाम्रो क्षेत्रको नेता प्रभु साह (नेकपा सांसद) हुनुहुन्छ । मैले उहाँको पीए अमर साहसँग कुरा गरे,पीएले नेताजी आएर भेट्नुहुन्छ त भने तर आएनन् । मेरो नगरपालिकामा मेयर फोरमको धर्मेन्द पटेल र उपमयेर माओवादीको कोरनिया देवी हुनुहुन्छ । यस्तो अप्ठेरोमा मलाई कसैले हेरेनन् । मेरो मुख्य पेशा नै खेती किसानी हो,ट्य्राक्टर थ्रेसरको अढाइ लाख ऋण बाँकी छ । कमाउने कोही छैन,५ वटा छोरीमध्ये ४ वटा बिहे गरेर घरमा गइसके,एउटा छोरी ८ कक्षामा पढ्छिन् । हाम्रो सहारा कोही छैन,नेताहरूले दुःखमा हेरेनन् ।

प्रभू साह मेरै घरमा बसेर ‘माननीय’मा लड्नुभएको थियो,माओवादीलाई धेरै डर थियो । २१ दिनसम्म राति १ बजेसम्म मेरो घरमा सुत्ने र राति अर्को घरमा जानुहुन्थ्यो । उहाँको श्रीमती पनि मेरो बूढीसँगै १० दिनसम्म मेरो घरमै बसेर चुनाव लड्नुभएको हो ।

उहाँहरू नेता हो,नेता भएपछि सानो सबैलाई बिर्संदो रहेछ । आफ्नो मानिससँग पनि दबंगलाई जस्तो उहाँको व्यवहार चलिरहेको छ । यहाँ अस्पतालमा जनताको सुविधा भएको भए नेता मेयर चाहिने थिएन । यहाँका छरछिमेकीलाई सुविधा होला,जसको सोर्स छ,त्यसैको काम हुन्छ अस्पतालमा पनि,पैसा छ भने काम हुने,नभए मरेर जाने ।

डाक्टर भन्छन्– एक महिना पछि आउनू,हातको पिल्लर (किल्ला) निकालेर स्टील हाल्दिन्छु । प्लास्टिक सर्जरी गर्न फेरि ४ महिना पछि आउनुपर्ने रे । अहिले तीन लाख सकियो,त्यो पैसा कहाबाट जोहो गर्ने ?

यति भन्दै गर्दा उनी भक्कानिए । मेरा नेताहरूको नाम खोल्दिनु होला – यस्तो प्रकारको नेता छ,जनता मरिरहेको छ,फोन गर्दा पनि बोल्दैन । (सियारामको फोन नम्बर ९८१७२९६३५०)

डाक्टरहरूले चन्दा उठाएर औषधी किनिदिनुभयो,एम्बुलेन्स भाडा नभएर अड्किएका छौं

अर्की बिरामी कुरुवाको अवस्था दर्दनाक छ, खुट्टा काटेर छटपटाएको शरीर हेर्दैछिन् । चैत्रको ७ गते कञ्चनपुर जिल्लाको झलारीबाट आएका कमल सोनीको एउटा खुट्टा काटिएको छ । डाक्टरले घर लैजान भने पनि एम्बुलेन्स खर्चको अभावमा घर जान नपाएको झुपा सोनीले बताइन् ।

‘ऋण गरेर ल्याएको पैसा सकियो, घर फर्किनलाई एम्बुलेन्स भाडा पनि छैन,’ झुपाले रुँदै भनिन्, ‘घरबाट केटाकेटीले कहिले आउनुहुन्छ भन्दै रुन्छन्, हामी यता रुँदैछौं ।’

कस्तो समस्या बेहोरिन्,झुपाकै शब्दमा

भारतको भोजिपुरमा उपचार गराउँदा सन्चो नभएपछि हामी चैत्रको ७ गते कञ्चनपुरको झलारीबाट काठमाडौं आएको । एम्बुलेन्सले कोहलपुरसम्म आएको ६ हजार लियो,त्यहाँबाट यताको साढे १३ हजार रुपैयाँ लियो । मेरो श्रीमानको खुट्टामा फोरा उठेपछि अप्रेसन गर्नुपर्‍यो ।

भोजिपुरमा गएर औषधि गरेको सन्चो भएन,उपचार गर्दा ३ लाख खर्च भयो । त्यसपछि ऋण लिएर उपचार गर्न यहाँ आएको । अहिले न बिरामी सन्चो भयो,न पैसा रह्यो । अब घर जान एम्बुलेन्स भाडा पनि छैन । घरमा २ छोरा र छोरी कहिले आउनुहुन्छ भन्दै रुन्छ,म यता एक्लै रोइरहेकी छु ।

डेढ महिनासम्म अस्पतालमा बस्दा भएभरको पैसा सकियो,अहिले औषधि किन्ने पैसा पनि छैन । यसअघि डाक्टरहरूले नै चन्दा उठाएर औषधि किन्दिनुभयो । यही वल्लोपल्लो बेडमा रहेका बिरामीका कुरुवाले अलिअलि पैसा दिएर औषधि किन्न सहयोग गर्नुभयो ।

गरीबको त आफ्नो मान्छे पनि बिरानो हुने रहेछन् । यहाँ अस्पतालमा औषधि बाहेकको अरू खर्च डाक्टरेले फ्री गर्नुभएको छ । लोग्नेलाई ह्वीलचेयरमा राखेर मात्र बचाउन पाए पनि सहारा हुन्थ्यो,मैले मजदूरी गरेर भए पनि छोराछोरी पाल्थे,ऋण तिर्थे ।

डाक्टरले अब घर लैजान भन्नुभएको छ,मसँग एम्बुलेन्स भाडा पनि छैन । (झुपा सोनीको मोबाइल नम्बर (९८१२७४३८२७)

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्