कोरोनाले विश्व अर्थव्यवस्था उथलपुथल : अब चीन अगाडि कि अमेरिका ?

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

सन् २०१९ मा चीनको वुहानमा देखिएको कोरोना भाइरस रोगले प्रायः विश्वभर संक्रमण गरिरहेको छ । यसबाट मानसिक, आर्थिक, राजनीतिक, सामाजिक लगायत बहुआयामिक प्रभाव सबैतिर पर्ने स्थिति देखिएको मात्र होइन, यसका लक्षणहरू समेत देखिँदै गएका छन् ।

यसलाई नियन्त्रणमा लिने समयमा चीनमा केही त्रुटि हुन पुगे । यसलाई उपयुक्त प्रकारले सम्बोधन गरी नियन्त्रणमा लिने क्रममा चीनले लामो समय खर्चिन पुग्यो । सबैभन्दा ठूलो भूल चीनको शासकीय शैली हो ।


Advertisement

साम्यवादी देश चीनले लामो समयदेखि नागरिक आवाज दबाउँदै आएको छ, सबैलाई सैन्य बलको भरमा तालाबन्दी गर्दै सरकारी एकल निर्णयको आधारमा यो संक्रमण नियन्त्रण गर्न लाग्दा उपलब्धि हासिल भएको तर्क चीनको रहेको छ तर आवाज दबाउने क्रममा अनुभवी चिकित्सक ली वेन लियानको भनाइलाई खासै महत्त्व नदिई उनले गरेको भविष्यवाणीलाई अनर्गल प्रचारको रुपमा लिई प्रहरी कारवाही समेत गर्न  चीन उद्यत रह्यो । चिकित्सकले आफ्ना सहकारी मित्रहरूलाई सामाजिक सञ्जालमार्फत सार्सभन्दा भयंकर महामारी स्वास्थ्य क्षेत्रमा आउन सक्ने र यसबाट विश्वमा ठूलो धनजनको हानी नोक्सानी पुग्ने दाबी गरेका थिए, उनले यसको शीघ्र सम्बोधनका लागि सम्बन्धित पक्ष लागिपर्नुपर्ने कुरालाई कोभिड–१९ देखिनु केही समय पूर्व प्रस्ट पारेका थिए तर सरकारले नकारात्मक रुपमा लिन पुग्यो ।

पछि उनको भविष्यवाणी ठीक देखियो, उनी स्वयं बिरामीको उपचार गर्दागर्दै मृत्युवरण गर्न पुगे । यो घटनाबाट चीन लगायत विश्वलाई ठूलो नोक्सानी पुगेको विश्वास चिनियाँ जनतामा छ । उनीहरू यस्ता गुणस्तरीय चिकित्सकलाई गुमाउनु पर्दा दुःखित त छँदै छन्, साम्यवादी शासनले आवाज दबाउँदा राष्ट्रले भोग्नुपरेको ठूलो नोक्सानीबारे चिन्तित हुँदै सरकारलाई नागरिक समाज एवं स्वतन्त्र अधिकार नागरिकलाई प्रदान गरी उनीहरूको उचित आवाजको संम्मान गर्न दबाब दिने पक्षमा रहेका छन्, यस घटनाबाट चीनको सरकारलाई ठूलो प्रभाव परिराखेको अवस्था छ तर अझै चीनले नागरिक स्वतन्त्रता प्रदान गर्ने सम्बन्धमा धारणा बनाएको पाइँदैन ।


Advertisement

यस अर्थमा चीनको शासकीय शैली पनि यो क्षति आमन्त्रण गर्न जिम्मेवार रहेको चीन लगायत विश्वका आम लोकतन्त्रवादीको विचार रहिआएको छ । यसपछि जब यो संक्रमणको उजागर वुहानमा भयो, चीनले लामो समयसम्म यसलाई प्रचारमा ल्याउन दिएन, जब नियन्त्रणभन्दा बाहिर जाने अवस्था आयो । तत्पश्चात पनि आफ्ना नागरिकहरूलाई अन्य देशमा पठाउने र आफ्नो व्यापारिक क्रियाकलापलाई यथावत राख्दै गयो  । परिणाम स्वरूप इटली, स्पेन, अमेरिका लगायत विश्वलाई नै ठूलो प्रभाव पर्न पुगेको छ । त्यसैले पनि चीनले यो नोक्सानीबारे प्रायश्चित स्वरूप अब विश्वलाई यस संक्रमणको  नियन्त्रण गर्नमा  सहयोग पुर्‍याउनुपर्छ ।

अहिले प्रायः सबैतिर कोरोना संक्रमण फैलिएको छ, सबै देशका नागरिक विभिन्न प्रयोजनका लागि सबैतिर छरिएका छन्, उनीहरूलाई आफ्नो देशले उद्धार गरिदिनुपर्छ भन्ने लाग्दछ र यो उनीहरूको अधिकार हो भने सम्बन्धित राष्ट्रहरूको आफ्ना नागरिकप्रतिको कर्तव्य पनि हो तर केही राष्ट्रहरूले मात्र आफ्ना नागरिकप्रति जवाफदेहिता बहन  गरेका छन्, धेरै देशहरू ती नागरिकलाई देशभित्र स्वागत गर्दा संक्रमणको सम्भावना बढी भएकाले  त्रसित र गम्भीर बनेका छन्, कतिपय राष्ट्रहरू ती नागरिकलाई देशमा स्वागत गर्न र तत्पश्चात उनीहरूको व्यवस्थापन गर्न सहज देखिराखेका छैनन्, यसले गर्दा यति लामो समय व्यतीत हुँदा पनि हरेक देशले आफ्नै  नागरिकको उद्धार गरेको छैन, यो द्विविधाबीच देशहरू समय खेर फालिराखेका छन् ।

खासगरी विकासशील देशहरू यो परिस्थितिमा रहेका छन् । विकसित  देशले आफ्ना नागरिकबाहेक अन्यबारे कुनै जवाफदेहिता नलिने र देश छाड्न आग्रह गरिराखेका छन् । यसले ठूलै अस्तव्यस्तता आमन्त्रण गर्न सक्दछ । कोरोनाको प्रभावलाई गौण मान्नु हुँदैन । यसका प्रभावबारे विश्लेषण गर्दा आर्थिक प्रभाव अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै हिसाबले पर्ने देखिन्छ । विदेशवाट आयातीत सामानबाट यो रोग सर्ने प्रचारप्रसार भई राखेकाले यस्ता सामान उपयोग नगर्ने मनोविज्ञानको विकास उपभोक्तामा भइराखेको छ, चिनियाँ नागरिकको आवागमन र यसका सामान आयात गर्न रोक लगाइँदैछ, सामानको आयात निर्यात र मानिसको आवागमन बन्द हुँदा आर्थिक लगायत क्रियाकलापमा नकारात्मक प्रभाव पर्ने नै भयो, बिस्तारै सबै देशले आवागमन बन्द गराउँदै गएका छन् । पर्यटन व्यवसाय, हवाई सेवा, पानीजहाज लगायत सबै प्रकारका सामान ढुवानी र मानिसको आवतजावतमा प्रतिबन्ध लागेको छ । विश्वव्यापी रुपमा सामानको नियमित आपूर्ति प्रायः बन्द छ । कच्चा  पदार्थको आपूर्ति प्रभावित हुँदा विशेषगरी विकासोन्मुख देशका कलकारखाना उद्योगहरू प्रायः बन्द छन् ।

विकसित देशका ख्याती कमाएका विश्वविद्यालयमा ठूलो मात्रामा अन्य देशका नागरिकहरू अध्ययन गर्ने र उनीहरू सबै स्वदेश फर्कनुपर्ने परिस्थितिमा शैक्षिक तालिका प्रभावित हुनुका साथै आम्दानीको ठूलो स्रोत बन्द भइराखेको छ । यस अवस्थामा विश्वको दोस्रो अर्थ व्यवस्था भएको चीनको वस्तु र सेवा क्षेत्रका उत्पादन देशभित्र मात्र खपत गर्नुपर्ने स्थिति आएको छ । विश्व बजारमा आर्थिक अवस्थाको सुधार हुन चीनको अर्थ व्यवस्थामा सुधार हुनु अत्यावश्यक छ । यसका लागि चीनले आफ्नो व्यापारिक बजारलाई विश्वव्यापी रुपमा विस्तार गर्न सक्नुपर्छ । यो भाइरसको स्थायी नियन्त्रण आन्तरिक रुपमा मात्र होइन, सबैतिर गर्न खुला हृदयले  चीनले सघाउनुपर्छ । भाइरसलाई कुन सीमाभित्र नियन्त्रणमा राख्न सक्दछ, त्यसैमा निर्भर हुने देखिँदैछ । 

सैनिक शक्तिको आधारमा मात्र प्रभावकारी नियन्त्रण गर्न सकिन्छ भन्ने चिनियाँ सोच चीनमै अफापसिद्ध हुँदैछ, अन्य देशमा यो मोडेलले काम गर्न सक्दैन । कतिपय विकासोन्मुख देशहरू चीन लगायतका विकसित देशको सहायताका आधारमा आफ्ना अर्थ व्यवस्थालाई मूर्तरूप दिइराखेका छन्, यस अवस्थामा ती देशहरूका अर्थव्यवस्था अस्थिर हुन गइराखेको छ । यो महामारी कुन अवधिमा नियन्त्रणमा आउने  हो ? मानव जगतका लागि अनुमानसम्म पनि गर्न कठिन भएको छ । यस परिस्थितिमा विश्व जगत कुन स्तरको आर्थिक मन्दीबाट गुज्रिने हो ? अर्थव्यवस्थाले गति लिन कति समय लाग्ने हो ? सबै–सबै अनिश्चित छ तर आर्थिक दूरावस्था र यस क्षेत्रको मन्दी विश्वले सामना गर्नुपर्नेमा द्विविधा देखिँदैन ।

अब यस परिस्थितिमा विश्वमै आर्थिक दृष्टिकोणले प्रथम र द्वितीय स्थान सुरक्षित गरिराखेका राष्ट्रहरू संयुक्त राज्य अमेरिका र चीनका बिचको आर्थिक, राजनीतिक लगायत कूटनीतिक सम्बन्ध कस्तो छ र अब आउने दिनमा कस्तो रहने हो ? यसैमा विश्लेषण केन्द्रित गरौं । राजनीतिक आदर्श र सिद्धान्तका हिसाबले यी दुवै देशहरू अत्यन्त पृथक छन्, लोकतान्त्रिक देशहरूको नेतृत्व विश्वमै लामो समयदेखि संयुक्त राज्य अमेरिकाले गरिआएको छ भने साम्यवादी देशहरूको नेतृत्व रसियाले गरिआएकोमा अब चीनले सबै हिसाबले रसियालाई पछाडि पार्ने आधारहरू तयार भइराखेका छन् । तसर्थ कूटनीतिक आवरणमा राजनीतिक अस्वस्थ प्रतिस्पर्धा यी २ देशबीच हुने नै भयो । दुवै देशहरू आफ्ना–आफ्ना उच्च आकांक्षासहित अघि बढिराखेका छन् । शक्ति सञ्चय गर्दै कुशल रणनीतिका आधारमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव विस्तार गरिराखेका छन् । यही अभिस्ट पूरा गर्ने रणनीतिका नाममा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) का आधारमा युरोप लगायत देशलाई आफ्नो छातामुनि राख्ने प्रयत्न गर्दैछ भने संयुक्त राज्य अमेरिकाले बीआरआई ऋणको जञ्जालमा फसाउने र राज गर्ने चिनियाँ रणनीति हो भनी आलोचना गर्दै अनुदान प्रदान गर्ने कार्यक्रमका साथ इन्डो–प्यासिफिक जस्ता अनेक स्ट्राटेजीलाई माध्यम वनाई विश्व बजारमा चिनियाँ प्रभावलाई कम गर्न लागिपरेको छ । यस प्याकेजले इण्डियालाई समेटी एसियामा आफ्नो प्रभाव वृद्धि  गर्न थालेको  छ । कृत्रिम बौद्धिकता ( आर्टिफिसिअल इन्टेलिजेन्स) र ५ जीको प्रतिस्पर्धा २ देशबीच अत्यन्त तीव्र छ । यो प्रतिस्पर्धामा यी २ देशमध्ये कुनलाई बढी सफलता मिल्ने हो ? त्यसैमा समेत दुवै देशको प्रभाव स्तर केही हदसम्म निर्धारण हुन पुग्दछ । व्यापारिक प्रभावका हिसाबले चीनले  विश्व बजारमा जीवन्त उपस्थिति दिइराखेको छ ।  संयुक्त राज्य अमेरिकालाई यो प्रभाव नियन्त्रणमा ल्याउन अत्यन्त कठिन भइराखेको छ । उसको आफ्नै बजार समेत चिनियाँ  सामानबाट  प्रभावित हुँदै गएको छ, अन्य देशहरूमा समेत चिनियाँ सामानले अत्यन्त ठूलो बजार पाइराखेको छ । यही कारणले चीनको आर्थिक अवस्था दोस्रो महत्त्वपूर्ण स्थानमा उभिन सकेको छ र यसले सन् २०३० सम्म १० वर्षको अवधिमा विश्वमा नै प्रथम  स्थानमा आफूलाई पुर्‍याउने रणनीतिका साथ अघि बढेको छ, यसबाट चीनको प्रभाव विश्वमा अत्यन्त ज्यादा देखिँदैछ, व्यापारिक कारोबारलाई अध्ययन गर्दा चीनले आफ्नो गन्तव्य निर्धारण गर्न सक्ने अवस्था देखिएको छ । अमेरिकाका लागि यो ठूलो चुनौती भएकाले सबै हत्कण्डाको  प्रयोगबाट यस प्रभावलाई नियन्त्रणमा लिनैपर्छ ।

चीनलाई समेत प्रतिस्पर्धामा उत्रिन सहज छैन, प्रविधि र स्रोतसाधनका हिसाबले संयुक्त राज्य अमेरिका र यसका  समर्थक लगायतका देशहरू अत्यन्त सक्षम छन् । चीनलाई स्रोत र प्रविधिमा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्न सहज छैन तर पनि २ देशबीचको व्यापारिक प्रतिस्पर्धाले विश्वलाई नै प्रभावित बनाउँछ । यस अवस्थामा अमेरिकी गठबन्धनका देशले चिनियाँ कामदारको प्रयोग कम गर्दै जाने, चिनियाँ सामान आयात निरुत्साहित गर्ने जस्ता रणनीति अवलम्बन गर्दै जाने छन् र गरिराखेका पनि छन् । यस अवस्थामा यी २ देशबीच शितयुद्ध चलिराखेको छ र कोभिड–१९ ले यसलाई अझै ज्यादा चर्काउँदै लैजाने अवस्था छ । यसको लक्षण अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ भाइरसको संज्ञा दिई प्रारम्भ गरिसक्नुभएको छ ।

तर आवेशमा आएर समस्याको समाधान हुन सक्दैन । अमेरिकाले चीनको प्रभाव कम गर्न ठूलो कसरत गर्नुपर्ने हुन्छ । त्यसैले २ देशबीच प्रथम चरणको व्यापारिक  सम्झौता सम्पन्न भएको छ र दोस्रो चरणमा प्रवेश गर्ने स्थितिमा छ । यसका सम्बन्धमा दुवै देशले रणनीति तयार गर्ने नै छन् । यस अवस्थाको प्रतिस्पर्धीसँग सामना गर्ने विषय आन्तरिक राजनीति, अर्थव्यवस्था र कूटनीतिले  निर्धारित गर्दछ । चीनसँगको नरम नीतिको अवलम्बन गर्न आन्तरिक राजनीतिले अमेरिकालाई अनुमति दिने अवस्था छैन । संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा पनि २ देशबीचको सम्बन्धको प्रारूप निर्धारण हुन पुग्दछ । किनकि अमेरिकनमा  विश्वमा अब्बल नागरिक भएर बाँच्न चाहने मनोविज्ञान लामो समयदेखि देखिँदै आएको छ, चीनसँगको नरम नीति राष्ट्रपति ट्रम्पका लागि असहज हुन सक्दछ । यो अवस्थामा ट्रम्प प्रशासनसँग २ वटा विकल्प रहेका छन् । पहिलो– चीनसँग नरम नीतिको अवलम्बन गर्ने, दोस्रो चरणको व्यापार सम्झौता समेत गरी कार्यान्वयनको  वातावरण बनाउने, यसका लागि चीनले अमेरिकी  उत्पादनका लागि चीनमा मैत्रीपूर्ण वातावरण तयार पार्नु पर्दछ । अन्यथा चीनसँगको  सम्बन्ध सुमधूर हुन सक्दैन  । दोस्रो – २ देशबीचको  कूटनीतिक सम्बन्ध  मर्यादित बनाई कडा नीतिको अवलम्बन गर्ने, यो विकल्पमा जानका लागि आन्तरिक राजनीति, यसले अवलम्बन गर्दै आएको लोकतान्त्रिक आदर्श र सिद्धान्तले अनुमति दिने परिस्थिति छ तर यस विकल्पमा जानका लागि अमेरिकी गठबन्धनसँग आवद्धता जनाएका  देशहरू युरोप, दक्षिण अमेरिकी देशहरू  लगायत सम्पूर्ण पश्चिमा सम्पन्न र लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्नेका बीच मतैक्यता जरुरी छ ।

प्रत्येक देशको आफ्नै विशिष्ट परिस्थिति हुने भएकाले आफ्ना–आफ्ना स्वार्थमा  अघि बढ्ने विषय समेत सहज हुँदैन । प्रथम चरणको व्यापारिक सम्झौता २ देशबीच भएपछि विश्व बजारमा मुद्राको कारोबार सुधारोन्मुख देखिनुलाई देशहरूका बीच सुसम्बन्ध निर्धारण गर्नका लागि आधार बनेको परिस्थितिलाई  मध्यनजर गरी कोरोना भाइरसबाट सिर्जित अर्थतन्त्र लगायतको असहज परिस्थितिमा दुवै देशहरू परिस्थिति आफ्नो पक्षमा  राख्न लागिपरेका छन् तर दुवै देशबीचको न्यूनतम समझदारी  विश्वका मानव जातिको  कल्याणका लागि अपरिहार्य देखिन्छ । यी सबै परिस्थितिको निर्णायक पक्ष भनेको यी समस्याले २ पक्षीय वा विश्वव्यापी कुन रुप लिन पुग्दछ ? त्यसैमा निर्भर गर्दछ भन्ने मजबुत आधार बनेको स्थिति छ ।

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्