रासायनिक मलमा कालोबजारी गर्ने धरौटीमा रिहा

रासायनिक मल बिक्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन्।

जिल्लाको भीमसेन थापा गाउँपालिका–१ को हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।
 पक्राउ परेका फार्मका सञ्चालक गोरखा नगरपालिका– ८ का भक्तबहादुर श्रेष्ठलाई दुई लाख ५० हजारमा धरौटीमा रिहा गरिएको छ भने श्रेष्ठको फार्मका काम गर्ने सोही ठाउँका रेशम श्रेष्ठलाई १० हजार धरौटीमा रिहा गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयले दिएको धरौटी आदेशमा तोकिएको रकम बुझाएपछि उनीहरु छुटेका प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ । 
  
धरौटीमा रिहा भएका दुवै जनालाई गत वैशाख २७ गते निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको थियो। मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फर्मले किसानलाई प्रतिकिलो २५ देखि ३५ सम्मका दरले मल बिक्री गर्दै आएको थियो। सञ्चालक श्रेष्ठले फर्मको नामबाट मूल्यसूची टाँससमेत नगरी अत्यधिक दररेट कायम गरी अनाधिकृतरुपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट गएको विशेष प्रहरी टोलीले उनीहरुलाई गरेको थियो। 
  
श्रेष्ठको फर्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। धरौटीमा रिहा भए पनि उनिहरुविरुद्ध कालोबजार ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्