के म नाङ्गो छैन त सरकार ? (कविता)

 

 


Advertisement

-वी वीलीन 

म निदाएको रात शित परेछ,


Advertisement

बसन्त घिसृदै थियो ति पालुवाका अँकुरण को चिहानभित्र,

मुसुक्क मुस्कुराइ मस्किदै थिइ त्यो युवती किताबभित्र लुकाएको मेरो फोटो हेर्दै,

अकाट्य बचनले थर्थराएका ओठहरु चलायमान देखिन्छन अचेल उनीभित्र,

मैले थाहा नपाएझैँ गरिसक्न भ्याएछु जब उनि झन् गाढा बनाउदै थिइन उनका लिपिस्टिक पुछिएका ओठहरु,

के म रोमान्टिक छैन र सरकार?

 

बाबाको उपचार गर्न नसक्ने भएछु म,

छोराको स्कुलको दुइ महिनाको शुल्क त मिनाहा भएर गज्जब भो बरु,

आमाको बृद्ध भत्ताको हिसाब नपाएर छटपटिएको छ मन मेरो अचेल,

भाइले मेरो पुरानो जिन्स लिन्छु भन्थ्यो तर मनले दिन मानेन उसलाई,

छिमेकी घुर्छ मेरो हरेक हिसाब प्रति जुन दिन देखि मैले उनीहरुको मलामी जानै छोडिदिए,

के म बाध्यतामा छैन र सरकार?

 

यो कलियुग को अन्तिम प्रहर हो भनेर मैले उधारो गरिन नगद ब्यबहारहरु,

मलाइ थुकले चिप्काइ चिप्काइ चिल्ला नोटहरू का चाङ मिलाएर दराजमा राख्न आउछ,

चिल्लो गाडी मेरो घर अगाडी बहुतै सुन्दर देखिने गरेको छ अचेल,

मेरो सपना अरुले चोर्लान भनेर बहुतै मेहनत गरि निद्राको गेट बनाउने सोचेथे,

किनकि हर सपनीमा आउछन र बहुतै सताउछन ति इर्ष्यालु र डाहले डामेका दुष्टहरु,

के म स्मार्ट छैन त सरकार?

 

मेरा हर योग्य आदतहरुमा खोट लागेछ अचेल,

म निदाएपछि थाहा पाउदिन ओठबाट बग्ने र्यालहरुले सिरानीको पैसोको बिटो भिजेको,

आफ्नै मनभित्रका चुपचाप मष्तिस्कमा बुनेका र माया गरि सजाएका,

मेरा अटेसमटेस षड्यन्त्रहरु पनि बेहोशीमा बर्बराउदो रहेछ यो स्वरघन्टीले,

जब सुत्नुअघि आफैले छोपेको गुप्तांग रातैभरी आफ्नै हातले हटाइदिएपछि, लाजै पनि बाकि नहुदो रहेछ, 

के म नाङ्गो छैन त सरकार ?

 

Twitter: @bbileen

कमेन्ट गर्नुहोस्