कोरोनाविरुद्ध 'फ्रन्टलाइन' योद्धा डा. पण्डित: रिटायर्ड हुने मौकाबीच रोकिएर महाव्याधि सामना

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रादेशिक अस्पताल जनकपुरमा अहिले ५० शय्याको कोभिड– १९ विशेष अस्पताल सञ्चालनमा छ । शुक्रवारसम्म उक्त अस्पतालको आइसोलेसन वार्डमा १० जना संक्रमित र २ जना सम्भावित गरेर कुल १२ जना बिरामी उपचाररत छन् ।

अस्पतालमा कार्यरत वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. कुलदीप पण्डितको अगुवाइमा गठित चिकित्सकीय तथा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेका छन् । हालसम्म करीब ४५ जना कोरोनाको शंकास्पद बिरामीहरू आइसोलेसन वार्डमा उपचार गरेर घर फर्किएको डा. पण्डितले बताए ।


Advertisement

प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिङ क्याम्पसमा छुट्टै अहिले विशेष कोभिड अस्पताल सञ्चालित छ । त्यस अघि अस्पताल परिसरमा नै आकस्मिक कक्षको माथिल्लो तल्लामा २ शय्याबाट कोरोनाको उपचार शुरू भएको थियो । २ बाट १२ शय्या व्यवस्थापन गरेर त्यहाँ सम्भावित कोरोनाको बिरामीलाई उपचार दिन थालियो । 


Advertisement

अस्पतालमा नै कोरोनाको उपचार र अस्पतालका अन्य सेवाहरू प्रभावित हुन लाग्दा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पताल परिसरभन्दा बाहिर कोरोना विशेष अस्पताल सञ्चालनमा आएको हो । उक्त अस्पतालका मेडकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले डा. पण्डितलाई नै कोरोनाको फोकल पर्सन बनाएर परिचालित गरे । 

‘हुन त कोरोना रोगको उपचारमा अन्य विभागका चिकित्सकहरू पनि कार्यरत छन् तर, मेसु डाक्टर सा’बले दिनुभएको जिम्मेवारी मैले सहर्ष स्वीकार गरें,’ डा. पण्डितले लोकान्तरसँग भने, ‘यस्तो महामारीको समयमा बिरामीको उपचार गर्न पाउँदा धेरै नै खुशी लागेको छ ।’ अहिले महामारीमा बिहानदेखि साँझसम्म अस्पतालमा नै समय बिताउने गरेका उनी रातको समयमा पनि फोनमा उपलब्ध रहने गरेको बताउँछन् । 

यस्तो चुनौतिपूर्ण अवस्थामा कतिपय चिकित्सक आप्mनो जिम्मेवारीबाट पन्छिन पनि खोज्छन् तर, पण्डित डाक्टर सा’बले धेरै राम्रो तरिकाले कर्तव्य निर्वाह गरिरहेको अस्पतालका निमित्त मेसु डा. जामुनप्रसाद सिंह बताउँछन् ।

‘उहाँ केही दिनपछि सेवाबाट निवृत्त हुनुहुँदैछ, जिम्मेवारीबाट भाग्न चाहेको भए उहाँले बिदा लिएर घर बस्न सक्नुहुन्थ्यो,’ डा. सिंहले भने, ‘अवकाश पाउने बेला एक महिनाअघि बिदा लिन पाउने प्रावधान पनि छ, सञ्चित बिदा पनि धेरै बाँकी छ तर लिनुभएन ।’ आउँदो साउन ६ गते उनी अवकाश प्राप्त गर्दैछन् । र, अवकासपछि पनि अहिले महामारी नियन्त्रण नहुञ्जेलसम्म सेवालाई निरन्तरता देओस् भन्ने अस्पताल प्रशासनको चाहना छ । 

एक महिनाको घर बिदा, १२ दिनको क्यावि बिदा, सार्वजनिक बिदाको दिनसमेत काम गरेबापतको सञ्चित बिदासहित थुप्रै बिदा बाँकी नै रहेको डा. पण्डित पनि बताउँछन् । ‘कुनै पनि महामारी भएको बेला झन जिम्मेवार भई दिनरात बिरामीको उपचारमा खट्नुपर्ने हाम्रो कर्तव्य नै हो,’ डा. पण्डितले भने, ‘अहिले कोरोनाबाट डराउने होइन, डटेर सामना गर्नुपर्ने समय भएकाले कोरोना बिरामीको उपचारमा खटिएका छौं ।’ 

कोरोना संक्रमण हुने हो भने जहाँ पनि हुन सक्छ । छुट्टि लिएर घरमा बसेको समय पनि सक्छ । ‘बरू अस्पतालमा नै बढी सुरक्षित हुन सक्छौं, किनभने त्यहाँ काम गर्दा अत्यन्त सचेत रहने गर्छौं,’ डा. पण्डितले थपे, ‘ उपचारका क्रममा कोरोना लागे पनि डराउनुपर्ने स्थिति पनि छैन ।’ कोरोनाबाट मृत्य हुने दर धेरै कम छ, निको भएर घर फर्किनेको दर धेरै नै बढी रहेका कारण डर्नुपर्ने स्थिति नरहेको उनी बताउँछन् । 

एक त जागिर गरेपछि तथा काम गर्नै पर्ने हुन्छ ।  झन् मेडिकल फिल्डमा काम गर्दा पेशागत जिम्मेवारी सँगै काम गर्ने धर्म पनि रहेको उनी बताउँछन् । संघीय सरकारले फ्रन्टलाइनका चिकित्सकदेखि सफाइकर्मी कर्मचारीसम्मलाई प्रोत्साहन भत्ता समेत दिएका कारण पनि कर्मचारीहरू प्रोत्साहित रहेको उनले बताए ।

गाउँको सामान्य परिवारका पण्डित 

पण्डितको घर धनुषाको बिदेह नगरपालिकाको वडा नम्बर ६ गिद्धा गाउँमा छ । उनी कुम्हार जातिका हुन् । उक्त जातिका मानिसले परम्परागत रूपमा माटोको मूर्ति, भाँडा बर्तन लगायतका सामान बनाउने कलाकार हुन्छन् । उनका बुवा स्वर्गीय चौधरी पण्डित र आमा रामवती देवी साधारण खेती गृहस्थी गरेर दुवै छोराहरू जगदिश र कुलदीपलाई पढाएका थिए ।

गाउँकै विद्यालयबाट ७ कक्षासम्मको पढाई गरेका उनी गाउँभन्दा ३ किलोमिटर टाढा मावि धबौलीबाट २०३३ सालमा उनले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । 

त्यसपछि उनले चिकित्साशास्त्रको इन्सिटिच्युट अफ मेडिसिन आइओएमबाट फार्मेसी ग्रुपमा सर्टिफिकेट इन मेडिसिन फार्मेसी तह उत्तीर्ण गरे । इन्ट्रान्स पास गरेर उनले त्यसमा नाम निकालेका थिए ।

त्यतिबेला एमबीबीएस पढ्नका लागि हेल्थ असिस्टेन्ट वा फार्मेसी वा मेडिसिनअन्तर्गत साढे २ वर्षको कोर्ष उत्तीर्ण गर्नुपथ्र्यो ।  सरकारको छात्रवृत्तिमा पढेका विद्यार्थीले पढाई सकेपछि ३ वर्ष अनिवार्यरूपमा काम गर्नुपर्ने हुन्थ्यो । सोही क्रममा २०४० सालमा त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालको फार्मेसीमा उनले काम पनि गरे । कामकै शिलशिलामा उनी स्थायी पनि भए ।

३ वर्ष काम गरिसकेपछि उनले आईओएमबाटै नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्न सफल भए ।

२०४८ सालमा एमबीबीएसको अध्ययन सकाएपछि फेरि पनि उनले अनिवार्यरूपमा काम गर्नुपर्ने प्रावधानअनुरूप त्रिवि शिक्षण अस्पतालमा उनले मेडिकल अधिकृतको रूपमा काम गरे । त्यसपछि २०५२ सालमा उनले नेपाल सरकारको सेवातर्फ लोक सेवा आयोगमा नाम निकालेर स्थायी भएर काठमाडौंकै वीर अस्पताल काम गर्न थाले ।  

पछि उनले फेरि अध्ययन बिदा लिएर आईओएमबाटै एमडीमा समेत नाम निकाल्न सफल भए । ‘एमडी पास भई सकेपछि कति काठमाडौंमै बस्नु, अब आफ्नो गाउँ ठाउँको पनि सेवा गर्नुपर्छ भनेर धनुषा सरुवा गराएर आएँ,’ डा. पण्डितले भने, ‘शुरूमा धनुषाको महेन्द्रनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा केही वर्ष काम गरें, पछि जनकपुर अञ्चल अस्पतालमा काम गर्न थालें ।’

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्