कोरोनाको चापमा अर्थतन्त्र

चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।

मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापार लगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।


Advertisement

कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका कारण आर्थिक वृद्धिदर पनि निकै खुम्चिने प्रक्षेपण सर्वेक्षणले गरेको छ । प्रारम्भिक अनुमानअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहनेछ; जबकि सरकारले चालू आवको बजेटमा ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । आर्थिक सर्वेक्षणअनुसार वार्षिक प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार रुपियाँ पुग्ने अनुमान छ ।

त्यस्तै कुल गार्हस्थ्य उत्पादनको ८१.९ प्रतिशत कुल उपभोग र बचत १८.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । महामारीले कुल लगानीमा प्रत्यक्ष असर पार्ने अनुमान पनि आर्थिक सर्वेक्षणले गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको सङ्कुचनका कारण चालू आवमा कुल लगानी ३.४ प्रतिशतले घटेर १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान छ । यद्यपि निरपेक्ष गरिबी अघिल्लो आवको १८.७ प्रतिशतले घटेर चालू आवमा १६.६७ प्रतिशत मात्र रहने प्रक्षेपण पनि गरिएको छ ।


Advertisement

चालू आवको फागुन महिनासम्मको तथ्याङ्कका आधारमा अर्थतन्त्रको विश्लेषण गरिएकाले सर्वेक्षणमा कतिपय सूचकले कोरोना महामारीयताको तथ्याङ्क भने समेटिएको छैन । फागुनसम्मको तथ्याङ्कअनुसार मूल्यवृद्धि ६.५ प्रतिशत पुगेको छ; जबकि अघिल्लो आवको सोही अवधिको यो ४.२ प्रतिशत मात्र थियो । उक्त अवधिमा सरकारी खर्च १२.९ प्रतिशतले बढेर छ खर्ब १० अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।

यसमध्ये चार खर्ब ५० अर्ब चालू, ९६ अर्ब ४८ करोड पुँजीगत र ६३ अर्ब ४२ करोड वित्तीय खर्चको हिस्सा छ । फागुनसम्म सङ्घीय सञ्चित कोष र विभाज्य कोषमा अघिल्लो फागुनको तुलनामा ९.४ प्रतिशतले बढेर पाँच खर्ब ४३ अर्ब ७९ करोड रुपियाँ राजस्व दाखिला भएको आर्थिक सर्वेक्षण उल्लेख छ ।

फागुनसम्म सरकारले ९३ अर्ब नौ करोड वैदेशिक ऋण र १६ खर्ब १९ करोड रुपियाँ अनुदानको प्रतिबद्धता प्राप्त गरेको छ । सरकारको सार्वजनिक ऋणको आकार फागुनसम्म ११ खर्ब ३९ अर्ब ८० करोड रुपियाँ पुगेको छ; जसमध्ये आन्तरिक ऋण चार खर्ब ४० अर्ब र वाह्य ऋण ६ खर्ब ९९ अर्ब रहेको छ ।

 वैदेशिक लगानी निकै बढ्यो
फागुनसम्म नेपाल भित्रने वैदेशिक लगानी भने निकै बढेको छ । गत फागुनको तुलनामा यस्तो वैदेशिक लगानी १६५.४ प्रतिशतले बढेर २९ अर्ब ६७ करोड रुपियाँ पुगेको छ । उक्त अवधिमा लगानी बोर्डबाट एक खर्ब ५५ अर्ब रुपियाँ लगानी पनि स्वीकृत भएको छ ।

विपे्रषण आप्रवाह फागुनसम्म अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले बढेर पाँच खर्ब ९२ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । फागुनसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ३६ अर्ब ५१ करोड रुपियाँ पुगेको छ; जुन गत असारमा १० खर्ब ३९ अर्ब रुपियाँ थियो । समीक्षा अवधिसम्म निर्यात २२.३ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड रुपियाँ पुगेको छ भने वस्तु आयात २.६ प्रतिशतले घटेर नौ खर्ब २४ अर्ब २४ करोड रुपियाँ पुगेको छ ।

चालू आवमा आयात निर्यातको प्रवृत्तिमा देखिएको यस्तो परिवर्तनले व्यापार घाटा ४.३ प्रतिशतले घटेर ८ खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ । गत आवको फागुनमा ५८ अर्ब ९९ करोड रुपियाँ शोधनान्तर स्थिति घाटामा रहेकोमा चालू

आवको फागुनसम्म ३७ अर्ब ८४ करोड रुपियाँले बचतमा छ । चालू खाता घाटा अघिल्लो फागुनको एक खर्ब ९१ अर्ब रुपियाँबाट घटेर एक खर्ब २४ अर्ब रुपियाँमा घाटा रहेको छ ।

आर्थिक सर्वेक्षणले समेटेको फागुनसम्मको तथ्याङ्कअनुसार विद्युत्, वित्तीय पहुँच, सडक, बीमा लगायतको पहुँच विस्तार भएको देखिन्छ; जसअनुसार ९० प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको देखिएको छ । विद्युत् उत्पादन पनि गत वर्र्षको तुलनामा ८.३ प्रतिशतले बढेर एक हजार ३५५ मेगावाट पुगेको छ । वित्तीय संस्था तथा लघु वित्तीय संस्थाको शाखा सङ्ख्या गत असारको तुलनामा ११ प्रतिशतले बढेर नौ हजार ६४० पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्