विद्युतीय कारमा भन्सार बढाउने बजेटको प्रस्तावमा पुनर्विचार हुनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

नेकपाका प्रभावशाली सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय गाडीमा गरिएको भन्सार वृद्धिमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै नेकपा सांसद पाण्डेले विद्युतीय गाडीको उपयोगले पेट्रोलको आयातमा दीर्घकालीन समाधान दिने भन्दै करवृद्धिको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् । 


Advertisement

‘इलोक्ट्रोनिक भेइकलमा भन्सार बढाइएको रहेछ, किन बढाइयो भन्ने सन्दर्भमा, सामान्य गाडीभन्दा महंगो हुने र फरेन करेन्सीको चाप पर्छ कि भन्ने अर्थमन्त्रालको चिन्ता रहेछ,’ पूर्वमन्त्री पाण्डेले संसद्‍मा भने, ‘अझैपनि आग्रह छ, यसमा पुनर्विचार गर्न जरुरी छ, किनभने विद्युतीय कारले हामीलाई पेट्रोलको आयातमा दीर्घकालीन समाधान दिन्छ ।’

विद्युतीय कार महंगो हुने र यसको फाइदा धनी वर्गले मात्र लिइरहेको भन्ने खालको प्रतिक्रिया आफूले पाएको उनले बताए । ‘यो धनीले ल्याउने खालको हो, गरीबले किन्ने कार भारतमा अढाई लाखमा पाइन्छ, विद्युतीय कार ३२ हजार डलरभन्दा सानो छैन । अर्थात ३५ लाखभन्दा बढी पर्ने कार धनीले मात्र लाभ लिन सक्छन् भन्ने रहेछ,’ पाण्डेले संसद्‍मा भने, ‘जेसुकै भएपनि राष्ट्रिय महत्त्वका हिसाबले विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने देख्छु ।’ 


Advertisement

विद्युतीय कारमा भन्सार बढाइएकोमा नेपालका वातावरण क्षेत्रका विज्ञहरूले विरोध जनाएका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्री डा. युवराज खविडाले ल्याएको बजेटको समर्थन गर्दै कार्यान्वयनमा जोड दिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्