सोती घटनाले उजागर गरेको प्रश्न : अन्य नवराजहरूले समाजमा ससम्मान बाँच्न कहिले पाउने ?

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

अहिले अत्यन्त विकसित, विश्वशक्ति, मानव अधिकारको हिमायती राष्ट्र संयुक्त राज्य अमेरिका जहाँ एक अश्वेत नागरिकको दिनदहाडै पशुवत हिसाबले हत्या गरियो त्यो पनि राज्यका तर्फबाट ।

मृतक ठूला अपराधि भएको तर्क गरिँदैछ, तर कानूनले ज्यानमाराको पनि संरक्षण गर्दै उसलाई कानुनसम्मत् कारवाही गर्नुपर्दछ भन्ने जस्ता लोकतन्त्रको पैरवी गर्दै आएको अमेरिकाले निजलाई नियन्त्रणमा लिइसकेपछि निर्मम हत्या गरेको छ, यो घटना अमेरिकाले दासप्रथाको उन्मुलन गरेको अवधि करीब एक सय पचपन्न वर्ष पार गर्दै गर्दा घटेको छ, यति सम्पन्न देशमा यस प्रकारका जातीय द्वेष सिर्जना गरी आफ्ना नागरिकहरूका बीच द्वन्द्व हुने परिस्थितिलाई निस्तेज गरेर पूर्णरूपमा जातीय भेदभावलाई निषेध गर्ने गरी सामाजिक स्वीकार्यता पाइसक्नुपर्ने हो, तर विकासशील देशहरूका लागि सपनाको मुलुकको रूपमा रहेको सम्पन्न देश भएतापनि अमेरिका लगायतका पश्चिमा देशहरूमा स्वेत जातिले अस्वेतमाथि गरिने व्यवहारमा खासै सुधार आउन सकेको देखिएन ।


Advertisement

यस पाशविक घटनाले एकपटक पश्चिमा सम्पन्न राष्ट्रका स्वेत मालिकहरूले दास प्रथाको अभ्यासलाई उनीहरूको सभ्यता, संस्कृति र जीवनकै अभिन्न अंगका रूपमा लिई लामो समयदेखि अश्वेतहरूलाई गरेको अमानवीय दमनको ताजा स्मरण गराएको छ । अहिले यही घटनालाई लिएर त्यस देशका करीब ३० राज्यहरूमा आन्दोलनले उग्ररूप लिई स्थिति नियन्त्रणभन्दा बाहिरपुग्ने खतरा देखिँदै छ ।

यो भन्दा पनि विभत्स घटना नेपालकै जाजरकोट जिल्लाका विश्वकर्मा थरका एक युवकको रुकुमको सोतीका ठकुरीकी छोरीसँगको प्रेम सम्बन्धले विकसितरूप लिई दाम्पत्य जीवनमा जोडिने अवस्थाको विकास भएपछि प्रेमी विश्वकर्मा लगायत उनका साथीहरूको विभत्स हत्या गरेर त्यस क्षेत्रलाई नै नकारात्मक दृष्टिले हेर्ने स्थिति बनाएको छ । यो निर्वाचित वडाध्यक्षको नेतृत्वमा आएका गाउँलेहरूबाट घटाइएको, गाउँकै इज्जत र प्रतिष्ठामा आँच आउने गम्भीर प्रकृतिको दारुनिक र दुःखद् घटना हो, यसको सर्वत्र निन्दा र भत्सर्ना भइराखेको छ । 


Advertisement

किन यसरी हाम्रो समाज अत्यन्त संकुचित मानसिकतामा बाँचिराखेको छ ? एक मानव जाति अर्को मानवसँग यति कठोर कसरी बनिराखेको छ ? पटक–पटक जातीय भेदभावका घटनाहरू देशको विभिन्न स्थानमा घट्नुलाई सामान्य व्यवहारको रूपमा लिँदै गएको अवस्था छ ।

यसका लागि धेरै प्रकारका अवस्थाहरू हाम्रो सन्दर्भमा जिम्मेवार देखिन्छन्, पहिलो हो, हामीले हाम्रो संस्कारको रूपमा लिँदै आएको विधि, व्यवहार, धर्म र यसैमा आधारित हुँदै नेपाली समाजले अभ्यस्तता प्राप्त गर्दै गयो, नेपालमा विशेष गरी ब्राह्मण र क्षेत्रीहरूले धर्म र शक्तिको आडमा जातीय भेदभावलाई निरन्तरता पौराणिक कालदेखि दिँदै गए, हाम्रा हिन्दू धम्रगन्थहरूमा समेत यस प्रकारको विभेदजन्य व्यवहारमा अभ्यस्तता दिलाउने गरी समाज निर्देशित भएको छ । रिग्वेद्का अनुसार श्रृष्टिकर्ता ब्रह्माका निकटतम रहेका मानवलाई ब्राह्मण भनिएको पाइन्छ, ब्रम्हाबाट ब्राह्मण बनाइएकाहरूले आफूलाई देवत्वकरण गर्दै गएका हुन्, उदाहरणका लागि मनुस्मृतिको अध्ययन गर्दा चार वर्णलाई पेशागत आधारमा विभाजन गरेको पाइन्छ । यी दुवै जातिहरू हाम्रो शासनको केन्द्रबिन्दुमा रहँदै आए ।

यस विकृतिको समूल समाप्त गर्न सक्दा मात्र नेपाली समाजमा सुधार आउनेछ । अब प्रश्न उठ्छ, यस विकृतिलाई समूल नस्ट गर्ने प्रयास नभएको हो या अपर्याप्त भएको हो ?

नीति, कानून, रितिरिवाज, पेशा आदि सबैमा यी उच्च जातको मान्यता राष्ट्रबाट पाउनेहरूको पहुँच मात्र नभई सबै जातजातिहरूलाई पेशा र विधि व्यवहारको निर्धारण ब्राह्मणहरूको परामर्शमा शासन सञ्चालन गर्दै आएका क्षेत्रीहरूले गरेका हुन्, बाहुनहरूलाई सभ्य र सुसंस्कृत मान्दै उनीहरूलाई सम्मान गर्दा सबै प्रकारका पापबाट उन्मुक्ति मिल्ने विधिको प्रयोग पौराणिक कालदेखि आजपर्यन्त प्रचलनमा रहेको छ ।

शासक वर्गहरूको व्यवहारको चर्चा गर्दा राजा जयस्थिति मल्लले बसाएको रितिरिवाज, जंगबहादुरले शक्तिको आडमा कमजोर वर्गमाथि गरेको थिचोमिचो, मुलुकी ऐन १९१० ले गरेका व्यवस्थाहरू सबैले जातीय विभेदलाई प्रश्रय दिँदै गएका छन् । शक्तिको आडमा शासनमा रहनेहरूले आफूले इच्छा गरेको पेशाको छनोट गर्न पाउने नै भए, कानूनले गरेको व्यवस्था र नीतिहरूका कारण शासनमा रहनेहरू आर्थिकरूपमा सम्पन्न र अन्य जातिहरू कमजोर हुँदै गए ।

सामाजिक हिसाबले सम्मानित नगरिने पेशाहरू प्राय शुद्रको दर्जा दिइएका जातिहरूलाई प्रदान गरियो, यसको प्रतिनिधि उदाहरणको रूपमा काठमाडौं उपत्यकाका कसाईहरूले पशुवध गरी मासु बिक्री गर्ने पेशा पाए तर त्यही पेशा अहिलेको समयमा उपत्यकामा घनाआवादी भएको र मासुलाई पौष्टिक आहारका साथै इज्जत एवं प्रतिष्ठा आर्जन गर्ने परिकारका रूपमा स्वीकार गर्दैजाँदा यो पेशा फस्टाउँदै गयो, हाल यस पेशालाई कसाइको मात्र एकाधिकार हुन दिइएको छैन, सबै जातिहरूले अवलम्बन गर्दै आएका छन् । यी सबै कारणले गर्दा हाम्रो समाजले धेरै लामो समयदेखि जातिगत र छुवाछुताको मनोविज्ञानबाट निरपेक्षरूपमा मुक्ति पाइराखेको छैन, तल्लो जाति र माथिल्लो जातिबीचको विभेद एवं यसैका आडमा तल्लो जातिमाथि हुने शोषणले अझैपनि निरन्तरता पाइराखेको छ ।

यस विकृतिको समूल समाप्त गर्न सक्दा मात्र नेपाली समाजमा सुधार आउनेछ । अब प्रश्न उठ्छ, यस विकृतिलाई समूल नस्ट गर्ने प्रयास नभएको हो या अपर्याप्त भएको हो ? लामो समयदेखिको अभ्यस्तताबाट उन्मुक्ति प्राप्तगर्ने विषयले लामो समय लिने नै भयो । यस सन्दर्भमा मलाई आफ्नो बाल्यकालका दुईवटा घटनाहरूको सम्झना आइराखेको छ । पहिलो हो, मेरो जन्मस्थानभन्दा माथिल्लो गाउँमा कोइरालाहरूको घनाबस्ती थियो ।

उनीहरू विपन्न पूर्विया र हामीहरू सम्पन्न कुमाईं । दुवैथरी ब्राह्मण भएपनि आपसमा पानी चल्दो रहेनछ । हाम्रो पाखावारी त्यस भेगमा भएकाले समय–समयमा जाने गरिन्थ्यो । मेरो हजुरबुवालाई सधैं नातिले कोइरालाहरूको घरमा पानी खाने हो कि भनी चिन्ताले सताउने गर्दथ्यो । दोस्रो हो, बुवा प्रधानपञ्च । गाउँमा खानेपानीको कार्यक्रम सञ्चालन गर्न न्यूयोर्क शहरका अमेरिकी नागरिक गेजा रुस्का ओभरसियर स्वयंसेवकका रूपमा काम गर्न खटिएका थिए । उनलाई छुट्टै घरमा राखिएको थियो । करीब एक वर्षको उनको बसाईको अवधिमा मेरो हजुरबुबा र हजुरआमा लगायतका उमेर समूहकाहरूले उक्त पश्चिमा स्वयम्सेवकसँग सामाजिक दूरी कायम गर्नुभएको थियो ।

उहाँहरूको तर्क थियो, नेपालका दलितहरूभन्दा पनि उनी तल्लो जाति म्लेछ्च थिए । त्यस समयदेखि जेष्ठ नागरिकहरूको यो तर्कले मलाई आफ्ना देशका दलित वा तल्लो जातिहरूप्रति समानभाव राख्न प्रेरित गर्‍यो, किनकि हामी पश्चिमाहरूको संस्कृति, रहनसहनमा अभ्यस्त हुँदा आफूलाई घरानीया, इज्जत र प्रतिष्ठा भएको वर्गमा स्थापित भएकोमा गर्व गर्दै नेपाली दलितहरूलाई अझै पनि बेलाबखत तिरस्कार गर्न पछि पर्दैनौं ।

यो भेदभावका लागि हामीहरूमा आर्थिक पक्षले अत्यन्त ज्यादा प्रभाव परिराखेको छ । पश्चिमाहरूलाई सम्मान गरेर नेपालका दलितहरूलाई पूर्णरूपमा स्वीकार गर्न नसक्नु हामीमा रहेको ठूलो मनोबैज्ञानिक कमजोरी हो भन्नेमा आफू अभ्यस्त भएको छु ।

लामो समय प्रजिअको जिम्मेवारीमा रहँदा दलितहरू विशेष गरी परियार र विश्वकर्माहरूले जात परिवर्तनको माग गर्दै नागरिकता सच्याइदिन अनुरोध गर्दा मैले कुनै असहजताको महसूस गरिनँ । धेरै दलितहरू घिमिरे, कोइराला, बस्याल आदि बन्नुभयो, तर यी जातिहरूलाई आफ्नो जातिप्रति गौरव गर्न सक्ने अवस्था हाम्रो समाज र शासकहरूले सिर्जना गर्न नसकेको अनुभूतिले अझै नराम्ररी झस्काउने गर्दछ । तसर्थ जातीय भेदभावपूर्ण व्यवहार हाम्रो विकृत मानसिकताको उपज मात्र हो, यसमा हाम्रो समाजले छलाङ मार्नु नै पर्दछ ।

लामो समय प्रजिअको जिम्मेवारीमा रहँदा दलितहरू विशेष गरी परियार र विश्वकर्माहरूले जात परिवर्तनको माग गर्दै नागरिकता सच्याइदिन अनुरोध गर्दा मैले कुनै असहजताको महसूस गरिनँ । धेरै दलितहरू घिमिरे, कोइराला, बस्याल आदि बन्नुभयो ।

उच्च जातिको पगरी गुथेर रहने हामीहरूमा यो मानसिक तयारी निरपेक्षरूपमा हुँदा मात्र सोती घटनाहरूको पुनरावृत्ति हुने छैन र समाजको चिन्तन गर्ने शैलीको विश्लेषण गर्दा यसका लागि पूर्ण प्रगति हासिल गर्न अझै अर्को केही दशक हामीले प्रतीक्षा गर्नुपर्ने अवस्था छ, किनकि इसापूर्व ६०० मा नै गौतम बुद्धले यस विकृतिलाई निर्मुल गर्नुपर्ने पक्षमा आफ्नो दर्शन नै प्रतिपादन गरेका थिए ।

आधुनिक समयमा राजा महेन्द्रले जातीय भेदभाव निर्मुल पार्ने सम्बन्धमा शासकीय प्रबन्ध गर्दै गएका हुन्, उनले रचना गरेका कविताहरू ‘देशको माटो र गर्छिन् पुकार आमा रोई कराई जोडले, सक्दिनँ देख्न भन्छिन् सन्तान थरिथरिका’ले पनि जातीय भेदभावका विरुद्ध नेपाली समाजमा सुधारका लागि प्रेरणा प्रदान गरेको थियो ।

२०६३ सालबाट देश जातीय भेदभाव र छुवाछुतमुक्त घोषणा भएको हो, जातीय भेदभाव र छुवाछुत कसूर सजाय ऐन पनि २०६८ सालबाट प्रयोगमा आएकै छ, नेपालको वर्तमान संविधानले नेपाली नागरिक जो केहीका बीच कुनै प्रकारको विभेद नरहने व्यवस्था प्रस्ट गरेको छ, तथापी यही देशमा नवराज विश्वकर्मा जस्ता इमान्दार र समर्पित प्रेमीहरूको दिनदहाडै निर्मम हत्या भएकै छ, अहिले पनि मठ मन्दिरमा दलित समाजका सदस्यहरूलाई प्रवेश नदिने घटनाहरूमा पूर्णरूपमा सुधार हुनसकेको छैन । उच्च जातिले प्रयोग गर्ने कुवा इनारमा यस्ता जातिहरूले सहजै पहुँच कायम गर्न सकेका छैनन् ।

लामो समयदेखि एक मिजारको लास सदगद् हुन नसकेर टिचिङ अस्पतालमा लडिराखेको छ । यस्ता घटनाहरूलाई हामीले समूल समाप्त गर्न अभियानकैरूपमा किन अघि बढ्न उत्साह देखाएनौं ? समस्या यहीँ छ । यस सन्दर्भमा हिन्दुस्थानका संविधान मस्यौदा समितिका सभापति अम्बदेकरले सन् १९४९ मा व्यक्त गरेका भनाइहरूको नजिक पुग्न सकिन्छ ।

उनको भनाइ थियो, ‘ संविधान जतिसुकै राम्रो किन नहोस्, यदि त्यसलाई कार्यान्वयन गर्नेहरूको नियत खराब भयो भने त्यो संविधान पनि खराब नै हुन्छ ।’ नेपालको सन्दर्भमा कानूनी व्यवस्थाहरू पर्याप्त हुँदा पनि यो विभेद र अमानवीय व्यवहारमा मौलिकरूपमा प्रगती गर्न नसक्नुका पछाडि हाम्रा कानूनका निर्माताहरू र कार्यान्वयनकर्ताहरूको नियतमा शंका गर्नुपर्ने अवस्था छ । त्यस क्षेत्रका संसद्मा प्रतिनिधित्व गर्ने सांसद्को अभिव्यक्तिबाट पनि अब सोती घटनामा पीडितहरूले न्याय प्राप्त गर्ने सन्दर्भमा आशंका गर्न थालिएको छ ।

जहाँसम्म यही जेठ १० गते घटेको सोती घटनाको सन्दर्भ छ, यो भन्दा निर्मम, अमानवीय, पाशविक, बर्बर र आततायीपूर्ण अपराध अरू हुनै सक्दैन । नेपाली मानव समुदायका ब्राह्मण उच्च जातिमा दर्जा भएकाहरू र विशेष गरी क्षेत्रीलाई यसले हदैसम्म लज्जित बनाएको छ र पूरै सोती गाउँलाई कलंकको कालो टीका लगाएको छ ।

यसले एकपटक फेरि पनि कानूनी व्यवस्था र विद्यालयहरूमा गरिने अध्ययन अध्यापनभन्दा घरमा प्राप्त हुने शिक्षा र व्यवहार धेरै शक्तिशाली हुने पक्षलाई जवरजस्त स्मरण गराएको छ । संप्रेसित समाचारहरूलाई आधार मान्दा नवराजलाई सुष्मा मल्लले दिएको समयभन्दा अघि नै गाउँ पुग्न लाग्दा प्रतीक्षा गराउनु, भागेर जाने विषयमा जोडीका बीच समझदारी हुँदा १७/१८ जना मानिस लिएर आउन भन्नु, नवराजको घरमा दुई पटकसम्म रात बिताएको स्वीकार सुष्माले गर्नु, वडा अध्यक्षकै नेतृत्वमा प्रायः सबै गाउँलेहरू जम्मा भई प्रेमी नवराजलगायत अन्य ५ जनालाई भाग्न उम्कन नसक्ने गरी घेराबन्दी गरेर पाशविक तबरले हत्या गरी भेरी नदीमा फालिदिने जस्ता घटनालाई संयोग मात्र मान्न किमार्थ सकिन्न, यो सुनियोजित घटना हो, मानवहरूको हत्या गर्नमा अभ्यस्तता प्राप्त गरेको राजनीतिबाट प्रशिक्षित भएकाहरूका लागि यो घटना ठूलो अपराध नहुन सक्दछ, शक्ति केन्द्रको आड भरोसाको अभावमा यस्तो जघन्य अपराध ती गाउँलेहरूबाट मात्र हुन सक्दैन । यो घटनाले यस समाजका जो कोही क्षेत्री–ठकुरीहरूको शिर निहुर्‍याएको छ । 

अब यी अपराधीहरूलाई हदैसम्मको कारवाही गरी यस प्रकारका घटनाहरूको पुनरावृत्ति हुन नदिन सम्बन्धित पक्ष र नेपाली समाज विशेष चनाखो हुनु जरूरी छ, यस प्रकारको विभेद गर्न दलित जात जातिहरू पनि पूर्विया र कुमाई बाहुनभन्दा बढी विभेदकारी देखिएका छन् । ब्राह्मण समाजको एक सदस्यका नाताले असहज महसूस गर्दै मैले गरेको अनुभवको उल्लेख गर्नु सान्दर्भिक देख्दछु ।

दोष उच्च जातिको श्रेणीमा त छँदैछ, दलितहरूका बीचका यस्ता समस्याहरूलाई पनि सुधार गर्दै अघि बढ्नु पर्दछ । समस्या जात जातिहरूको बीचमा मात्र सीमित नभई समाजमै निहीत छ ।

एक जिल्लामा प्रजिअ भएर कार्यभार सम्हालेको थोरै दिनमा त्यस जिल्लाका विश्वकर्माहरूको युवा समूह वनभोज कार्यक्रमको निम्तो दिन मेरो कार्यकक्षमा प्रवेश गर्नुभयो । दैनिक पूजापाठ गर्ने एक ब्राह्मण प्रजिअ दलितहरूको वनभोजमा कसरी सहभागी हुनसक्छ ? भन्ने उहाँहरूको सोचाइ रहेछ, मैले समोसा र चियाले सत्कार गर्दै सँगै बसेर खाना खाएँ । आमन्त्रणलाई सधन्यवाद सशर्त स्वीकार गरें । मेरो शर्त थियो, मसँग अन्य बढीमा १० जना साथीहरू पनि आउनुहुन्छ । उहाँहरू लाई पनि खाना नास्ताको व्यवस्था आयोजकले गर्नुपर्ने, उहाँहरूले सहर्ष स्वीकार गर्नुभयो ।

मेरो साथमा केही परियारहरू र मिजारहरू हुनुहुन्थ्यो, जसलाई त्यस जिल्लाका धनी विश्वकर्माहरूले आफूभन्दा निम्न जातिको मान्दथे, सोही अनुरूप व्यवहार गर्दथे । जंगलको बीच चौरमा रहेको वनभोज स्थलमा मलाई स्वागत गर्न बस्नु भएका साथीभाइहरूले मेरो साथमा मिजार र परियारहरूको उपस्थिति देखेपछि असहज महसूस गर्नुभयो, तर अभिव्यक्त गर्न सक्नु भएन । मलाई खानाको शुभारम्भ गर्न गरिएको अनुमतिपश्चात आफ्ना साथीहरूलाई अगाडी खाना लिन लगाएँ, र सँगै बसेर खान थालें । त्यहाँको भव्य उपस्थितिको आकार घट्दै गयो । मैले आफना साथीहरूलाई खानाखुवाई साथमै लिएर फर्किएँ ।

यसबाट विश्वकर्मा युवाहरूलाई ठूलै पाठ सिकाउने अवसरको सदुपयोग गरेको थिएँ, तसर्थ दोष उच्च जातिको श्रेणीमा त छँदैछ, दलितहरूका बीचका यस्ता समस्याहरूलाई पनि सुधार गर्दै अघि बढ्नु पर्दछ । समस्या जात जातिहरूको बीचमा मात्र सीमित नभई समाजमै निहीत छ ।

अन्त्यमा, यस देशका सचेत युवाहरू, शासनमा र राज्यको विभिन्न पदमा रहने जिम्मेवार व्यक्तित्वहरू, कानून निर्माताहरू सबै यस विकृतिपूर्ण संस्कारको सुधारका लागि अघि बढ्ने संकल्प गर्दै अन्य नवराजहरूलाई ससम्मान यस समाजमा बाँच्ने परिस्थिति निर्माण गर्नु नै आजको अपरिहार्य आवश्यकता हो ।

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्