बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण के थियो ? त्यो पत्ता लगाउनुपर्ने भन्दै भाजपा सांसद निशिकान्त दुबेले न्यायिक अनुसन्धानको माग राखेका छन् ।
त्यसका साथै उनले बलिउडमा व्याप्त माफियागिरी र सिन्डिकेटलाई सिध्याउनका लागि कलाकारहरू लाग्नुपर्ने बताएका छन् ।
मुम्बई प्रहरीका अनुसार, सुशान्तको पोस्टमोर्टम रिपोर्टमा डोरीमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । महाराष्ट्रका गृहमन्त्रीले पनि व्यावसायिक प्रतिस्पर्धाका कारण सुशान्त डिप्रेसनमा रहेको भन्ने कोणबाट अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
दुबेले एक भिडियो जारी गरेर अनुसन्धानको माग राखेका हुन् । उनले भने, ‘म स्तब्ध छु । मन उद्वेलित छ । पूर्वाञ्चल, बिहार, झारखण्ड, मध्य प्रदेश, छत्तीसगढका मानिसका कारण फिल्म उद्योग चलेको छ । तर त्यहाँका युवालाई हतोत्साहित गरिन्छ, प्रताडित गरिन्छ अनि आत्महत्या गर्न बाध्य बनाइन्छ ।’
उनले आरोप लगाए, ‘मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको विषयमा उजुरी दर्ता गर्न म मुम्बई प्रहरीसमक्ष अपील गर्छु ।’
बलिउडमा चलेको अस्वस्थ गुटबन्दीका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको धेरै मानिसको कथन छ ।
मुम्बईको बान्द्रा प्रहरीले सुशान्तका कामदार, व्यवस्थापक र चिकित्सकसँग सोधपुछ गर्नेछ । सुशान्त के विषयमा यति तनावग्रस्त थिए भन्ने कोणबाट अनुसन्धान गरिनेछ । बलिउडमा उनलाई बहिष्कार गरिएको आरोपका विषयमा पनि जाँचबुझ गरिनेछ ।
३४ वर्षीय सुशान्त आइतवार बान्द्रामा रहेको आफ्नो अपार्टमेन्टमा मृत पाइएका थिए । उनको कामदारले उनी झुण्डिएको खबर प्रहरीलाई दिएको थियो ।
एजेन्सी