आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपूतको जीवनकथामा आधारित फिल्म ‘सुशान्त’ बनाउने घोषणा निर्देशक सनोज मिश्रले गरेका छन् । फिल्मका निर्माता मारुत सिंह हुन् ।
यो फिल्म सुशान्तको बायोपिक नभई बलिउडको अँध्यारो पक्ष देखाउने यथार्थवादी फिल्म हुने बताइएको छ । बलिउडमा उत्पीडनको शिकार भएर भयानक कदम चाल्न बाध्य मानिसहरूको कथा यसले समेट्ने फिल्म निर्माताको भनाइ छ ।
रोड प्रोडक्सन र सनोज मिश्र फिल्म्सको ब्यानरमा बन्ने फिल्मको शूटिङ मुम्बई र बिहारमा गरिनेछ ।
निर्देशक सनोज मिश्रले भने, ‘बलिउडमा नातावाद र पर्दाको चम्किलो संसारभन्दा पछिल्तिर रहेको अँध्यारोका विषयमा हामीले फिल्म बनाउन लागेका हौं । त्यो अँध्यारोमा कैयौं सुशान्त सिंह राजपूतहरू दिनदिनै हत्या र आत्महत्या गर्छन् । उनीहरू ठूला स्टार वा सेलेब्रिटी नभएकाले मानिसलाई उनीहरूको कथा थाहै छैन ।’
मिश्रका अनुसार, सुशान्त बलिउड स्टारहरूको ए लिस्टमा उभिनै लागेका थिए । तर उनको अचानक मृत्यु हुनु दुःखद छ । उनको मृत्युमा बलिउडको पुरानो सिस्टम जिम्मेवार छ । त्यस सिस्टमलाई बहिर देशमा बसेर माफियाहरूले सञ्चालन गर्छन् ।
आफूहरूले सुशान्त फिल्ममार्फत त्यस्ता मानिसको संगठनको पर्दाफास गर्ने उनको भनाइ छ ।
निर्माता मारुत सिंहले पनि बलिउडका बदमासहरूको पर्दाफास गर्ने बताए । आफ्नो वर्चस्व कायम राख्न तिनीहरू जुनसुकै हद पार गर्न समर्थ रहेको उनले आरोप लगाए ।
फिल्ममा नयाँ कलाकार लिइने उनको भनाइ छ ।
एजेन्सी