मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाली सेनाले चीन सरकारको स्वामित्व रहेको चाइना सिनोफार्मसँग खरिद गरेको ‘पीसीआर किट’ का सबै सेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले माग गरेभन्दा फरक पाइएको छ । एनपीएचएलले सेनालाई सामान खरिद गर्न उपलब्ध गराएको विवरण र सेनाले सिनोफार्मबाट प्राप्त गरेको सामग्रीबीच भिन्नता देखिएको हो ।
सेनाले भने आफूले स्वास्थ्य मन्त्रालय र सीसीएमसीले तयार पारेको राष्ट्रिय आवश्यकताको सूचीअनुसारकै सामान खरिद गरेको बताएको छ । मन्त्रालयकै स्पेसिफिकेसनअनुसार खरिद गरेको र आएपछि पनि उसैलाई प्रमाणित गराइएको सेनाको दाबी छ ।
सेनाले वैशाख १ मा स्वास्थ्य मन्त्रालयमार्फत एनपीएचएललाई पीसीआर ल्याबमा कस्तो सामान चाहिन्छ भनेर पत्र पठाएको थियो । एनपीएचएलले वैशाख २ मा पठाएको जवाफमा पीसीआर रिएजेन्ट, न्युक्लिक एसिड एक्स्ट्रयाक्सन किट र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) कस्तो प्रकारको चाहिन्छ भनेर लेखिएको थियो । प्रयोगशालाले सेनालाई पठाएको पत्रअनुसार कोरोना भाइरसको पीसीआर परीक्षणका लागि प्रयोग हुने सामग्री ‘ओपन सिस्टम’ का (जुनसुकै पीसीआर किटमा प्रयोग हुने रिएजेन्ट, एक्स्ट्रयाक्सन किट र भीटीएम) माग गरेको देखिन्छ । तर, चीनबाट सेनाले खरिद गरेको पीसीआर किट भने पीसीआर रिएजेन्टबाहेक अन्य दुई ‘स्याम्पल रिलिज रिएजेन्ट’ (आरएनए एक्स्ट्रयाक्सन) र ‘स्याम्पल स्टोरेज रिएजेन्ट’ (भीटीएम) ‘क्लोज्ड सिस्टम’ (एउटै कम्पनीको भीटीएम र आरएनए एक्स्ट्रयाक्सन एउटै कम्पनीको भए मात्रै काम गर्ने) परेपछि विवाद भएको हो ।
त्यस्तै एनपीएचएलले स्वाब संकलन गर्न प्रयोग हुने भीटीएम २ देखि ३ एमएलको माग गरेकामा सेनाले ल्याएको १५ हजारभन्दा बढी भीटीएम १ एमएलका छन् । सेनाले पीसीआर किट, रिएजेन्ट र भीटीएम २८ हजार ३ सय ८५ सेट ल्याएको छ । ५ लाख २५ हजार १ सय २२ अमेरिकी डलर (करिब ६ करोड ४० लाख ६४ हजार रुपैयाँ) मा खरिद गरिएका यी सामग्रीमा समस्या आएपछि प्रयोगशालाहरूले प्रयोग गर्न छाडेका छन् ।
पीसीआर किटको सम्पूर्ण सेट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुखलाई नै बोलाएर प्रमाणित गर्न भन्यौं । उहाँले पीसीआर परीक्षणमा प्रयोग हुने सामग्री भनेर प्रमाणित गरिदिनुभयो । त्यसपछि हामीले स्वीकार गरेका हौं । –विज्ञानदेव पाण्डे, सैनिक प्रवक्ता
सेनाले चीनको सानसियोर कम्पनीको स्वाब संकलन गर्ने भीटीएम (स्याम्पल स्टोरेज रिएजेन्ट), आरएनए निकाल्न प्रयोग गरिने रिएजेन्ट र पीसीआर किट खरिद गरेर सरकारलाई दिएको थियो । ‘स्वाब संकलन गर्न पनि यही कम्पनीका भीटीएम प्रयोग भएको भए हामीले ल्याबमा पनि सेनाले ल्याएकै रिलिज रिएजेन्ट प्रयोग गरेर नतिजा निकाल्न सकिन्थ्यो,’ कोरोना भाइरस परीक्षण गरिरहेको काठमाडौंको एक अस्पतालको प्रयोगशालाका प्राविधिकले भने, ‘स्वाब संकलन अर्कै कम्पनीको भीटीएममा भएपछि सेनाले ल्याएको रिलिज रिएजेन्ट हामीले प्रयोग गरेका छैनौं ।’ पीसीआर किट भने जुनसुकै कम्पनीको भीटीएममा पनि प्रयोग गर्न मिल्ने ती प्राविधिकको बताए ।
एनपीएचएलले सेनालाई लेखेको पत्रमा पीसीआर रिएजेन्ट किट कुनै पनि प्रकारको मेसिनमा प्रयोग गर्न मिल्ने, न्युक्लिक एसिड (आरएनए) एक्स्ट्रयाक्सन किट कुनै पनि प्रकारको भीटीएम प्रयोग गरेर संकलन गरिएको नमुनाबाट ‘म्यानुअली’ आरएनए निकाल्न मिल्ने खालको हुनुपर्ने उल्लेख थियो । भीटीएम भने २ देखि ३ एमएलको हुनुका साथै त्यसबाट सजिलै आरएनए निकाल्न मिल्ने हुनुपर्ने पत्रमा भनिएको थियो । तर, सेनाले विवरण उपलब्ध गराएपछि सिनोफार्मले बिक्री गरेको सानसियोर बायोटेक कम्पनीको पीसीआर रिएजेन्ट किट जुनसुकै मेसिनमा प्रयोग गर्न मिल्ने भए पनि न्युक्लिक एसिड एक्स्ट्रयाक्सन किट र भीटीएम भने सानसियोरकै प्रयोग गर्नुपर्ने बाध्यता छ । जसलाई चिकित्सकीय भाषामा ‘क्लोज्ड सिस्टम किट’ भन्ने गरिन्छ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे मागेको थियो त्यही नै आएको भए एकदमै राम्रो हुन्थ्यो । तर, यो महामारीको समयमा जे हात परेको छ त्यो पनि प्रयोग नै गर्न नमिल्ने वा नहुने भन्नेचाहिँ छैन,’ स्वास्थ्य मन्त्रालयका विज्ञ समूहमा समेत रहेका एक चिकित्सकले भने, ‘यसलाई प्रयोग गर्ने विधि र तरिका जान्ने हो भने अरूभन्दा छिटो नतिजा निकाल्न सकिन्छ । यस्तो विशेषज्ञता भएका जनशक्ति सबै प्रयोगशालामा छैनन् । त्यसैले समस्या परेको हो ।’
मैले ती किट उपयुक्त छन्/छैनन् भनेकी छैन । केबल पीसीआरमा काम लाग्छ भनेर हस्ताक्षर गरेकी छु । हामीले मागेजस्तो किट छैन । भीटीएम १ एमएलको छ । त्यसले खासै असर गर्दैन । सबै सामान कामै नलाग्ने होइनन् तर प्रयोग गर्दा पूरै सेट चाहिन्छ । –डा. रुणा झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाका अनुसार पनि सेनाले ल्याएर दिएको पीसीआर किट सबै मेसिनमा लाग्छ तर स्याम्पल रिलिज रिएजेन्ट र स्याम्पल स्टोरेज रिएजेन्ट भने सोही कम्पनीकै हुनु अनिवार्य छ । ‘यसअघि पनि हामीलाई यही कम्पनीको पीसीआर किट आएको थियो । जुन अहिले पनि प्रयोग गरिरहेका छौं । एक्स्ट्रयाक्सन किटले चाहिँ सनसियोरकै भीटीएममा स्वाब संकलन गरेको छ भने मात्रै आरएनए निकाल्छ,’ उनले भनिन् ।
चीन सरकारले अनुदान दिएको ३० हजार पीसीआर किटको सेट पनि सेनाले ल्याएकै सानसियोर कम्पनीकै भएको डा. झाले बताइन् । ‘भीटीएम, रिएजेन्ट र पीसीआर किटको सेट नै चलाउनुपर्ने भएकाले हामीले त्यो सामान प्रयोगमा ल्याउन सकेनौं,’ उनले भनिन्, ‘हामीले अनुदानको सामान पाएका बेला स्थानीय तह र प्रदेश आफैंले फरक कम्पनीको भीटीएम किनेर स्वाब संकलन गरेकाले अनुदानमा प्राप्त समान प्रयोगमा ल्याउन सकेनौं । सेनाले पनि उस्तै प्रकृतिको सामान ल्याएपछि समस्या देखिएको हो ।’
सेनाले ल्याएको किटमा के फरक छ ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग गरेको र सेनाले ल्याएको पीसीआर किटको भिन्नताबारे जान्न पहिला त सामान्यतया पीसीआर परीक्षण कसरी हुन्छ भनेर थाहा पाउनुपर्ने हुन्छ । पीसीआर परीक्षणका लागि सबैभन्दा पहिला शंकास्पद व्यक्तिको नाकबाट स्वाब (टुप्पोमा कपास भएको प्लास्टिकको सिन्का) लाई घाँटीसम्म पुर्याएर नमुना संकलन गरिन्छ । त्यसलाई भीटीएममा राखिन्छ । यसरी भीटीएममा राख्नुको कारण संकलित भाइरसको नमुना क्षय नहोस् भनेर हो । उक्त भीटीएममा केही रासायनिक तत्त्व राखिएको हुन्छ, जसले भाइरसको नमुनालाई जस्ताको त्यस्तै राख्छ । यसरी संकलन गरिएको भीटीएमलाई प्रयोगशालामा लगिन्छ र केही रासायनिक प्रक्रिया अपनाएर आरएनए एक्सट्रयाक्टरबाट आरएनए निकालिन्छ । निकालिएको आरएनएमा पीसीआर रिएजेन्ट मिक्सर राखेर पीसीआर मेसिनमा राखिन्छ । मेसिनमा राखिएको नमुना संख्यात्मक रूपमा वृद्धि हुँदै गएपछि त्यसमा कोरोना भाइरसको विभिन्न प्रकारका जीन छन् या छैनन् भनेर हेरिन्छ । त्यसको परिणाम ग्राफमा आउँछ । जसका आधारमा संक्रमण छ या छैन भनेर यकिन हुन्छ ।
मोलिक्युलर प्रयोगशालाका विज्ञ चिकित्सकका अनुसार सेनाले ल्याएको पीसीआर परीक्षण सेटको विवाद बुझ्न पहिला त भीटीएमबाट सुरु गर्नुपर्छ । ती विज्ञले कान्तिपुरलाई उपलब्ध गराएको पीसीआर सेटको नमुना हेर्दा सानसियोर बायोटेक कम्पनीको भीटीएम १ एमएलको मात्रै छ । नेपालमा नमुना संकलन गर्न प्राय: ३ एमएलको भीटीएम प्रयोग हुन्छ । त्यसमा पनि सेनाले ल्याएको भीटीएममा रहेको रसायन अन्य भीटीएममा हुनेभन्दा केही फरक छ । जसका कारण त्यसमा रहेको भाइरसको आरएनए निकाल्न सानसियोर कम्पनीकै ‘स्याम्पल रिलिज रिएजेन्ट’ प्रयोग गर्नुपर्ने हुन्छ । कम्पनीले उपलब्ध गराएको क्याटलगअनुसार नमुना संकलन गरिएको भीटीएमबाट परीक्षणका लागि नमुना लिई त्यसमा स्याम्पल रिलिज रिएजेन्ट राखेर लगभग २० मिनेट सेन्ट्रीफ्युज (घुमाउने) मेसिनमा राखेपछि उक्त ट्युबमाथि एउटा तह बन्छ, जुन आरएनए हो । त्यसलाई झिकी कुनै पनि पीसीआर रिएजेन्ट राखेर मिसाएपछि पीसीआर मेसिनमा हाले त्यसबाट निश्चित समयमा परिणाम प्राप्त हुन्छ । सबै सामग्री एउटै कम्पनीको प्रयोग गरे त्यसबाट आउने परिणाम मिश्रित सामग्री प्रयोग गर्दा आउने परिणामभन्दा निकै राम्रो मानिन्छ ।
‘तसर्थ सेनाले खरिद गरेर ल्याएको भीटीएम तथा स्याम्पल रिलिज रिएजेन्टसँगै प्रयोग गर्नुपर्छ,’ ती विज्ञले भने, ‘सँगै प्रयोग गर्ने मात्र होइन, त्यसबाट आरएनए निकाल्ने विधि पनि अन्य किटभन्दा केही फरक छ ।’ उनका अनुसार त्यही फरकपनका कारण नै अहिले सेनाले ल्याएको भीटीएम र एक्स्ट्रयाक्सन किटबारे सबैमा दुविधा भएको हो ।
वीर अस्पतालले भने आफैंले नमुना संकलन गर्दा मात्रै सेनाले ल्याएको पीसीआर सेट प्रयोग गर्ने गरेको स्रोतले जनाएको छ । ‘हामीले आफैं नमुना संकलन गरेर परीक्षण गर्नका लागि मात्रै सेनाले उपलब्ध गराएको किट प्रयोग गर्ने गरेका छौं । बाहिरबाट संकलन गरेर ल्याएको नमुना परीक्षण गर्न त्यसबाट सम्भव छैन,’ अस्पताल स्रोतले भन्यो, ‘सेनाले ल्याएको पीसीआर किट युरोपियन मापदण्ड प्रमाणित नै भनिए पनि त्यसले दिने परिणाम उल्लेखनीय भने छैन ।’
कान्तिपुरलाई प्राप्त विवरणअनुसार हाल नेपालमा सानसियोर बोयोटेक कम्पनीसहित विभिन्न देशमा उत्पादित ६ थरी ब्रान्डका पीसीआर रिएजेन्ट किट प्रयोग भइरहेका छन् । जसमा जीबी ताइवान, ई डाएग्नोस्टिक, वन्डफो, रोसे, हाइपियोर र सानसियोर रहेका छन् ।
स्पेसिफिकेसन नै नमिले पनि सेनाले किन लियो ?
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. झाले दिएकै पीसीआर परीक्षण सेटको विवरण चिनियाँ कम्पनीलाई उपलब्ध गराएर सामान माग गरिएको हो । ‘हामीले प्राप्त गरेको स्पेसिफिकेसन उता फरवार्ड गरिदियौं । सानसियोर बायोटेक कम्पनीको पीसीआर किटको सम्पूर्ण सेट आयो,’ उनले भने, ‘यो सेट प्राप्त भएपछि हामीले डा. झालाई नै बोलाएर प्रमाणित गर्न भन्यौं । उहाँले पीसीआर परीक्षणमा प्रयोग हुने सामग्री भनेर प्रमाणित गरिदिनुभयो । त्यसपछि मात्रै हामीले यसलाई स्वीकार गरेका हौं ।’ ती सामग्री ठीक नभएको भनेर जानकारी दिइएको भए ५ दिनभित्र फिर्ता गर्न सकिने अवस्था रहेको समेत प्रवक्ता पाण्डेले जनाए ।
सेनाले हवाईमार्ग हुँदै दोस्रो लटमा चीनबाट पीसीआर सेट ल्याएपछि गुणस्तर परीक्षण गर्न आफूलाई बोलाएको डा. झाले बताइन् । उनले सेनाको परीक्षण प्रतिवेदनमा उक्त सामग्री ‘पीसीआरमा प्रयोग गर्न मिल्ने भनेर’ मात्रै प्रमाणित गरिदिएको जानकारी दिइन् । ‘मैले ती किट उपयुक्त छन्/छैनन् भनेर लेखेकै छैन । केबल पीसीआरमा काम लाग्छ भनेर हस्ताक्षर गरेकी छु,’ उनले भनिन, ‘हामीले मागेजस्तो किटचाहिँ छैन । भीटीएम १ एमएलको छ । त्यसले खासै असर गर्दैन । किनभने स्वाब थोरै भए पनि पुग्छ । कल्चर गर्नुपर्ने होइन । यी सबै सामान कामै नलाग्ने होइनन् । तर, प्रयोग गर्दा पूरै सेट नै चाहिन्छ ।’
प्रवक्ता पाण्डेले सेनाले सामान ल्याइदिन समन्वय मात्र गरेको बताए । ‘हामीले स्पेसिफिकेसन बनाएको पनि होइन र आएका सामग्री प्रमाणित गरेको पनि होइन,’ उनले भने, ‘हामीलाई स्वास्थ्य मन्त्रालयले सीसीएमसीले तयार पारेको राष्ट्रिय आवश्यकताको सूची उपलब्ध गरायो । त्यही सूचीअनुसार सामान खरिद प्रक्रिया अगाडि बढायौं ।’ कुन सामग्री कस्तो हुनुपर्ने भन्ने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीले तय गरेको उनले दाबी गरे । पीसीआर किटको सेटबाहेक अन्य सामानको गुणस्तर परीक्षण भने मन्त्रालयका इन्सिडेन्ट कमान्ड सेन्टर (आईसीएस) का प्रमुख डा. गुणराज लोहनीको टोलीले प्रमाणित गरेको पाण्डेले बताए ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालाहरूलाई सम्पूर्ण सामग्री वितरण गर्ने गरेको थियो । हाल प्रयोगशालाको यो अधिकार कटौती गरेर आईसीएसलाई नै दिइएको छ । आईसीएसले एनपीएचएलसँग समन्वय नगरी काठमाडौं र बाहिरीका प्रयोगशालामा एक थरी भीटीएम र अर्को थरी एक्स्ट्रयाक्सन वितरण गरेपछि समस्या चुलिएको हो । कान्तिपुर दैनिकमा स्वरुप आचार्य, मकर श्रेष्ठ र जगदीश्वर पाण्डेले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...