संक्रमित बोक्ने एम्बुलेन्स चालकको व्यथा : कर्तव्य निभाउँदा दुःखी र खुशी हुने यी क्षण

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषाको मिथिला नगरपालिका–९ स्थायी घर भएका ४४ वर्षीय कपिलदेव ठाकुर विगत १५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी धनुषाका एम्बुलेन्स चालक हुन् । बिरामीलाई ओसारपसार गरेर अस्पतालसम्म पुर्‍याउने उनको मुख्य काम हो ।

१५ वर्षदेखि एम्बुलेन्स सञ्चालन गरेर उनले आफ्नो घरपरिवारको गुजारा गर्दै आएका छन् । पत्नी सुमित्रादेवी ठाकुर, छोरी शोभाकुमारी ठाकुर र छोरा रूपेश ठाकुर सहितको परिवारको सहारा बनेका कपिल एम्बुलेन्स चलाउँछन् । छोरी शोभा १२ कक्षा र छोरा रूपेश ११ कक्षामा पढ्दै छन् । 


Advertisement

कपिलको जीवन चैत्र ११ गतेअघि सामान्य नै थियो । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन भएपछि कपिलको जीवन असामान्य बनेको छ ।

बिहानदेखि रातिसम्म उनको दिनचर्या नै कोरोना संक्रमित बिरामीलाई क्वारेन्टीन र घरबाट अस्पतालको आइसोलेसन सेन्टरसम्म पुर्‍याउनमै बितिरहेको छ । आइसोलेसनमा उपचार गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सक, सुरक्षाकर्मीलाई कोरोना योद्धाको रुपमा समाजमा लिने गरिएको भए पनि एम्बुलेन्स चालकलाई त्यस्तो दर्जा दिने गरिएको छैन तर एम्बुलेन्स चालकको भूमिका कुनै चिकित्सक वा स्वास्थ्यकर्मीभन्दा कम छैन । 


Advertisement

नेपालमा लकडाउन हुनुअघि नै कोरोना संक्रमणको महामारी हुनसक्ने तथा त्यसका लागि रेडक्रसको भूमिका अग्रपंक्तिमा रहने भन्ने कुरा ठाकुरले पनि अनुमान गरेका थिए । रेडक्रस धनुषाका सभापति नरेश सिंहले बैठक गरेर त्यसका लागि एम्बुलेन्स चालक तयार भएर बस्नुपर्ने बैठकमा भनेका थिए । 

चैत्र ११ गते सरकारले लकडाउन घोषणा गरेको थियो । लगतै रेडक्रसको बैठक बसेर सभापति सिंहले एम्बुलेन्सका २ जना चालकलाई उत्प्रेरित गरेका थिए । ठाकुरसँगै अर्का १ जना ५० वर्षीय लक्ष्मीप्रसाद श्रेष्ठ पनि एम्बुलेन्स चालक हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ छिहत्तरबिघा घर भएका उनी पनि लामो समयदेखि रेडक्रसको एम्बुलेन्स चालक हुन् । श्रेष्ठले पनि एम्बुलेन्स चालकबाटै पत्नीसहित ४ जना छोराको घर खर्च जुटाउँदै आएका छन् । बैठकमा दुवै जना चालक महामारीको बेला जिम्मेवारी निभाउन तयार भए ।

महामारीको पूर्व तयारी तथा सुरक्षाका लागि एम्बुलेन्समा छुट्टै क्याबिन समेत बनाइयो । ‘विभिन्न ग्यारेजमा गयौं, वर्कशपमा गयौं तर कहीँ पनि क्याबिन बनाउने कामदार पाएनौं,’ चालक ठाकुरले सम्झिए, ‘त्यसपछि हामी आफैंले सबै सामग्री किनेर आफैंले हथौडा छेनी लिएर ३ तहको क्याबिन बनाएका थियौं ।’

केही दिनपछि धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा कोरोना संक्रमणको पहिलो बिरामी फेला परे पछि रेडक्रसका सभापति सिंहले बिरामी ल्याउन भने तर दुवै जना चालकमध्ये कोही पनि तयार भइरहेका थिएनन् । ‘हामी धेरै नै डराएका थियौं, विदेशमा कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत कोरोना फैलिएर मृत्युसम्म भएको समाचार सुनेका थियौं,’ चालक ठाकुरले भने, ‘त्यसैले हामी दुवै जना चालक धेरै नै हच्किएका थियौं, जान मानेनौं ।’ 

‘तपाईहरू नजाने भए म आफैं जान्छु र बिरामी लिएर आउँछु’ भन्दै रेडक्रसका सभापति सिंहले एम्बुलेन्सको साँचो मागे । ‘त्यसपछि मात्रै हामी जान्छौं भनेर तयार भएका थियौं,’ चालक ठाकुरले भने, ‘त्यो दिन धेरै डर भएको थियो, रातभर चिन्ताले निद्रा पनि भएन ।’

शुरू–शुरूमा दुवै जना चालकका घरपरिवारका सदस्यले सबै जना लकडाउनमा आफ्नो काम छाडेर घरमा बसेका छन्, बिदा लिएर घर आउन दबाब दिए । ‘बरु जागिर नै छोड्नु परे छाडेर आउन घरपरिवारबाट दबाब आएको थियो,’ एम्बुलेन्स चालक श्रेष्ठले भने, ‘तर हाम्रो काम नै सेवा दिने हो, यस्तो अवस्थामा हामीले आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने भनेर सम्झाएका थियौं ।’

एम्बुलेन्स चालकले कोरोना संक्रमितलाई सेवा दिइरहेका बेला पर्सनल प्रोटेक्सन ईक्विपमेन्ट (पीपीई) सेट, गम बूट, सर्जिकल मास्क, एन ९५ मास्क, हेयर क्याप, ग्लोभ्स सहितका सामग्री लगाएर स्यानीटाइजर  बोकेर सुरक्षित साथ जाने गरेकाले कुनै खतरा नरहेको भनेर घरपरिवारलाई सम्झाएको उनी बताउँछन् ।

१४ घण्टासम्म पीपीई लगाएर काम

दुवै जना चालक १ पटक बिहान ९ बजे खाना खाएर पीपीई लगाइसकेपछि ड्युटीमा रहँदा रातिसम्म खोल्न पाउँदैनन् । कुनै–कुनै दिन रातको २ बजेसम्म पनि लगाउनुपर्छ । शुरू–शुरूमा समस्या नभए पनि हाल अत्यधिक गर्मी भएका कारण धेरै नै गाह्रो हुने गरेको चालक श्रेष्ठले बताए ।

‘दिसापिसाब समेत रोकेर बस्नुपर्ने, बीचको समयमा खाजा, पानी केही पनि खान नपाउने भएका कारण अत्यन्त कष्ट हुने गरेको हुन्छ,’ चालक श्रेष्ठले भने, ‘तर गर्ने के ? पीपीई सेट कम तथा महंगो समेत भएको कारण अन्य कुनै विकल्प पनि छैन ।’ यसबीच श्रेष्ठ बिरामी पनि परे । खाना नै नखाने गरेका कारण उनी बिरामी परेका थिए । उनको दिसा नै रोकिएको थियो । पछि उपचार गराएर निको भएको उनी बताउँछन् ।

बिरामी ल्याउन जाँदा कतै सम्मान त कतै गाली

बिरामी ल्याउन क्वारेन्टीन तथा घर जाँदा त्यति सहज हुँदैन । जाने बित्तिकै खुरुखुरु बिरामी एम्बुलेन्समा चढ्न तयार हुँदैनन् । ‘कोही कोहीले यमराज आयो भनेर गाली गर्छन् भने कोही कोहीले धन्यवाद पनि दिने गर्छन्,’ चालक ठाकुरले भने । क्वारेन्टीनमा पुग्दा २ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । एम्बुलेन्स पुगेपछि क्वारेन्टीनका संयोजक र सुरक्षाकर्मीलाई संक्रमित बिरामीलाई लिन आएको बताउनुपर्छ । त्यसपछि माइकबाट संक्रमित भएका व्यक्तिहरूलाई तयार भएर आफ्नो सामानसहित प्याक गरेर जान भनिन्छ । ‘खाना खाने समय वा खाजा खाने समय जे हुन्छ, त्यस समय अनुसार खाने कुरा खान्छन्,’ ठाकुरले भने, ‘त्यसपछि एम्बुलेन्समा आउँछन् ।’

कोरोना संक्रमित बिरामी आउँदा १ मिटर परबाट नै मास्क लगाउन, बिरामीलाई आफूले लगेको स्प्रे सहितको स्यानिटाइजरबाट स्यानिटाइज गर्न र ढोका खोलेर पस्न भन्नुपर्ने ठाकुरले बताए । ‘कसैलाई एम्बुलेन्सको ढोका समेत खोल्न नआउँदा आफूले नै ढोका खोलेर भित्र जान सहज पारिदिने गरेका हुन्छौं,’ उनले भने, ‘बाटोमा उनीहरूलाई फलानो अस्पतालमा लगिरहेको बताउने गरेका हुन्छौं ।’

‘एक पटक सबैला नगरपालिकाको क्वारेन्टीनमा बिरामीले लिखित कागज नै गर्नुपर्ने अडान राखे । अस्पताल लगे पछि भोलि उपचारको क्रममा मृत्यु भयो भने त्यसको जिम्मेवारी लिने मानिस एम्बुलेन्स चालकले नै हुने कागज गरे पछि मात्र जाने भनेर अडानका कारण आउन तयार नै भएनन्,’ ठाकुरले सम्झिए, ‘पछि धेरै सम्झाउँदा मात्र अस्पताल जान तयार भए ।’

कोरोना संक्रमण पुष्टिपछि एम्बुलेन्समा बसेका अस्पतालतिर गइरहँदा अधिकांश व्यक्ति डराउने गरेको एम्बुलेन्स चालकको भोगाइ छ । ‘अब मर्ने नै होला भनेर रुँदै आफ्नो घरपरिवारका व्यक्तिलाई फोन गरिरहेका हुन्छन् । त्यस्तो बेला बिरामीलाई सम्झाउने–बुझाउने गरेका छौं । धेरै मानिसहरू अस्पतालमा उपचारपश्चात निको भएर घर फर्किएको, केही पनि हुँदैन, उपचारकै लागि अस्पताल लग्ने गरेको भनेर भन्छौं,’ उनले भने, ‘कतिपय बेला त बिरामी आउन नै मानिरहेका हुँदैनन् । क्वारेन्टीनबाट ल्याउन त्यति गाह्रो हुँदैन तर घरमा संक्रमित फेला परेको व्यक्तिलाई अस्पताल ल्याउन धेरै समस्या हुने गरेको छ । प्रहरी, स्थानीय जनप्रतिनिधिले समेत जतिभन्दा पनि आउन तयार हुँदैनन् । त्यस्तो बेला घरमा ४ घण्टा पनि कुर्नुपर्ने हुन्छ ।’

पानी किन्न जाँदा पसले भागे

एम्बुलेन्स चालक ठाकुर १ दिन कोरोना संक्रमित बिरामीलाई पुर्‍याउन जलेश्वरस्थित अस्पताल गएका थिए । बिरामीलाई झारेर फर्किने बेलामा उनलाई निकै प्यास लाग्यो । जलेश्वरमा नै एउटा पसलमा उनी पानीको बोतल किन्न गए ।

‘पैसा निकालेर पानीको बोतल दिनुस् भन्दा पसले घरभित्र भागे,’ उनले भने, ‘एम्बुलेन्सबाट झरेको तथा पीपीई पोशाकमा भएका कारण उनी डराएर घरभित्रै लुके ।’ १५ मिनेट जति प्रतीक्षा गर्दा पनि पसले नआए पछि उनी पानी विना नै एम्बुलेन्समा गए ।

‘एम्बुलेन्समा हामी पानीको बोतल आफैं बोकेर लग्छौं तर त्यो दिन पानी नभएका कारण किन्न गएको थिएँ,’ उनले भने, ‘त्यसपछि मानवताको नाममा हामीहरू आफ्नो ज्यानको समेत पर्वाह नगरेर दिनरात काम गरेका छौं, अर्कोतर्फ मानिसहरूले यतिसम्म घृणा गरेको अनुभूति हुँदा धेरै दुःख लागेको थियो ।’

कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स चालकलाई धेरै ठाउँबाट धेरै फोन आउँछ । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्थानीय पालिकाका प्रमुख, क्वारेन्टीन संयोजकदेखि विभिन्न व्यक्तिको एकसाथ फोन आइरहेको हुन्छ । ‘एकैदिन विभिन्न स्थानबाट ३० देखि ४० जनासम्म बिरामीलाई अस्पताल पुर्‍याउँदा रातको १२ त बज्छ बज्छ, कुनै–कुनै दिन २ समेत बज्छ,’ चालक श्रेष्ठले भने, ‘रेडक्रसमा एम्बुलेन्स पार्क गर्नुअघि एम्बुलेन्सलाई स्यानिटाइज गर्नुका साथै सफा समेत गर्नुपर्ने हुन्छ ।’ 

एम्बुलेन्स चालकको दुःख तब हराउँछ, जब उपचारपश्चात डिस्चार्ज भएका बिरामीले ‘गुरुजी म त ठीक भएर घर फर्के’ भन्दै धन्यवाद दिन्छन् । ‘संक्रमित निको भएको खबर सुने पछि सबै दुःख बिर्सिन्छौं र फेरि पनि भोलिका लागि तयार हुने गर्छौं,’ श्रेष्ठले भने ।

प्रादेशिक अस्पताल जनकपुरसहित विभिन्न निकायका कूल १२ वटा सरकारी एम्बुलेन्स रहेका भए पनि कोरोन पोजेटिभ संक्रमितलाई रेडक्रसको एम्बुलेन्सले मात्र ओसार्ने काम गर्दै आएका छन् । निजी क्षेत्रमा ५ दर्जनभन्दा बढी एम्बुलेन्स रहेको भए पनि कसैले पनि कोरोना संक्रमितलाई ओसारपसार गर्ने गरेका छैनन् ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्