प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन

गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ।

बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो।


Advertisement

सदस्यमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल (जीवन), आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य रहेका छन्। समितिले विधायन समितिमा रहने एक जनालाई सदस्यमा मनोनीत गर्ने जनाइएको छ । प्रस्तावको सदस्य ओमकला गौतमले समर्थन गरेका थिए। 

बैठकमा प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सामाजिक न्यायसहितको तीव्र र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रदेशका विकास योजना तथा भाषा, संस्कृतिलगायत सामाजिक क्षेत्रको विकास कार्यलाई शीघ्र र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले विधेयक प्रस्तुत गरिएको बताए। 


Advertisement

मंगलबारको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरे।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्