बलिउडका निर्माता निर्देशक करण जोहरलाई अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि लगातार ज्यान मार्ने धम्की आइरहेको उनका साथीहरूले बताएका छन् ।
सुशान्तको मृत्युपछि बलिउडमा भित्रिया र बाहिरिया अनि नातावादको विवाद चलिरहेको छ ।
अभिनेताहरूका सन्तानका साथै करण जोहरलाई पनि सुशान्तका प्रशंसकहरूले सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । बलिउडमा नातावादका कारण सुशान्तले राम्रो फिल्म खेल्न नपाएको र आत्महत्या गर्न बाध्य भएको उनीहरूको आरोप छ ।
नातावादलाई प्रश्रय दिने व्यक्ति भन्दै करणलाई कठोर आलोचना गरिएपछि उनको स्वास्थ्यमा समेत समस्या आउन थालेको छ ।
उनले यस विषयमा कुनै टिप्पणी नगरेको भए पनि उनका एक निकटवर्ती साथीले उनको अवस्थाका बारेमा कुरा गरेका छन् । कठोर आलोचनाको सामना गर्नुपरेकाले उनको अवस्था त्यति राम्रो नरहेको साथीको भनाइ छ ।
‘करणलाई वर्षौंसम्म गिल्ला गरिएकाले उनको छाला गैंडाको जस्तो भएको लागेको थियो । तर अहिलेको आलोचनालाई उनले पचाउन गाह्रो परिरहेको छ । आफू नजिकका मानिसमाथि भइरहेको आक्रमणले उनलाई दोषी भएको अनुभव गराइरहेको छ । उनी लगातार रोइरहोका छन्, आँखा ओभानो छैन । उनका जुम्ल्याहा सन्तानलाई समेत मार्ने धम्की आइरहेको छ । सुशान्तसँग कुनै साइनो नभएकी अनन्या पाण्डेलाई सामाजिक सञ्जालमा घृणा गरिँदैछ,’ साथीले भने ।
एजेन्सी