उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै मानिस बेपत्ता भएकामा उनीहरुको अवस्थाका बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
बाढीपहिरोका कारण विस्थापितका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्योपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड–१९० को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
उनले विगत केही दिनयता देशका विभिन्न भागमा बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
लोकान्तर संवाददाता