बूढानीलकण्ठको बजेट एक अर्ब ६८ करोड, डुबान अध्ययन गरिने

बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ।

नगरसभाले आव ०७७/७८ लाई लक्ष्य गरी ८४  महत्वपूर्ण निर्णयसमेत गरेको छ। 


Advertisement

बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति आठ करोड विनियोजन गरिएको नगरपालिकाका  प्रवक्ता तथा १० नं वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ। विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो। 


Advertisement

चालु आवमा नगरपालिकाले विभिन्न वडामा तीन  सार्वजनिक शौचालय तथा प्रत्येक वडामा दुई उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णयसमेत गरेको छ। यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ । 

 नगरपालिकाले कोभिड-१९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी आव २०७७÷०७८ को पहिलो चौमासिकसम्म सोही आर्थिक वर्षको सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ। साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ। नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्