गरे के हुँदैन ? तराईको ४८ डिग्री तापक्रममा स्याउ फलाउँदै यी उद्यमी

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

स्याउ चिसो हावापानी भएको स्थानमा फल्ने फलफूल हो । विशेषगरी नेपालको जुम्ला, हुम्ला, मुस्ताङ लगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ खेती गरिएको छ ।

तर अहिले आएर तराईका गर्मी हुने जिल्लामा पनि स्याउखेती शुरू गर्न थालिएको छ । किसानहरूले परीक्षण गरी खेती गर्न थालेपछि तराईको अचाक्ली गर्मीमा (४८ डिग्री तापक्रम) समेत स्याउ फल्न थालेको छ ।


Advertisement

रुपन्देहीका २ किसान भैरहवाका आशा गुरुङ र तिलोत्तमाका रमेश पाण्डेले गर्मी हावापानीमा पनि स्याउ उत्पादन गर्न सकिने सम्भावनालाई सफल बनाएका छन् तर केहीले तराईमा स्याउ फल्छ भन्दा आश्चर्य मान्ने गर्छन् ।

रुपन्देहीका किसानले तराईमा नै स्याउ फलाएर गरे के हुँदैन भन्ने स्पष्ट सन्देश दिएका छन् । सिद्धार्थनगर–११ भुजौलीमा लुम्बिनी अग्र्यानिक फर्म एण्ड रिसर्च सेन्टर स्थापनमा गरी व्यासायिक स्याउ खेती गरिएको छ ।


Advertisement

बेलायतबाट फर्किएर गुरुङले अस्ट्रेलियन नानो जातका ६ विरुवा लगाएर ४८ डिग्री तापक्रम हुने भैरहवामा व्यावसायिक स्याउ खेती शुरू गरे । नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज र भैरहवा हो । उनले पक्लिहवा माविको वर्षाैंदेखि बाँझो रहेको जग्गामा स्याउसँगै अन्य व्यावसायिक खेती शुरू गरेका छन् ।

आशाको स्याउ खेती यात्रा 

आशाका ३ पुस्ता बेलायतमै बस्छन् । हजुरबुवा र बुवा बेलायत आर्मीमा भर्ती भएका थिए । उनी पनि भर्ती हुने आशामा थिए तर दाँतमा देखिएको सामान्य कमजोरीले उनी भर्ती हुनबाट वञ्चित भए । त्यसपछि उनको बाटो मोडियो । गुरुङ २०४९ सालमा रोजगारको सिलसिलामा जर्मनी गए ।

त्यहाँ उनले कृषि फर्ममा काम गर्ने अवसर जुट्यो । ४९ वर्षीय आशाले त्यहाँ ३ वर्ष स्याउ फर्ममा काम गरे । ३६ महिना स्याउको क्षेत्रमा काम गर्दा ठूलो लगाव बस्यो । त्यसपछि नेपालमै कृषि क्षेत्रमै काम  गर्ने सोचका साथ उनी नेपाल फर्किए तर वातावरण सहज भएन ।

उनले आफ्नो रेस्टुरेन्ट सञ्चालन गरे । त्यो ५ वर्ष चल्यो । त्यसपछि उनले झण्डै ७ वर्ष नर्सरी व्यवसाय थाले । त्यसपछि उनले रियल स्टेटतिर हात हाले । गुरुङ भन्छन्, ‘ढिलै भए पनि जर्मनी बस्दा देखेको सपना अहिले पूरा गर्दैछु । भारतको कोलकत्ताबाट विरुवा ल्याएर स्याउ लगाएको हुँ ।’ 

२ वर्षअघि उनले प्रतिगोटा १ हजार ७०० रुपैयाँका दरले विरुवा खरिद गरेर लगाए । कृषि प्राविधिकले तराईमा स्याउ फल्दैन भनेर उनको हौसलालाई निराश बनाए पनि स्याउ फलाएपछि उनी हौसिएका छन् ।

‘मेरो फर्मको स्याउ अस्टे«लियन प्रजातिको नानो स्याउ हो । कलमी गरेर रोपेका कारण जोखिम मोलेरै स्याउ खेती शुरू गरेको हुँ तर आज फलेर प्रमाणित भएको छ,’ उनले भने । आशाले नानो स्याउ ५५० बिरुवा लगाएका छन् । त्यसमध्ये यस वर्षबाट फल लाग्न शुरू भएको छ । 

पहिलो पटक नर्सरीमा ८ वटा स्याउ फलेको उनले बताए । ‘स्याउको स्वाद हाम्रो बजारमा आउने मुस्ताङ मार्फाको भन्दा कम छैन,’ उनले भने । अर्को वर्ष ५ हजार स्याउका विरुवा बिक्री गर्ने उनको योजना छ ।

नेपालमै पहिलो पटक गर्मी ठाउँमा स्याउ खेती

आशाले गरेको स्याउ खेती सम्भवतः तराईको गर्मीमा पहिलो पटक हो । उनी भन्छन्, ‘मैले धेरै ठाउँमा सोधखोज गरे । तराईका क्षेत्रमा मैले जस्तो गरी व्यावसायिक स्याउ खेती गरेको पाएको छैन । भारतका केही ठाउँमा भने गर्मी ठाउँमा पनि स्याउ खेती थालिएको छ ।’

५​ करोड लगानी पुर्‍याउँदै 

फर्ममा ५ करोड रुपैयाँ लगानी पुर्‍याउने गुरुङको योजना छ । हालसम्म ३ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । उनले स्याउसँगै तरकारी खेती पनि गरेका छन् । 

फर्ममा एप्पल बयर, वाटर, एबोकार्डो, सलिफा, सिडलेस लिची, थाई कागती, नासपाती, अमला, पहाडी उखु, गोल्डेन लेमन, ब्लुबेरी, मलबेरी, नागपुरे सुन्तला, बाह्रै महिना फल्ने बंगलादेशी जातको कटहर, अनारलगायत २८ जातका फलफूलका ५ हजार विरुवा रहेका छन् । आशा भन्छन्, ‘मेरो फर्मबाट अग्र्यानिक तरकारी उत्पादन हुन्छ । अग्र्यानिक तरकारी महंगो भनेर ग्राहकहरूले कम खरिद गरेका छन् । फलफूलका विरुवाबाट अब आउने वर्ष मात्र फल दिने भएकाले आउने वर्षबाट भने कारोबारमा वृद्धि हुनेछ ।’

पुष्प व्यवसायी पाण्डेले पनि फलाए स्याउ

रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामका पाण्डेलाई धेरैले पुष्प व्यवसायी भनेर चिन्छन् । २०५७ सालदेखि पुष्प व्यवसायमा पाण्डेले अहिले आएर नर्सरीमा लटरम्म स्याउ फलाएका छन् । झण्डै ४ वर्षअघि पाण्डेले आफ्नै लुम्बिनी नर्सरीमा स्याउको विरुवा लगाएर स्याउको परीक्षण गरेका थिए ।

विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । दोस्रो वर्षमा १०० वटा स्याउ फलेकोमा त्यसपछि विभिन्न ठाउँमा गरी ५० भन्दा बढी स्याउका विरुवा रोपिएका छन् ।

यस वर्ष एउटै बोटमा ३०० देखि ४०० सम्म स्याउ फलाएर उनले आफ्नो उत्पादन छिमेकीसहित सबैलाई चखाए । विरुवा लगाएको ३ वर्षमा लटरम्म स्याउ फलेपछि तराईमा पनि स्याउ फलाउन सकिने सफल परीक्षण भएको नर्सरी सञ्चालक समेत रहेका पाण्डेले बताए ।

‘भारतबाट विरुवा लिएर मिलिङ्ग भन्ने जंगली स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट स्याउको बोट तयार गरेका थिए । ८०० देखि २ हजार मिटर उचाइसम्ममा यो लो चिलिङ्ग जातको स्याउ व्यावसायिक रुपमा नै उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘यो जातको स्याउ भने हिमाली क्षेत्रमा फल्न सक्दैन । चिसो नभएको स्थानमा फल्ने भएकाले तराई र मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक उत्पादन गर्न सकिने पुष्टि भएको छ ।’

स्याउका विरुवाहरू निकाल्न समेत सफल भइसकेको बताउँदै उनले परीक्षणको रुपमा ५० वटा विरुवा तयार गरी विभिन्न जिल्लाका कृषकलाई दिइएको बताए । गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी लगाएका जिल्लामा लगेका विरुवामा पनि स्याउ राम्रो फलेको उनले बताए । उनले शुरूआतमा ५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरेर थिए ।

हिमालमा स्याउ तयार नहुँदै तराई र पहाडमा यो जातको स्याउ उत्पादन गर्न सके बजार समेत राम्रो हुने उनको भनाइ छ । तराईको स्याउ मंसिर र पुसमा लगाउन उपयुक्त मानिन्छ । स्याउको परीक्षणकाल भएकाले स्याउको विरुवामा कुनै पनि प्रकारको भिटामिन, किटनाशक औषधि नराखेको उनले बताए । तराईको स्याउ ठूलो र गुलियो समेत छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्