मुहार फेर्दै कर्णालीको दीपेश्वर धाम

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णाली प्रदेशको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकास्थित भेरी कर्णालीको संगमस्थल दोभान तीर्थ पर्यटनका रुपमा फड्को मार्दैछ ।

हिन्दूको आस्थाको केन्द्रविन्दु रहेको भारतको गया र वनारस लगायत तीर्थस्थलका नदीमा डुबुल्की मार्दै पितृ आत्माको शान्तिको कामना गर्ने नेपाली धेरै देखिन्छन् तर काशी, गया र वनारस जाने पवित्र जल कर्णालीका पहाडमा कलकल बगिरहेको छ ।


Advertisement

धार्मिक आस्थाको केन्द्र कर्णालीको दोभानमा पितृमोक्षका लागि धार्मिक महोत्सव समेत भएको छ । स्थानीय वासिन्दाले पितृमोक्षका लागि आ–आफ्नो तर्फबाट दान गरी जल अर्पण र डुबल्की मार्दै मृतात्माको शान्तिको कामना गर्ने स्थानको रुपमा दोभान दिन प्रतिदिन परिचित बन्दै गएको छ ।

आध्यामिक तथा धार्मिक क्षेत्रमा शिवालय मन्दिरको समेत स्थापना भइसकेको छ । धार्मिक मान्यता अनुसार दोभानमा गई डुबुल्की मार्दा सबै पाप नष्ट हुने परम्परागत सोचाइ अनुरुप स्थानीय वासिन्दा प्रत्येक पूर्णिमा, औंशी, माघे संक्रान्तिमा दोभानमा गएर डुबुल्की मार्ने गरेका छन् । हरेक वर्षको शिवरात्री, नयाँ वर्ष अर्थात् वैशाख १ गते र माघ १ गते ठूलो मेला लाग्ने गर्छ । मेलामा दैलेख, कैलाली, सुर्खेत, बर्दियाबाट हजारौं भक्तजन मेला भर्न आउने गर्छन् ।


Advertisement

दायाँबाट भेरी र बायाँतर्फबाट कर्णाली नदी बगिरहेका छन् । ती नदीको सुसेलीसँगै धार्मिक पर्यटकीय क्षेत्र परिवर्तन हुँदैछ, भौतिक संरचनाहरू निर्माण हुने क्रममा छन् ।

वीरेन्द्रनगरबाट झण्डै ६० किलोमिटर पश्चिममा चौकुने गाउँपालिका पर्छ । चौकुने गाउँपालिका–५ मा भेरी र कर्णाली नदीको दोभान छ । दोभानमा वडा कार्यालयले ९ हेक्टर जमिन संरक्षण गरिरहेको छ । यसलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना वडा कार्यालयको छ ।

सुर्खेत र कैलालीको सिमानामा पर्ने दोभान क्षेत्रमा २०२८ सालमा मन्दिर निर्माण गरिएको हो । ‘ठूलो हावाहुरी आउँथ्यो । धनजनको ठूलो क्षति हुने गरेको थियो । बालीनालीको सत्यानाश हुने, गाउँमा कलह भइरहने हुन्थ्यो,’ वडाध्यक्ष नवराज जैशीले भने, ‘त्यो समस्या समाधानका लागि यहाँ मन्दिर स्थापना गर्न भनियो । त्यहीँ आधारमा दीपेश्वर धाम शिव मन्दिर निर्माण भयो । मन्दिर निर्माण भइसकेपछि यहाँ शान्ति छायो । गाउँमा हावाहुरीले गर्ने क्षति कम भयो । हल्लाको स्थानमा सल्लाहले स्थान पायो ।’

उनका अनुसार २०३१ सालपछि दीपेश्वर धाम मेला लाग्न थालेको हो । ‘काशी जानुभन्दा यहीँ आएको खण्डमा पुण्य मिल्ने गरेको छ । विवाह गर्न, श्राद्ध गर्न, पूजाआजा गर्न र वर माग्न हजारौं नागरिक यहाँ आउने गरेका छन्,’ उनी भन्छन, ‘१५ वर्षसम्म पनि सन्तान सुख नपाएका दम्पतीले यहाँ दर्शन गरेपछि पुत्र प्राप्त गरेका छन् । यहाँ प्राथना गर्न आउनेहरूको मनोकांक्षा पूरा हुने विश्वास छ ।’

दीपेश्वर धाममा रहेको होमकुण्डमा आगो बलिरहन्छ, निभ्न दिनु हुँदैन भन्ने प्रचलन छ । २०३१ सालदेखि नै निरन्तर रुपमा होमकुण्डमा आगो बालिँदै आएको छ ।

भौतिक संरचना निर्माणमा तीव्रता

दीपेश्वर धाममा ६ कोठाको धर्मशाला निर्माण भइसकेको छ । त्यहाँ आउने भक्तजनलाई बस्न समस्या हुने भन्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बजेट विनियोजन गरेको थियो । मन्दिर निर्माण भइरहेको छ । लकडाउनका कारण निर्माण सामग्री ल्याउन नसक्दा मन्दिर निर्माणमा केही ढिलाइ भए पनि अन्य संरचना निर्माणमा तीव्रता दिइएको छ ।

गाउँपालिकाको सहयोगमा प्रतिक्षालय निर्माण सम्पन्न भइसकेको छ भने सडक मन्दिरसम्म पुर्‍याइएको छ । भेरी नदीमाथि बन्न लागेको पुल निर्माण भए गाडी मन्दिर परिसरमै पुर्‍याउन सकिन्छ । प्रदेश सरकारको १ करोड रुपैयाँभन्दा बढी बजेट लगानी भइसकेको छ भने गाउँपालिकाले खानेपानीका लागि धारा जडान गरेको छ ।

मन्दिरको वरिपरि घेरबार गरिएको छ । प्रदेश सरकारले १ करोड २० लाख तथा गाउँपालिकाले ७ लाख रुपैयाँ खर्च गरेका छन् ।

आकर्षक योजना

धामलाई थप व्यवस्थित बनाउन पालिका कस्सिएर लागेको छ । धामलाई आर्थिक र धार्मिक गन्तव्य बनाउन भन्दै र्‍याफ्टिङ गर्ने योजना ल्याएको छ । कर्णालीमा बेनि नदी मिसिएको स्थानदेखि दोभानसम्म र्‍याफ्टिङ चलाउने योजना बनाइएको छ । योजना बनाइएको क्षेत्र नदीको ५० किलोमिटर भन्दा लामो रहेको वडाध्यक्ष जैसीले बताए । र्‍याफ्टिङका लागि राजी समुदायका युवालाई तालिम दिइँदै आएको छ ।

दोभान क्षेत्रलाई पिकनिक क्षेत्र बनाउन प्रयास जारी छ । भेरी र कर्णाली नदीमाथि ३ खम्बे पुल निर्माण गर्ने योजना बनाइएको छ भने बजेटको खोजीमा पालिका रहेको अध्यक्ष धिरबहादुर शाहीले बताए । ‘हामीले दोभान क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनमार्फत् चौकुनेलाई समृद्ध बनाउन सक्ने अपेक्षासहित योजना बनाइरहेका छौं । विगतभन्दा अहिले धेरै भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । अन्य संरचना निर्माण हुँदैछन्,’ उनी भन्छन्, ‘यो क्षेत्रको प्रचारप्रसार गर्न पालिका लागेको छ । यसमा सबैको साथ र सहयोग पाएमा चौकुनेलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।’

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्